अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी जुम्लाका दुर्गाबहादुर

पोखरा । सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौँ आउन खबर पठायो । बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च राखेपले ब्यहोर्ने भयो । तर जुम्लादेखि काठमाडौँ पुग्न बुढा आफैँलै खर्चको जोहो गर्नु पथ्र्यो । थौरै खर्चले नपुग्ने भयो । जुम्ला काठमाडौँ ओहरदोहर गर्न झण्डै ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन् । उनको परिवार खेती किसानीमै निर्भर थियो । अन्ततः खर्चको जोहो गर्न नसकेपछि बुढाले ११औँ सागको बन्द प्रशिक्षण मन मानेर त्यागे । यो १२ वर्षअघिको कुरा थियो । त्यतिबेला जुम्ला काठमाडौँ बसको सुविधा थिएन । जहाजमै यात्रा गर्नुपर्दथ्यो । जहाज भाडा तिर्न बुढाका लागि सम्भव थिएन । विसं २०६५ मा काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा बुढा पाँच हजार मिटर र १० हजार मिटर दौडमा तेस्रो भएका थिए । यसबाट उनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढोका खुलेको थियो । ‘मेरा लागि त्यो ठूलो अवसर थियो, कुनै न कुनै पदक देशका लागि जित्थे, ममा आत्मविश्वास थियो’, बुढा विगत सम्झिन्छन्, ‘आर्थिक अवस्था निकै कमजोर थियो, अवसर पाएर मन मार्नु प¥यो ।’ सागमा सहभागी हुन उनी प्रारम्भिक छनोटमाा परेका थिए । त्यतिबेला जुम्लाबाट सुर्खेतम्मको जहाज भाडा सात हजार तथा सुर्खेतदेखि काठमाडौंको १३ हजार थियो । यो उनका लागि असम्भव थियो । खेतीकिसानीबाट यती धेरै आम्दानी गर्नसक्ने उपाय थिएन । ‘धेरैतिर रकमको जोहो गर्न हार गुहार गरे, कोही दाता भेटिएनन्’, बुढाले त्यतिबेलाको पीडा सुनाए । मुश्किलले साग खेल्न प्राप्त भएको अवसर हातबाट निस्केपछि बुढा एकदमै निराश बने । उनी खेल जीवन त्याग्ने मनस्थिति बनाएर जुम्लाको कन्कासुन्दरी गाउँपालिका ३ स्थित घरमा बसे । ‘अब खेलमा कहिल्यै फर्किन्न जस्तो लागेको थियो’, बुढाले भने । तर एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया भने बुढालाई त्यसरी हिम्मत हारेर बस्न दिने वाला थिएनन् । किनकि उनले बुढाको क्षमता चिनेका थिए । एउटा प्रतिभा जन्माउन कति मुश्किल हुन्छ त्यो प्रशिक्षक रोकायालाई थाहा थियो । रोकायाले बुढाको ध्यान अल्ट्रा म्याराथनतर्फ मोडे । प्रशिक्षक रोकायालाई पनि उनको खेल जीवनमा अल्ट्रा म्याराथनका लागि प्रस्ताव पटकपटक आएको थियो । रोकायाले आफ्ना चेला बुढालाई अब त्यतैतर्फ केन्द्रित गर्न लगाए । सन् २००९ मा सोलुखुम्बुमा तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भयो । प्रशिक्षक रोकायाले यो खबर थाहा पाए । उनले बुढालाई त्यसका लागि तयार पारे । प्रतियोगिता खर्चिलो थियो । एक लाख ६० हजार एक्लैले जुटाएर बुढालाई लिएर रोकाया अल्ट्रा म्याराथनमा भाग लिन सोलुतर्फ लागे । उक्त प्रतियोगितामा विदेशी नागरिकसहित एक सय ६४ जनाले भाग लिएका थिए । बुढाले सातौँ स्थान ल्याए । नेपालकै फुर्वा तामा पहिलो भए । यसबाट बुढा र प्रशिक्षक रोकाया उत्साहित भए । रोकायाले बुढाबाट गरेको आशा निराशामा परिणत भएन । दुवै जना उच्च मनोबलका साथ जुम्ला फर्किए । लगत्तै राखेपले सहायक प्रशिक्षकका लागि तालिम खुलायो । बुढा पनि त्यसमा सहभागी भए । ‘म त्यतिबेला छ महिना काठमाडौँमै बसे’, उनले भने । पन्ध्र वर्षपछि राखेपले उक्त तालिम खुलाएको थियो । ‘तालिम लिनेमा म सबैभन्दा कम उमेरको थिए’, उनले भने । तर बुढालाई के थाहा तालिम लिँदैमा नेपालमा खेल प्रशिक्षकको जागिर सहजै पाइन्न भनेर । प्रशिक्षकका लागि तालिम खुल्छ, तर अवसर नपाइने देशको सधैँको समस्या थियो । स्थिति अहिले पनि त्यस्तै छ । अवस्था फेरिएको छैन । उनी भारी मन बनाएर जुम्ला नै फर्किए । अब भने बुढालाई खर्च जुटाउन धौधौ पर्न थाल्यो । उनलाई जागिर खुवाउन रोकायाले पनि सक्दो पहल गरे । खासमा रोकाया आफ्नो चेला खेल क्षेत्रबाट पलायन भएको हेर्न चाहन्नथे । प्रशिक्षक रोकायाको मनमा नयाँ जुक्ति आयो । उनले बुढालाई लिएर भारतको बनारसतर्फ लागे । भारतीय ‘भारतीय सेनामा भर्नाका लागि छनोटको आधार त्यही अल्ट्रा म्याराथनकै प्रमाणपत्र बन्योे, ती प्रमाणपत्र देख्नेबित्तिक्कै भारतीय सैनिक अधिकारी भर्ना लिन तयार भए’, उनले भने । पहिलो पटकमै बुढा भर्ना हुन सफल भए । यो सन् २०११ को कुरो थियो । छनोटका बखत उनलाई दौडाइयो । दुई हजार चार सय मिटर दौड बुढाले चार मिनेट ३७ सकेण्डमा पूरा गरे । यसबाट त्यहाँ छनोट समितिका सैनिक अधिकारी बुढाबाट प्रसन्न भए । ‘खासमा डिउटी केही हुन्न । जताजता खेल प्रतियोगिता त्यतैत्यतै गएर खेल्नुपर्ने मात्र हुन्छ’, बुढाले सुनाए । उनले हालसम्म यही गर्दै आएका छन् । बुढा जस्तै भर्ना भएका भारतीय सेनामा धेरै नेपाली छन् । खेलको कदर गर्दै उनीहरूलाई भर्ना लिने गरिएको छ । भारतीय सेनाको जागिरले बुढा आर्थिकरुपमा सबल भए । खासमा खेल्न खेलाडीका लागि आर्थिक अवस्था चुनौतीपूर्ण बनेको छ । ‘धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन्’, उनी भन्छन्, ‘गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन् ।’ बुढाले बिदामा बसेको समयमा मात्र नेपालमा प्रतियोगिता खेल्ने गरेका छन् । ‘सकेसम्म नेपालमा हुने कुनै पनि प्रतियोगिता छुटाउँदिन’, उनले भने । भारतीय सेनामा भर्नापछि २०७२ सालमा उनले बाँकेको नेपालगञ्जमा तेस्रो धारा म्याराथन खेले । यो उनको नेपालमा खेलेको पहिलो म्याराथन थियो । निर्धारित दूरी दुई घण्टा २६ सेकेण्डमा पूरा गर्दै उनी पहिलो भए । लगत्तै झापामा भएको १५ हजार मिटर दौडमा पनि उनी पहिलो भए । धनगढीमा भएका जेसिज म्याराथनमा त बुढा चार पटक पहिलो भएका छन् । बुढाले चार वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्दै १० हजार मिटर दौडमा भाग लिए । उनले स्वर्णपदक जिते । पाँच हजार मिटर दौड र म्याराथनमा उनले रजत पदक प्राप्त गरे । ‘लगातार दौडिनुपर्दा पाँच हजार मिटर दौड र म्याराथनमा सोचे जस्तो परिणाम ल्याउन सकिएन’, उनले भने । आठौँ राष्ट्रिय खेलकुदमा पनि कर्णालीले दुई वटा मात्र स्वर्ण जितको थियो । त्यतिबेला कर्णालीले तीन रजत जितेको थियो । जसमा बुढाका नाममा एउटा स्वर्ण र दुई वटा रजत थियो । यसपटक गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बुढाले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे । उनी कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा पहिलो हुँदै पोखरा आएका थिए । तीन हजार मिटर दौडमा उनले स्वर्ण जिते । पाँच हजार मिटर दौडमा भने बुढा सेकेण्डले मात्र स्वर्ण पदकबाट चुके । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ उसुको नान छ्वान राउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्ण पदक जितेका छन् । बुढाले एथ्लेटिक्सको तीन हजार मिटर स्टेपल चेजमा स्वर्ण जित्दा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लबले विरोध गरे । बुढा भारतीय सेनाको जागिरे भएको र भारतमा समेत प्रतियोगिता खेल्दै आएकाले नेपालमा खेल्न नपाउने भन्दै तीनवटै क्लबले विरोध गर्दै उजुरी हाले । बुढाले भारतीय टोलीको नेतृत्व गर्दै एशियन च्याम्पियनसिप खेलेका थिए । यही कारण देखाउँदै विभागीय टोली बुढालाई यसपाली खेल्नबाट रोक्ने प्रयासमा थिए । विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने । बुढाले कीर्तिमानी स्वर्णपदक जिते । उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे । बुढाले उक्त दौड आठ मिनेट ५५ दशमलव १९ सकेण्डमा पूरा गरेका थिए । यस्तै एपिएफका यादवले सो दौड नौ मिनेट २१ दशमलव १० सेकेण्ड तथा आर्मीका कार्कीले नौ मिनेट २२ दशमलव १५ सकेण्डमा पूरा गरे । बुढाले १८ वर्षअघि धावक राजेन्द्र भण्डारीले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामवादमा उक्त कीर्तिमान बनाएका थिए । ‘लामो समयदेखि देशका लागि खेल्दै आएको छु । यसपाली मेरो सहभागितालाई लिएर किन यतिसारो विरोध भयो, बुझ्न सकिरहेको छैन’, बुढाले भने, ‘म जता भए पनि आवश्यक पर्दा मेरो प्रदेश र देशका लागि खेल्दै आएको छु । देशका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु । मेरा लागि विदेशमा गएर जागिर खानु बाध्यता हो । मैले वर्षौं आफ्नै देशमा रोजगारीका लागि प्रयास गरे । निकै तड्पिए । खेल जीवन नै त्याग्ने अवस्थामा पुगे ।’ अहिलेसम्म जितेका पदकका लागि उनी प्रशिक्षक रोकायालाई श्रेय दिन्छन् । ‘रोकाया गुरुको ढाडसले मात्र म खेल जीवनमा छु, नत्र गुमनाम हुन्थे’, बुढाले भने । राज्यले नेपालमै बसेर खेल्ने वातावरण बनाए जस्तोसुकै त्याग गर्न बुढा तयार छन् । उनी भन्छन्, ‘खेल्नुभन्दा अघि बाँच्न जरुरी छ, म खेलाडीका रुपमा जीवित रहनकै लागि अर्काको देशमा गएको हुँ । भविष्यमा म आफ्नै देशमा खेल्न र खेलाडी उत्पादन गर्न चाहन्छु ।’ बत्तीस वर्षीय बुढा परिवारका कान्छो सन्तान हुन् । खेलकुदमा परिवारका अरु कोही पनि छैनन् । उनले चार कक्षासम्म सुर्खेतमा पढे । त्यतिबेला उनका बुबा विद्यालयमा पढाउँथे । बुढा पाँच कक्षादेखि पढ्न जुम्ला नै उक्लिए । बुढा सुर्खेतमै जन्मिएका हुन् । जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथबाट १० कक्षा उत्तिर्ण गरेका उनले त्यसपछि १२ कक्षासम्म जुम्ला बहुमुखी क्याम्पसमा पढे । सुर्खेतबाट जुम्ला उक्लिएपछि बुढा खेलप्रति आकर्षित भए । सुर्खेतमा त्यो वातावरण थिएन, जुन उनले जुम्लामा पाए । ‘प्रशिक्षक रोकायाका कारण खेलप्रति आकर्षित भएको हुँ’, उनले भने । रोकायाको नाम दुर्गम गाउँगाउँसम्म खुब प्रचलित थियो । सबै जुम्ली हरि रोकाया बन्न चाहन्थे । जोसुकैको पनि इच्छा खेलमा लागिसकेपछि हरिजस्तै बन्ने हुन्थ्यो । बुढाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा रोकायालाई देख्न पाए । रोकाया नै बुढासँग नजिकीए, जब उनले १५ सय मिटर दौडमा स्वर्णपदक जिते । रोकायाले उनलाई रु तीन सय पुरस्कार दिए । यो तीन सय पुरस्कारले बुढामा निकै ऊर्जा थप्यो । बुढा पहिलो पटक यसरी प्रतियोगितामा दौडिएका थिए । त्यतिबेला उनी १० कक्षामा पढ्थे । खलङ्गामा बुढा डेरामा बस्थे । रोकाया उनको खेलबाट प्रभावित भएर बुढालाई आफ्नै घरमा बस्न बोलाए । बुढाका लागि रोकायाको प्रस्ताव ढुङ्गा खोज्दा देउता मिले झैँ भयो । अहिले पनि रोकायाले नयाँ प्रतिभालाई आफ्नै घरमा राखि अभ्यास गराउँछन् । रोकायाको प्रशिक्षण पाएर क्षेत्रीय प्रतियोगिता खेलेका बुढाले पहिलो पटकमै १५ सय मिटर, पाँच हजार मिटर र १० हजार मिटर दौडमा कर्णालीका लागि स्वर्णपदक जिते । हालसम्म पनि उनी रोकायाकै प्रशिक्षणमा प्रतियोगिता खेल्दै आएका छन् । ‘रोकाया गुरुको प्रशिक्षणबिना मेरो सफलता सम्भव थिएन’, खुसी व्यक्त गर्दै कीर्तिमानी स्वर्ण पदकधारी बुढाले भने । एउटा असल खेल प्रतिभा मर्नबाट मात्रै जोगाएको ठान्छन् प्रशिक्षक रोकाया । ‘उसले (बुढा) देशकै लागि खेलिरहेको छ । विदेशमा जागिर खानु बाध्यता हो । बुढा मात्र होइनन् अरु धेरै प्रतिभा नेपालमा खेल्ने वातावरण नहुँदा विदेशिन बाध्य छन् ।’ प्रतिभा पलायन हुनबाट रोक्न राज्यको कुन निकायले के योजना बनाएका छन् यसबारे आफू अनविज्ञ रहेको रोकाया बताउँछन् । खेलकुद विभागीय टोलीको भरमा छोडेकामा प्रशिक्षक रोकायाको मन खिन्न छ । ‘आर्मी, पुलिस र एपिएफ क्लबको जिम्मा मात्र लगाउने भए राज्यले किन खेलकुदमा यतिधेरै पैसो खेर फालिरहेको छ’, उनको प्रश्न छ । विभागीय टोलीबाहेक अरु प्रदेशको खेलस्तर खस्किँदै गएकामा प्रशिक्षक रोकाया चिन्तित् छन् । ‘म एउटा प्रशिक्षकले मात्र चिन्ता गरेर केही नहुने रहेछ । मैले त रात दिन दुर्गममा खेलाडी उत्पादन गरिरहेकै छु’, २७ वर्षदेखि कर्णालीको दुर्गम जुम्लामा खेलाडी उत्पादन गर्दै आएका गिनिज बुक अफ वल्र्ड कीर्तिमानी रोकायाले भने । प्रशिक्षक रोकायाले सन् २००० मा विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान राखेका थिए । तीन घण्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गराएका हुन् । रोकाया आफ्ना खेलाडीका लागि खेल सामग्री आफैँ जुटाउँदै आएका छन् । भन्छन्, ‘राज्यको भर परे नयाँ खेलाडी उत्पादन गर्नै सकिन्न । रासस ।

पुस पन्ध्रमा तीन नेपाली चलचित्र ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’ पदर्शन हुने

आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । यही काक्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढेसँगै चलचित्रका गतिविधि छायाँमा पर्ने डर हुनसक्ने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए । उनले आफू निर्मित चलचित्र ‘महापुरुष’ लाई कात्तिकमै प्रदर्शन गर्नाको कारण आउँदो निर्वाचनसँगै विश्वकप फुटबल रहेको जानकारी दिए । ‘जाडोको समय, चुनावी रौनक लगत्तै विश्वकप फुटबलका साथै आउँदो डिसेम्बर र जनवरी महिनामा ठूला विदेशी चलचित्र आउने भएकाले पनि नेपाली चलचित्र प्रदर्शन तय नगरिएको हुनसक्छ’, निर्माता बानियाँले भने। नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गरेको पाइएको लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए । उनले भने, ‘यस अगाडि पनि विश्वकपको समयमा धेरै चलचित्र रिलिज भएका थिएनन् । साथै यसपटक छिमेकी मुलुक भारतका ठूला चलचित्रहरू पनि छन् ।’ आउँदो पुस १५ मा भने तीन चलचित्र प्रदर्शन गरिने घोषणा गरिएको छ । बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ । शिर्षकमै कथा जोडिएकोले आफ्नो चलचित्र ‘डिसेम्बर फल्स’ लाई डिसेम्बरकै अन्तिम साता प्रदर्शन गर्न लागिएको निर्माता रामप्रसाद रिजालले बताए। ‘हाम्रो छायांकनलाई कोरोनाका कारण भएको लकडाउनले असर गरेको थियो । अहिले काम सकाएपछि नामसँगै मिल्दोजुल्दो प्रदर्शन मिति तय गरेका हौं’, निर्माता रिजालले भने, ‘सस्पेन्स र थ्रीलर कथामा आधारित चलचित्र तयार भएको छ ।’ ऋचा शर्माले आफू अभिनित तथा निर्मित चलचित्र ‘कौसीद’ ऋणको चपेटामा परेको पात्रको जीवनको भोगाइ देखाइएको बताइन्। उक्त चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईले अभिनय गरेका छन्। हरर थ्रिलर कथामा ‘चि मुसी चि’ निर्माण भएको निर्देशक मार्ना जेम्सले जानकारी दिए। ‘यश सैनीसँग मिलेर मैले फिल्म निर्देशन गरेकी छु । सहायक हुँदै निर्देशनमा डेब्यु गरेकी हुँदा यो चलचित्र मेरा लागि खास छ’, निर्देशक जेम्सले भने । उक्त चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए । ‘हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन । अगाडि पछाडिको शुक्रबार खाली हुँदा हुँदै पुस १५ मै तीन चलचित्र प्रदर्शनको घोषणा गर्नु विदेशी चलचित्र नभएको कारण हुनसक्छ”, महसचिव महर्जनले भने ।

‘आमाको तिलहरी बेचेर सुरु गरेको बाख्रा फार्म ७० लाखकाे भएकाे छ’

स्कुल पढ्दा किताबका पानामा लेखिएको हुन्थ्यो नेपाल कृषि प्रधान मुलुक हो भनेर । मलाई त्यो भनाई कताकता चित्त बुझ्दैन थियो । किनकी कृषि प्रधान मुलुकमा कृषकको सम्मान थिएन् । अर्को कारण कृषि प्रधान मुलुकका कृषकले नै विदेशबाट आयात गरेका कृषि सामाग्रीको उपभोग गरिरहेका थियौँ । बाल मष्तिष्कले जनाएको असहमती मैले मेरो युवा अवस्थासम्म आईपुग्दा पनि अरु कसैसँग प्रकट गर्ने साहस गर्न सकेको थिईन । परिवारका हामी सबै बाह्रै महिना कृषि कर्ममा व्यस्त हुन्थ्यौँ । तर पनि बाह्रै महिनालाई हातमुख जोड्न पुग्ने कृषि उपज उत्पादन हुँदैन्थ्यो । निर्वाहामुखी कृषि, भैँसी, बाख्रा, गाई पालेका थियौँ । खेतबारीमा पनि उसैगरी परम्परागत तवरले अन्न बाली लगाइन्थ्यो । त्यसैले त मेरा बाबाले जीवनको उर्जाशिल समयको झन्डै डेढ दशक विदेशी भूमिमा परिवारबाट टाढा रहेर बिताउनु भयो । निर्वाहमुखी कृषिबाट गुज्रिरहेको मेरो परिवारको आर्थिक अवस्था त्यति सहज र सवल त पक्कै थिएन । तर परम्परागत कृषी ईज्जत धान्ने साधन बनेको मात्र थियो अरु उपलब्धि हुने कुरै भएन । आमाले हिउँद बर्खा नभनी गरेको दुखले एक छाक खाना र एक जोर राम्रो लुगा फेर्ने पुग्दैनथियो । बाबाको वैदेशिक यात्राबाट निर्भर रहेको परिवार कृषि गरेर आर्थिक हैसियत सुधार्न सक्ला भन्ने कल्पना कहाँबाट गर्ने ? हरेक परिस्थितिको दास बन्नुको विकल्प थिएन । मेरो मात्रै नभएर मेरो समुदायका करिब ६० घरधुरीको अवस्था यस्तै थियो । बुझ्ने भएपछि मसँग कृषिमा नयाँ सम्भावना तथा आयाम सहित ग्रामीण समुदायलाई परिवर्तन गर्ने हुटहुटी थियो । आर्थिक रुपमा सिथिल भएका परिवारहरु आम सञ्चार तथा पूर्वाधारको पहुँच भन्दा टाढाको वस्तिहरुमा मानिसहरु वसाई सराई गर्दै अन्यत्रै जान थालेपति करिब करिब गाउँहरु शुन्य जस्तै बन्न थालेका थिए । आदर्शमा सिमित कृषि पेशाबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नभएपछि धेरै युवा साथीहरुले आर्थिक उपार्जनका विकल्पहरु खोज्न थाले । युवा उमेरमा धेरै साथीहरुलाई आर्थिक उपार्जनका लागि विदेश जानुपर्ने बाध्यता आईलाग्यो । परिस्थितीको पहाडले थिचेपछि पासपोर्ट बोकेर म्यानपावर धाउनुको विकल्प पनि थिएन् । वैदेशिक रोजगारीमा जानेलाई ऋण पत्याउनेहरु धेरै थिए, गाउँमै कृषि गर्छु भन्दा ऋण नपत्याउने अवस्थाले गर्दा गाउँमै अडिन सक्ने आँट कस्ले गर्न सक्ने र ? पात्रोमा दिन, महिना हुँदै सालहरु फेरिए । कृषकको दैनिकी र अवस्था फेरिएन । निर्वाहामुखी कृषी कर्मले दुख धेरै आम्दानी नगन्य नै थियो । यहीँ परिस्थिमा जसोतसो साहस जुटाएर कृषिमा केही फरक काम गर्ने संङकल्प गरे । तर लगानी गर्न सक्ने हैसियत भने मेरो भएन । बाख्रा पाल्नलाई ऋण खोज्ने बाहेकको विकल्प नै कहाँ थियो र ? भर्खर १७ वर्षमा टेकेको मलाई ऋण दिन जो कोही पनि तयार भएनन् । मेरो समाजले त मेरो उमेर समुहका उर्जाशिल युवालाई अल्लारेको उपमा दिन मात्रै सक्थ्यो, ऋण पत्याउँदैन्थ्यो । काम गर्ने असिमित चाहना भएकै कारण २०६८ सालमा भानुमति साना किसान कृषि सहकारी बाट २० हजार रुपैयाँ ऋण सहयोग लिए । आमाको तिलहरी बेचेर सुरु गरे सृजनशिल बाख्रा फार्म । १० वटा माउ बाख्राबाट निर्वाहामुखी कृषिलाई व्यवसायिक बनाउने यात्रामा होमिएको थिए । त्यो बेला ऋण खोजेर बाख्रा पाल्न तम्सिएको युवालाई ढाडस दिनेभन्दा हतोत्साहित बनाउनेहरु धेरै थिए । त्यो समय बाख्रा पालन गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने आशा म बाहेकका अरु कसैमा थिएन् । ऋण खोजेर बाख्रा पालन सुरु गर्दा कतिले त मानसिक रुपमा ठिक नभएकोसम्म भन्न पछि परेनन् । म भन्नेहरुको कुराको पछाडी लागिन । सिभिल ओभरिसयर अध्ययन गरेको मैले सुरु गरेको बाख्रा पालन व्यवसाय मेरा लागि एक नयाँ क्षेत्र थियो । पशुपालन गरेर सहजै जीवन गुजरा चलाउन सकिन्छ भन्ने कुरा गाउँमा यसअघि नत कसैले देखेका थिए नत सुनेका थिए । मैले चुनौतीका पहाडको सामाना गर्दै बाख्रा पाल्न सुरु गरेँ । सुरु सुरुमा प्राविधिक ज्ञान अनुभव नभएको मान्छे उमेरले पनि अलिक कच्चा भएर होला सफलता हात पार्न धौँधौँ भयो । व्यवसायबाट सोचे जस्तो आम्दानी हुन सकेन । ऋणको सावाँ र ब्याज तिर्न नसक्दा केही असहज भयो । तर निराश भएर मैले सुरु गरेको यात्राबाट विचलित हुने छुट कदापि थिएन । म मानसिक रुपमा व्यवसायलाई अगाडि बढाउने गरी निरन्तर लागिरहेँ । यसै समयमा नेपाल भू–कम्प र नाकाबन्दीको चपेटाबाट थलिएपछि लयमा फर्कन निकै सकस प¥यो । विभिन्न आरोह अवरोह पार गर्दै दृढ अठोटका साथ अगाडि बढाएको मेरो बाख्रा पालन व्यवसाय विस्तार हुँदै थियो । यसै समयमा वि. स. २०७४ सालमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साना किसान विकास लघुवित्त संस्था मार्फत ईजरायल जाने सुनौलो अवसर जुर्याे । ११ महिने ईजरायल यात्रा मेरो जिन्दगिको स्वर्णिम समय सिद्ध भएको छ । प्राविधिक सिप, क्षमता बिकास गर्ने र व्यवसाय प्रर्वद्धनका लागि बीउ पूँजी व्यवस्थापनमा लर्न एण्ड अर्न कार्यक्रम कोशेढुंगा सावित बन्यो । सायद इजरायल जान नपाएको भए म आज म बन्ने थिईन । एउटा सामान्य कृषकको छोरा बाख्राको खोरमा दैनिकी बिताइरहको मान्छे कृषि प्रविधि सिक्न ईजरायल जान सक्ला भन्ने धेरैलाई लागेको थिएन । तर मलाई साना किसान परिवारको लर्न एण्ड अर्न कार्यक्रम मार्फत जान पाउछु कि भन्ने आश थियो । इजरायल पुगेर आधुनिक कृषि प्रविधि र प्रणाली सिक्न पाए भने ओरालो लागेको व्यवसायलाई लयमा फर्काउन सकुँला कि आशाको किरण थियो । जुन पुरा भयो पनि । धान फल्ने खेत मासेर लगाएको १२ हजार घाँसका बेर्नाले थप दक्षता र व्यवस्थापन खोजीरहेको थियो । हजुरबुवाको मनमा खेत विगारिदिएको चिन्ता उस्तै थियो । ऋणको चपेटामा परेको मलाई अन्यत्र जान ठाउँ पनि थिएन । हिम्मत गरेरै व्यवसायमा जम्नैपर्ने थियो र त फरक अभ्यास गरिरहेँ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता दिनु थियो । निराश गाउँलेमा आशाको किरण जगाउनु थियो । असफलताको मानसिकताबाट मेरो विश्लेषण गर्नेहरुलाई मैले गरेका हरेक काम सही रहेछ भनेर प्रमाणित गराउनुपर्ने आफैँमा चुनौती थियो । अझ बढी अरुलाई भन्दा आफैँले आफैँलाई जित्नु थियो । प्रतिकुल परिस्थिती र समयलाई आफु अनुकुल बनाउनु थियो । भाग्यलाई श्रम, मेहनत र निरन्तरताले दासी बनाउने रहेछ । अविछिन्न प्रयासबाट आज परिचय बद्लिएको छ । ११ महिनाको ईजरायलस्थित रमात नेगेब इन्टरनेशनल ट्रेनिङ सेन्टरबाट सिकेको ज्ञानले व्यवसाय व्यवस्थापनमा सफल बनाएको छ । रित्तिएको बाख्राका खोरलाई इजरायलको लर्न र अर्नले भरिभराउ बनाएको छ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता गर्न सक्ने हैसियत बनाउन सफल भएको छु । एक सरो लुगा फेर्नलाई मात्रै मैलै बाख्रा पालन सुरु गरेको पक्कै हैन । चरम गरिबीको रेखामुनि रहेको मेरो समुदायको निर्वाहमुखी कृषि र पशुपालनमा घुमिरहेको मानसिकतालाई परिवर्तन गर्दै व्यवसायिक यात्रामा डो¥याउनु थियो । ऋणमुक्त गराउने अभ्यासमा जोड्नु थियो । आज धेरै हदसम्म सफलता मिलेको छ । गाउँलेले कल्पना समेत गरेका थिएनन् एउटै बाख्राको मुल्य तीन लाख रुपैयाँ सम्म पर्छ भन्ने । तर आज हामिले त्यही बोर जातका बाख्राहरु नेपाल अधिराज्यभर बीउका लागि बिक्री वितरण गरी करिव वर्षको चार करोड रुपैयाँको हाराहारीमा आम्दानी गाउँमा भित्र्याउन सफल भएका छौँ । ठूलो व्यवासय त मैले गरेको छैन् व्यक्तिगत रुपमा एक्लैले झन्डै ७० लाख रुपैयाँको हाराहारिमा लगानी गरेको छु । ग्रामिण समुदाय भिमाद नगरपालिका– ९ पाथर्दीको बस्तीलाई नेपालको नमुना बोर बाख्रा स्रोत विकास केन्द्रको रुपमा स्थापित गर्न सफल भएका छौं । विश्वविद्यालयहरुसँग गाउँको बाख्रापालनलाई जोड्न सकेका छौं । कृषि मार्फत ग्रामीण पर्यटनको सम्भावना देखेर गाउँमा होमस्टे (घरबास) कार्यक्रम संचालन गरेका छौँ । मैले फरक काम अनि ठूलो पक्कै गरेको छैन् । तर गाउँको ६० घरधुरी परिवारलाई निर्वाहामुखी कृषिबाट व्यवसायिक कृषिमा जोड्दै आर्थिक अवस्था सुधार्न केही हदसम्म सफल भएको छु । यो सफलता मेरो र गाउँलेको मात्रै हैन् । साना किसान लघुवित्त संस्था, इजरायल सरकार र लर्न एण्ड अर्न कार्यक्रमको हो ।