नेशनल लाईफद्धारा बाढी पीडितलाई विभिन्न खाद्यान्न सहयोग
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तराईका बाढी पीडितलाई विभिन्न खाद्यान्न सहयोग गरेको छ । कम्पनीले हालै तराईमा आएको महा विनाशकारी बाढिद्वारा रौटहत जिल्लाका विभिन्न गाविसहरु डुवानमा परी घरबार विहिन भएका ३०० जनालाई चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको छ । कम्पनीको गौर शाखा मार्फत उक्त राहत सामाग्री पीडितहरुको घर आगनमै पुगी वितरण गरिएको थियो । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको हो ।
आर बी कम्पलेक्स व्यवसायीले बाढीपीडितलाई ६ लाख राहत दिने
काठमाडौं । आर बी कम्प्लेक्स व्यवसायी संघले नेपाल चेम्बर अफ कमर्सको डिजास्टर म्यानेजमेन्ट सेललाई बाढीपहिरो पीडितलाई वितरण गर्न एक लाख ११ हजार र पाँच लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान हस्तान्तरण गरेको छ । आर बी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालको उपस्थितिमा संघका उपाध्यक्ष सुसान्त घिमिरेले सेलका संयोजक एवं चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल नगद जिन्सी (लत्ताकपडा, जुता लगायतका) सामान दिएको हो । यस अवसरमा संघका महासचिव सन्दीपकुमार अग्रवाल, सचिव थानेश्वर ज्ञवाली, चेम्वर कार्यसमिति सदस्य टिकाराम शर्मालगायतको उपस्थिति रहेको थियो ।
राजधानीमा बाढी सम्बन्धी बहस, डुबान प्रभावित ठाउँमा तटबन्ध बनाउनुपर्ने
काठमाडौं । नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । आज यहाँ बाँध सरोकार राष्ट्रिय मञ्चद्वारा आयोजित ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभावसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु पर्ने बताए । उनले भारत पक्षले बनाएको बाँधका कारण वर्षेनी दुवै देशका जनता डुबानमा पर्ने गरेको भन्दै दुई देशबीच संयन्त्र बनाई डुबान प्रभावित क्षेत्रका जनतालाई बचाउन तटबन्ध निर्माण गर्नुपर्ने बताए । ‘वर्षेनी राहत सामग्री बाँड्नुको सट्टा दीर्घकालीन समाधानको बाटो अपनाउनु पर्छ’, उनले भने, ‘डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउन सके दुवैतर्फका सीमा क्षेत्रका जनताको सुरक्षा हुने थियो ।’ उनले डुबानबाट नेपालका क्षेत्र बढी प्रभावित भएकाले नेपालले नै पहलकदमी लिनुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा सांसद वैजनाथ चौधरीले भारत पक्षले बनाएको बाँधका कारण नेपाली वर्षेनी डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्ने बताए । उहाँले गण्डक बाँधका कारण तीन पुस्ता डुबानमा परेको भन्दै भारत सरकारले डुबानमा परेका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने धारणा राखे। सांसद चौधरीले बाढी र चुरे पहाड दोहनका कारण तराई मरुभूमिमा बन्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले भारतीय पक्षले एकतर्फी बनाएको बाँधका कारण तराई क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषिमा असर परेको बताए। कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत पक्ष मिलेर संयन्त्र बनाएर डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्ने बताए। कार्यक्रममा प्राध्यापक रतन भण्डारीले ‘सीमावर्ती बाँधले स्थानीय जनताको जीविकोपार्जनमा पारेको असर’ बारे कार्यपत्र प्रस्तुत गर्दै भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएका बाँधका कारण हजाराैं नेपाली डुबानमा पर्ने गरेको भन्दै डुबानबाट रोक्नका लागि तटबन्ध बनाउनुपर्नेमा जोड दिए। रासस