प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि भर्न पाइने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि(मंसिर २९ गते)देखि भर्न पाइने भएको छ । कम्पनीले भोलिदेखि ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले उक्त सेयरमा आवेदन दिन सक्ने भएका हुन् । इन्स्योरेन्सले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरीे र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ । उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

आरएसडिसी लघुवित्तले डाक्यो वार्षिक साधारणभा, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आगामी पुस २४ गते वार्षिक साधारणसभा डाकेको छ । मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौं वार्षिक साधारण सभा सो दिन बुटवलमा गर्ने निर्णय गरेको हो । सभाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १० गते बुक क्लोज हुने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ६७ करोड १५ लाख रुपैयाँ रहेको छ ।

बोनसपछि अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको गत बिहीबार (मंसिर २५ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।