सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल च्याम्पियन बने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् । बिहीबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई पेनाल्टी शुटआउटमा २–१ ले हराएर च्याम्पियन बन्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि महिलाको फाइनल पेनाल्टी शुटआउटमा पुगेको थियो । यस प्रतियोगितामा धितोपत्र बजारसँग आबद्ध संस्थाका लागि पुरुषतर्फ ३१ र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो । शनिबार हुने भनिएको फाइनल भारी वर्षाका कारण रोकिएको थियो । पुरुष विजेताले १ लाख र उपविजेताले ६० हजार, जबकि महिला विजेताले ६० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरेका छन् । व्यक्तिगत विधाका पुरस्कारमा महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सेबोनकी निशा थापा र उत्कृष्ट गोलरक्षक एनएमबी क्यापिटलकी निशा देवकोटा चुनिएका छन् । पुरुषतर्फ सेयर प्रो सेक्युरिटिजका अर्घ रेग्मी उत्कृष्ट खेलाडी, एसबीआई बैंकका पुजन खड्का सर्वाधिक गोलकर्ता, र एसियन सेक्युरिटीजका प्रबिन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिएका छन् । बिजेता खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु र आयोजक युनियनका अध्यक्ष अजय ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।
डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको अफरहरू सार्वजनिक
काठमाडौं । डिसहोमले इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत दुईसय एमबीपीएस र तीनसय एमबीपीएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ । यसको अतिरिक्त ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भइ आकर्षक उपहारहरू जित्न सक्नेछन् । हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम अप्लायन्सका सामानहरू, आईटीएल एटण्एस स्मारटफोन, मीभी डुओपड्स टी२० एयरबड्स, र डिसहोम फोरके स्ट्रिमरजस्ता उपहारहरू जित्न सक्नेछन् । यति मात्र होइन बम्पर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डीएचआई होम अप्लायन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको डिसहोमले जनाएको छ । डिसहोम ले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम अप्लायन्सका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मीभी डुओपड्समा ५४ प्रतिशतसम्मको छुट, र फायरबोल्ट स्मार्टवाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् । डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार आजै आफ्नो नजिकको डिसहोम डिलरसँग सम्पर्क गरेर वा कम्पनीको नम्बरमा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ ।
घरमै यसरी बनाउन सकिन्छ मीठो पक्कु
काठमाडौं । नेपालको विशेषगरी पहाडी जिल्लाहरूमा बसोबास गर्ने मध्यमवर्गीय परिवारमा विभिन्न पर्व जस्तै बडादशैं, कुल पूजा, पूर्णिमा, चैते दशैं, बढाइ पूजा आदिमा बाेकाको बलि चढाउने प्रचलन अहिले पनि रहेको छ । त्यसरी बलि चढाउनका लागि कसैले आफ्नाे घरमा बोका हुर्काउने वा अन्य किसानबाट खरिद गरी ल्याउँछन् । देवीदेवताको नाम पारी घरमा तयार गरिएका बोका बेच्न नहुने मान्यता अहिले पनि रहेको छ । देवताको नाम पारी पालिएका बोका कूलभित्र जुठो (कुनै पनि आफ्नो परीवारको सदस्य गुमाउनु) वा कुलभित्र अन्य कुनै अशुभ भएमा बलि दिन नहुने पौराणिक एवम् पराम्परागत मान्यता रहेको छ । त्यस्तो आवस्थामा बलिका निमित्त पालिएका बोकाहरू छिप्पिएका विशाल र अजङ्ग हुने गरेको हामी सुन्न र देख्न पनि पाउछौं। गरिब तथा मध्यम वर्गीय पारिवारमा वर्षभरि दुःख गरेर भएता पनि दशैंका बेला परिवारका लागि नयाँ कपडा किन्ने, मीठो मसिनो