हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल, ‘सानोमा पढ्न पाइँन, अब पढ्छु’
पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका-४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएकी छिन् । विसं २०४६ मा उनको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुन्त्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन् । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी हुन् । पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका-५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ । भुसालका छोरा र छोरीबाट तीन नाती नातीनासमेत छन् । ‘छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु’, उनले भनिन्, ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।’ भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छिन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहेकी छिन् । भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसकेकी छिन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेकी हुन् । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन् । ‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन् । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन् । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेसका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन् । ‘सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन्’, श्रीमान् तिलकले भने, ‘उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन्, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।’ श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिएका छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुन् । रासस
एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन
काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरेका हुन् । चैत १५ देखि २४ गतेसम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ-११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी-११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता-११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् । कोशी प्रदेशमा रहेका नव खेलाडीहरुलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको यस प्रतियोगिताका बिजेताले नगद रु। ११ लाख, उपबिजेताले रु। ५ लाख ५० हजार लगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही रु। २१ हजार र उत्कृष्ट खेलाडीलाई रु। २१ हजार प्रदान गरिनेछ । फुटबल खेललाई थप उचाइमा पुर्याउन बैंकले गरेको यो सहकार्यले विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ । यस बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको अवस्थामा खेल जीवनमा समेत सो कुरा चरितार्थ हुँदै आएको छ । बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लालाहित युवा खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैंकको नारालाई चरितार्थ गर्न समेत खेल क्षेत्रसँगको सहकार्यले ठोस टेवा दिने समेत बैंकको विश्वास रहेको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याएको छ । बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।