मधेशदेखि कर्णालीसम्म : २५० नयाँ टावरमार्फत एनसेलको फोरजी पहुँच सुदृढ

काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।  साथै २ हजार २०० वटा टावरहरूमा क्षमता अभिवृद्धि गरेको छ । विश्वसनीय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरूसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो ।  सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विशेषगरी मधेस, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो । एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँमा पनि टावरहरू स्थापना गरिएका छन्।  यसैगरी, मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भीमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरूमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरू उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् । कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरू पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रुपमा अगाडि बढाएको थियो । नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् ।  नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो । यस विस्तारले देशव्यापी रूपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुने विश्वास कम्पनीले लिएको छ ।  एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।

एक वर्षमै त्रिभुवन विमानस्थलको आम्दानी करिब १३ अर्ब, लामिडाँडा विमानस्थलको कमाइ ७२८ रुपैयाँ मात्र

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका विमानस्थलमध्ये सबैभन्दा धेरै आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक प्रतिवेदनअनुसार उक्त विमानस्थलले एक वर्षमा १२ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको हो । यात्रु सेवाको हिसाबले पनि त्रिभुवन विमानस्थल पहिलो नम्बरमा रहेको छ । यो विमानस्थलले एक वर्षको अवधिमा ३७ लाख १८ हजार आन्तरिक र ४० लाख ९८ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धेरै आम्दानी गर्ने दोस्रो विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलले एक वर्षमा ७ लाख ९८ हजार यात्रुलाई सेवा दिएको छ ।  एक वर्षको अवधिमा तेस्रो धेरै आम्दानी गर्ने विमानस्थलमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले एक वर्षमा २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गौतमबुद्ध विमानस्थलले ६ लाख ७५ हजार यात्रुलाई आन्तरिक र १३ हजार यात्रुलाई अन्तर्राष्ट्रिय उडानबाट सेवा दिएको छ । क्यानको प्रतिवेदनअनुसार आव २०८१/८२ मा १४ विमानस्थलले करोड रुपैयाँ बराबरको आम्दानी गरेका छन् । विराटनगर विमानस्थलले एक वर्षको अवधिमा १९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।  त्यस्तै, नेपालगञ्ज विमानस्थलले १४ करोड ६० लाख रुपैयाँ, चन्द्रगढीले ८ करोड ९० लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, धनगढीले ७ करोड ३४ लाख रुपैयाँ, जनकपुरले ७ करोड १५ लाख रुपैयाँ भरतपुरले ६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  करोड आम्दानी गर्ने अन्य विमानस्थलहरुमा लुक्लाले ६ करोड २१ लाख रुपैयाँ, सिमराले ५ करोड ३६ लाख रुपैयाँ, रामेछापले १ करोड ३६ लाख रुपैयाँ, राजविराजले १ करोड ५९ लाख रुपैयाँ र सुर्खेतले ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  लाख आम्दानी गर्ने विमानस्थल  एक वर्षको अवधिमा १८ विमानस्थल कार्यालयले लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । क्यानको प्रतिवेदनअनुसार जोमसोमले ८८ लाख २० हजार रुपैयाँ, सिमकोटले ५१ लाख ७३ हजार रुपैयाँ, तुम्लिङटारले ५० लाख रुपैयाँ, फाप्लुले ४९ लाख ८ हजार रुपैयाँ, जुम्लाले २४ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेका छन् । लाख कमाउने अन्य विमानस्थलहरूमा रारा, बाजुरा, डोल्पा, दाङ, सल्ले, भोजपुर, ताप्लेजुङ, साँफेबगार, टिकापुर, खानीडाँडा, रुम्जाटार थामखर्क र रेसुंगा हुन् ।  हजारभन्दा कम आम्दानी गर्ने विमानस्थल  सबैभन्दा कम आम्दानी गर्नेमा भने खोटाङको लामिडाँडा विमानस्थल रहेको छ । लामिडाँडाले पछिल्लो एक वर्षमा ७२८ रुपैयाँ मात्रै आम्दानी गरेको क्यानको तथ्यांक छ । एक वर्षको अवधिमा बझाङ विमानस्थलले ९० हजार २६३ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, फाल्गुनन्द सुकिलुम्बाले ७६ हजार ७३१ र डोटीले ४६ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब, बैंकको ऋण घटाउँदै

काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो ।  नेपाली औषधि उद्योगको अग्रणी कम्पनीको रुपमा चिनिएको देउराली जनता सन् १९९१ मा स्थापना भएको हो । देउराली जनता फार्मास्युटिकल्सले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष खालका औषधिहरू उत्पादन गर्दै आएको छ ।  हाल कम्पनीले विभिन्न वर्गमा २५० भन्दा बढी प्रकारका औषधी उत्पादन बजारमा उपलब्ध गराइरहेको छ ।  कम्पनीले सन् २०१८ मा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ,सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ को जुलाईको मध्यसम्मको तथ्याङ्क अनुसार देउराली जनता फर्मास्युटिकल्सको करिब ७१ प्रतिशत इक्विटी सेयर कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर उनको परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा रहेको छ ।  दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकहरूसँग समन्वय गरेर व्यापार विस्तार गर्दै आएको छ ।  ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणका साथ देउराली-जन्ता फर्मास्युटिकल्सको स्थापना गरिएको हो । दीर्घकालीन रूपमा नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित कम्पनीले मानव जीवनजस्तो संवेदनशील र अमूल्य सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनलाई आफ्नो प्रमुख मिसन बनाएको कार्यकारी सञ्चालक हरिभक्त शर्माले बताए । गुणस्तरीय औषधि उत्पादनप्रतिको गहिरो प्रतिबद्धता कम्पनीको डीएनएमै रहेको र घरेलु तथा क्षेत्रीय औषधि उद्योगको अग्रपङ्क्तिमा पुर्‍याएको उनको भनाइ छ । सन् १९९१ मा ज्वरो घटाउने औषधि एन्टिबायोटिक्स र भिटामिनजस्ता उत्पादनबाट यात्रा सुरु गरेको देउराली जनताले समयक्रमसँगै आफ्नो उत्पादन दायरा निरन्तर विस्तार गर्दै आएको शर्माले बताए । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मसहितका औषधि उत्पादन गरिरहेको उनले जनाए ।  नेपालमा औषधि कम्पनीहरूको संख्या बढेसँगै प्रतिस्पर्धा पनि वृद्धि भएपनि रणनीतिक सुधार, अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग र गुणस्तरीय मानव संसाधन विकासमार्फत कम्पनीले आफ्नो अग्रणी स्थान जोगाउँदै आएको उनको भनाइ छ । उद्योगले बैंकको ऋण पनि घटाउँदै लगेको देखिन्छ । हाल उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६ करोड १० लाख रुपैयाँ लिएको छ । जबकि सन् २०२४ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ ऋण थियो । त्यसअघि सन् २०२३ मा उद्योगले १ अर्ब १७ करोड ५६ लाख रुपैयाँ ऋण लिएको थियो ।