पिछडिएका वर्गको उत्थानका लागि नवीकरणीय ऊर्जाको उपयोगमा जोड

काठमाडौं । महिला तथा पिछडिएका वर्गलगायत विपन्न समुदायलाई नवीकरणीय ऊर्जाका प्रविधिमा पहुँच पुर्याउन नसकेसम्म सबैका लागि ऊर्जा तथा दिगो विकास लक्ष्य हासिल गर्न नसकिने यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागी वक्ताले बताए । नेपाल नवीकरणीय ऊर्जा परिसंघले आयोजना गरेको कार्यक्रममा महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोगमा जोड दिनुपर्ने उनीहरुको भनाइ थियो । नवीकरणीय ऊर्जा प्रविधिलाई बत्ती बाल्नेबाहेक परिप्रयोग बढाइ आयमूलक कामकाजमा पनि उपयोग गर्न अनुदान, वित्तीय सुविधा र व्यस्थापन, सीप हस्तान्तरण र उत्पादन हुने वस्तु वा सेवाको बजारीकरणका लागि सम्बन्धित निकाय, संघसंस्था, दातृ निकाय, वित्तीय संस्था, सहकारी संस्था सक्रियतापूर्वक परिचालन गर्नु आवश्यक रहेकामा जोड दिइयो । उक्त अवसरमा ऊर्जाविद् डा इन्दिरा शाक्यले सरकारका विभिन्न नीति नियममा महिला तथा ऊर्जाका सबालहरुको व्यवस्था गरिए पनि तिनको कार्यान्वयन नहुँदा महिला तथा पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न चेतनामूलक कार्यक्रमको आवश्यक रहेको बताए । सेवा नेपालका अध्यक्ष कल्याणी शाहले व्यवसायी र संघसंस्थाको ऐक्यबद्धताबाट महिला र पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न सकिने धारणा राखे । परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधि सबैका लागि उपलब्ध तुल्याई कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार, साना तथा घरेलु उद्योग तथा यातायातजस्ता आर्थिक-सामाजिक उत्थानका महत्वपूर्ण पक्षलाई सबल तुल्याउन परिसंघले सचेतना, उत्प्रेरणा र समन्वयका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । रासस

 सिटिजन्स बैंकद्धारा धादिङ् र गोरखाको ५/५ वटा गाविसमा नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ् र गोरखा जिल्लाको गरी १० वटा गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले उक्त कार्यक्रम धादिङ्को लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग गाविस र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा गरेको हो । गत असोज ५ देखि १० गतेसम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हिल्फ/लुथेरियन वर्ल्ड फिडरेसनको सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो । विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रम बाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।  

नेपाल क्रिकेट डिभिजन २ मा घटुवा, मुल कारण वर्षा

काठमाडौं । नेपालको क्रिकेट खेल स्तर घटेर डिभिजन २ मा झरेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि अंक तालिकाअनुसार नेपाल डिभिजन २ मा झरेको हो । वर्षाका कारण खेल नभएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हो । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन पुनः सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ ।