युएईले हङकङलाई हरायो

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाए । त्यस्तै एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनकोसाझेदारी गरेका थिए । युएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुनेछ ।

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् । पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन सुरु भएको छ । श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुगेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताए । ‘हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ’, उनले भने, ‘आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।’ अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ । ‘नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्’, उनले भने, ‘नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताए । ‘पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,’ उनले भने, ‘यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।’ रासस

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

  काठमाडौं । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । यी मन्दिरमा झकिझकाउ बनाएर सिँगारिनुका साथ बेलुकी झिलिमिली बत्ती सजाइएको छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन् । यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् । दसैँका अवसरमा धेरै मानिस आ–आफ्नो थातथलो फर्केका छन् । कतिले अझै जाने तयारी गरेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । सार्वजनिक यातायातमा गुन्द्रुक कोचेझैँ यात्रु राख्दा दुःख पाएको काठमाडौँ उपत्यकाबाट बाहिरिनेको गुनासो छ । सार्वजनिक यातायात व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भएपनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको पनि ध्यान जान नसकेको यात्रुले गर्ने गरेका छन् । रासस