खाने, राम (मेला) हेर्न जाने र रमाइलोकै लागि घरमा खसी/बाेका काट्ने चलन अहिले पनि छ । बलि दिइएका र काटिएका बाेका/खसीको मासु एकै दिनमा खाएर नसकिने, कतिपय ठाउॅंमा त महिलाले छुन र खानसमेत नहुने चलन थियो । अहिले जस्तो बिजुली र फ्रिजको व्यवस्था नभएकाले यत्तिकै राख्दा मासु बिग्रिने हुँदा त्यसलाई लामो समयसम्म राख्न हाम्रा स्थानीय मरमसलाहरूको प्रयोग गरी एक विशेष विधिको प्रयोगबाट कसौंडीमा पकाइने अत्यन्तै स्वादिलो पौष्टिक परिकारलाई नै पक्कु वा पकुवा भनिन्छ । खसी/बोकाको मासु त्यो समयमा दुर्लभ थियो, यसलाई प्राप्त गर्नुभन्दा पनि त्यसलाई बिग्रिन वा सड्न नदिइ जोगाइ खानु अर्को चुनौती थियो । त्यसलाई जोगाइ राख्न र लामो समयसम्म खानका लागि खसी वा बोकाको सबै भाग (पार्ट) को मासुलाई एकै साइजमा काटिन्छ । मासुलाई बोसो, शुद्ध घ्यू वा तोरीको तेलमा उपलब्ध मरमसालामा मोली ४/५ घण्टा मसाला सोस्नका लागि यत्तिकै ढाकी राख्ने र आगोमा पकाइ सुरक्षित राख्ने गरेको पाइन्छ । त्यसरी दशैंमा तयार गरेको पक्कु तिहारसम्म पनि प्रयोग गर्ने गरेको हामी देख्न सक्छौं । त्यसका लागि पहाडको स्वच्छ र चिसो मौसमले पनि साथ दिने गर्छ । अहिले पनि नेपालीहरूले विजया दशमी लामो समय मनाउने गर्दछन् । यस पर्वको महत्त्व पौराणिक एवम् हिन्दु शास्त्र, धार्मिक मान्यता एवम् पारिवारिक सौन्दर्यताको बखान अनन्त रहेको छ । दशैंतिहारजस्ता चाडपर्वमा विदेशिएका सम्पूर्ण परिवार जमघट हुने र रमाइलो साटासाट गर्ने, मीठो परिकार बनाउने इत्यादि व्याख्या र शब्दले मात्र यसको महत्त्वलाई पूरा गर्न सकिँदैन । आज पनि हाम्रो देशका लाखौं संख्यामा विदेशिएका युवा र बिछडिएका परिवार मिलाउने यो पर्व नेपालीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण छ । आफ्ना सन्तानहरूलाई स्वादिलो पक्कु खुवाउने लक्ष्य राखेका आमाबाबु छोराछोरी आफूभन्दा टाढा रहेकाले सामिप्यताको अभाव र यादमा उदास रहेका छन् । ती आमाबुबाको अनुहारमा खुसी छर्न टाढा रहेका छोराछोरीको अभाव र यादमा तड्पिरहेकाहरूको दशैं विशेष बनाउने मुख्य उद्देश्य र यही समयमा कर्मचारीको अभावको कारण धेरै रेस्टुरेन्ट बन्द हुने र छोटो छुट्टीका लागि नेपाल आएका परिवारका लागि रेस्टुरेन्टको मजा दिलाउन पक्कु फेस्टिवभको आयोजना गर्न लागिएको छ । पक्कुलाई हामी मासु मात्र होइन, यसलाई सही विधि, सही तरिका र उचित मसलाको मिश्रणबाट तयार गरिने खाना हरेक नेपालीको जिब्रोमा गढेको स्वाद बिस्तारै मन्द आगोमा पकाइने खसीको मासु आफ्नाहरूका लागि सप्रेम खुसी र हर्षमा तयार पारिएको खानाको वर्णन गर्न शब्दले मात्र असम्भव रहन्छ । त्यसैले हाम्रो पाककला हाम्रो खानपानको गौरवको रूपमा पनि लिन सकिन्छ । पक्कु कसरी बनाउने ? यसबारे मास्टर सेफ गोविन्द नर्सिङ केसीले विकासन्यूजलाई केही टिप्स दिएका छन् । पकवान विधि र रेसीपी – खसी वा बोकाको सबै भाग (पार्ट) को मासुलाई एकै साइजमा काट्ने । -जिरा धुलो, धनिया धुलो, खुर्सानी धुलो,बेसार धुलो, नुन स्वादअनुसार, मरिच धुलो, शुद्ध तोरिको तेल र गरम मसलालाई आफैं तयार पारी मासुमा कागतीको रस मिसाइ राम्रोसँग मिक्स गरी कम्तीमा चार घण्टाका लागि ढाकेर राख्ने । -त्यसपछि पिँध बाक्लो भएको एक पितलको कसौंडीमा तोरीको तेल हाली तताउने, तेल राम्रोसँग तातेपछि उल्लेखित मसलाहरू (सुकमेल, ल्वाङ, दालचिनी, तेजपत्ता र ठूलो इलाइँची) राखी राम्रोसँग फुराउने । -त्यसपश्चात् मसला मिसाइ ढाकेर सानो आगोमा बिस्तारै चलाउँदै पकाउने । यसरी करिब ९० मिनेट जति सानो आगोमा ढाकेर पकाएपछि स्वादिलो पक्कु तयार गर्न सकिन्छ । -यसलाई चिउरा, भुजा वा पुलाउसँग साथमा खर्सी परेको (पाकेको छिप्पिएको) काँक्रोको खल्पी (अचार) वा मुलाको अचारसँग खान सकिन्छ ।