बालिका अपहरणको प्रयास गर्ने भारतीय नागरिकलाई जेल चलान
सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् । मामाघरका परिवारका सदस्यहरु श्रद्धा पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयवासीले आरोपितहरुलाई नियन्त्रणमा लिएका हुन् । आरोपितहरुको साथबाट प्लाष्टिकको तीन बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताए । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरुसँग गएको बालिकाले बताइन् । बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको हो । रासस
साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने
काठमाडौं । नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिएका छन् । प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ । यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले बताएका हुन्। रासस
१५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली, ठूला सवारी चक्रपथभित्र निषेध, टुडिखेलमा पार्किङ खुला
काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो नियम लागू हुने ट्राफिक प्रहरीले जनाएकाे छ । ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल उद्घाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेटरसमापन मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । प्रहरी महाशाखाले २०७६ मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश निषेध गरेकाे छ । दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ । पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउन, खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडी टुँडिखेलमा तोकिएकोले सोही ठाउँमा पार्किङ्ग गर्न, हर्न बजाउन पूर्ण रूपले निषेध गर्न निर्देशन दिएकाे छ ।