विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्य बनाउन मौलिकता जोगाउन आग्रह
काठमाडौं । नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताएका छन् । उनले सन् २०२७ लाई ‘वेलनेस पर्यटन वर्ष’ घोषणा गरिसकिएको उल्लेख गर्दै त्यसको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियाले नीति तथा योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । 'आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त हुने सुझावहरूले आगामी योजना निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छु,' उनले भने । त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए । उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्न सक्ने धारणा राखे । 'नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिन सक्छ । नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका उत्कृष्ट स्रोत हुन्,' उनले भने । कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एन्ड टुरिजम म्यानेजमेन्टकी सहायक डिन प्रा. डा. डेनिज क्युचकुस्ताले ‘नेपालः सेक्रेड ल्यान्ड टु वेलनेस डेस्टिनेसन’ विषयमा प्रस्तुति दिएकी थिइन् । उनले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् । उनले आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी तथा डिजिटल डिटक्स अहिलेका प्रमुख विश्वव्यापी प्रवृत्ति भएको बताइन् । 'नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्छ,' उनले भनिन् । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् । त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको बताए । 'योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,' उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए । वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याइन् । 'हाम्रो संस्कृति, खानपान र दैनिक जीवनशैलीमै मौलिक वेलनेस अभ्यास छ । हामीले अन्य देशको नक्कल गर्नु पर्दैन, आफ्नै मौलिकता जोगाउनुपर्छ,' उनले भनिन् । कार्यक्रमको सुरुवात ‘साउन्ड हिलिङ’ सत्रबाट गरिएको थियो, जहाँ विभिन्न ध्वनिमार्फत मानसिक शान्ति र ऊर्जाको अनुभूति गराइएको थियो । कार्यक्रमको सहजीकरण बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले गरेका थिए । उनले नेपाल सरकारले प्राथमिकतामा राखेको वेलनेस पर्यटन प्रवर्द्धनमा बोर्ड सक्रिय रहेको उल्लेख गर्दै विश्वले शान्ति र आरोग्य खोजिरहेको वर्तमान अवस्थामा नेपाल उत्कृष्ट वेलनेस गन्तव्य बन्न सक्ने बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेसहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक
काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् । भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको थियो । भेटवार्ताका क्रममा विश्व बैंकले नेपालको शिक्षा क्षेत्र, विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ। सो भेटमा शिक्षामन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए । ‘गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,’ मन्त्री पोखरेलले भने, ‘विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइनेछ । भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार र शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा समेत छलफल भएको थियो ।
सरकारी अस्पतालको अतिक्रमित जग्गा फिर्ता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको स्वामित्वमा रहेका अतिक्रमित जग्गा फिर्ता ल्याउन सूचना जारी गरेको छ । देशभर रहेका सरकारी अस्पतालको जग्गा अतिक्रमण गरी अनधिकृत संरचना निर्माण गरेको जानकारी आएकाले तत्काल हटाउन निर्देशन दिएको छ । मन्त्रालयले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई अतिक्रमणको विवरण संकलन गरी अतिक्रमण जग्गा फिर्ता ल्याउन निर्देशन दिएको हो । बुधबार मन्त्रालयको आन्तरिक प्रशासन शाखाबाट जारी पत्र अनुसार अस्पतालको नाममा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल आवश्यक काम अघि बढाउन भनिएको छ । मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल लगायत देशभरका २४ वटा संस्थालाई परिपत्र गरेको छ । ति स्वास्थ्य संस्थालाई मन्त्रालयले अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए/नभएको यकिन गर्न तथा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको विस्तृत विवरण तयार गर्न भनेको छ ।