मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत बढी

महोत्तरी । राष्ट्रिय जनगणना-२०७८ को तथ्यांकअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो संख्या ३७.२ प्रतिशत हुन्छ । १८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको संख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए । मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् । बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै बाक्लै रहेका उनको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताए । बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् । मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।

फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । लि–डिभाइनले बिहीबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई हस्तान्तरण गरेका हुन् । जया प्रदा भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । लि–डिभाइनले ‘इन्डो–नेपाल ह्वेयर कल्चर कम्स एलाइभ’ नाराका साथ ‘कल्चरल फेस्टा’ नाम दिएर छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते०सम्ममा भएका विपदबाट बिहीबारसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । मनसुन भित्रिएको जेठ २८ देखि असार १२ गतेसम्म कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै, मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते) को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा ९ जना चट्याङबाट र ९ जना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।­­­ ­­­