होटल क्षेत्रमा ५ अर्ब लगानी गर्ने सिजी होल्डिङको घोषणा, १५ सयले रोजगारी पाउने
काठमाडौं, १६ बैंशाख । चौधरी समूहका अरुण चौधरीले सिजी होल्डिङ मार्फत होटल क्षेत्रमा लगानी शुरु गरेको छन् । उनले आगामी पाँच वर्षको करिब ५ सय बेड रुम क्षमताको ५ वटा होटल खोल्ने घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले ५ वटा होटलका करिव ५ अर्ब रुपैयाँ लगानी हुने र कम्तिमा १५ सय जनाले रोजगारी पाउने उनले जानकारी दिए । सीजी होल्डिङले चितवन जगतपुरस्थित टाइगर ल्याण्ड खरिद गरेर पर्यटन सेवाको क्षेत्रमा लगानी गरेको हो । झण्डै ५२ वर्ष पुरानो उक्त रिसोर्ट कतिका खरिद गरिएको हो भन्ने विषय उनले खुलाएनन् । bikashnews.com ‘३५ वटा कटेजको टाइगर ल्याण्ड खरिद गरेर हामी होटल क्षेत्रमा लगानी सुरु गरेका छौ, आगामी पाँच वर्षमा थप ४ वटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याएने छौं’ सिजी होल्डिङका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीले भने–‘नेपाली अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रमा लगानी थपिनु महत्वपूर्ण विषय हो, मूल्य प्रधान विषय होइन ।’ उनले अन्तराष्ट्रिय चेन होटल ’होलिडे इन’सँगको सहकार्यमा झम्सिखेलस्थित मारुती सुजुकीको शोरुम तथा त्यसको परिसर क्षेत्रमा दुई सय बेड रुम क्षमताको पाँच तारे होटल बनाउने घोषणा गरे । यो होटल सन् २०२० सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले बताए । त्यस्तै त्रिपुरेश्वरको राइस एण्ड बल भएको स्थानमा अर्को बिजनेश होटल स्थापना हुनेछ । यो होटलमा १२५ वटा रुम हुनेछ । यो होटल मध्यमस्तरको हुने उनले जानकारी दिए । सीजी होल्डिङले बुढानिलकण्ठमा ५० वटा कटेजको वेलनेस सेन्टर तथा पोखराको साराङ्कोटमा ८० वटा रुमको रिसोर्ट स्थापनाको तयारी समेत गरेको छ । बुढानिलकण्ठ र पोखरामा पनि हामीले जग्गा लिइसकेका छौं, अब डिजाइनको काम सुरु हुन्छ, अध्यक्ष चौधरीले बताए। पत्रकार सम्मेलनमा उनले पर्यटन उद्योगको सम्भावना धेरै भएको बताए । नेपालमा तुलनात्मक लाभ भएको क्षेत्रको रुपमा जलविद्युत, कृषि, पर्यटन क्षेत्रलाई लिने गरिएको उल्लेख गर्दै जलविद्युत र कृषिमा आफूले धेरै सम्भावना नदेखेको तर पर्यटन क्षेत्रमा सम्भावना धेरै देखेको बताए । विश्वमा चल्ले इको टुरिजम, कल्चर टुरिजम, वाइल्डलाइफ टुरिजम, स्पोर्ट टुरिजम, एडभेन्चर टुरिजम मध्ये सबै प्रकारका टुरिष्ट नेपाल आउने गरेको र सबै प्रकारका पर्यटक आर्कषित गर्न सकिने उनले बताए ।
साउनदेखि चौथो पुस्ताको फोरजी आउने
काठमाडौं, ४ चैत । साउनदेखि फोरजी सेवा सुरु हुने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले चालु आर्थिक बर्षको अन्त्यसँगै फोरजी सेवाको सुभारम्भ गर्न लागेको हो । ‘उपभोक्ताले २०७३ साल भित्रै फोरजी प्रयोग गर्न पाउँछन, साउन महिनाबाट सुरु गर्ने तयारी भैरहेको छ ।’ नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने ।प्राधिकरण फ्रिक्वेन्सी व्यवस्थापन विभागका प्रमुख विजय कुमार रोयले १८०० मेगाहर्जमा वितरण भैरहेको टुजी सर्भिसलाई टेक्नोलोजी न्युट्रल(प्रबिधी तटस्थता) गरेर पहिलो चरणमा फोरजी सेवा सुचारु गर्ने योजना रहेको बताए । हाल प्राधिकरणले नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटलाई १८०० मेगाहर्जमा फ्रिक्वेन्सी वितरण गरेको छ । नेपाल टेलिकमले १५ मेगाहर्ज, एनसेललाई ११ मेगाहर्ज र स्मार्ट तथा नेपाल स्याटेलाइटलाई क्रमशः १२ र ९ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको छ । प्राधिकरणसँग यो ब्याण्डमा ७५ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ । सोमध्ये ४७ मेगाहर्ज वितरण भैसकेको छ भने बाँकी रहेको २८ मेगाहर्ज पनि नेपाल टेलिकम र एनसेललाई थपिदिने सोँच बनाएको छ । नेपाल टेलिकमले थप पाँच मेगाहर्ज फ्रिक्वेन्सी माग गरेको छ भने एनसेलले टेलिकमकै बराबर आफुलाई पनि फ्रिक्वेन्सी चाहिने भन्दै आएको छ । २१०० मेगाहर्जमा थ्रीजी र २३०० मेगाहर्जमा वाइम्याक्स सुबिधा उपलब्ध गराउने गरि लाइसेन्स दिएको छ । १८०० मेगाहर्जलाई फोरजी र २३०० मेगाहर्जलाई मोबाइल सेवासहित एलटीई प्रबिधीमा टेक्नोलोजी न्युट्रल गराउन लागिएको हो । भ्वाईस, भिडियो, डाटा र मोबिलीटीसहितको फोरजीलाई चौथो जेनेरेशन पनि भनिन्छ । प्राधिकरणले ७०० र २६०० मेगाहर्जमा फोरजीको नयाँ फ्रिक्वेन्सी फेला पारेको छ । यसलाई टेण्डर आव्हानद्धारा वितरण गर्नेबारे परामर्शदाता मार्फत काम अघि बढिरहेको प्राधिकरणका प्रवक्ता अर्यालले बताए । पहिलो चरणमा काठमाडौं उपत्यका, पोखरा, बिराटनगर, धरान, बुटवल लगायतका शहरहरुमा फोरजी सेवा विस्तार हुने उनले बताए ।
मोबाइल चोरी भएर हैरान हुनुभएको छ ? चिन्ता नगर्नुस, अब मोबाइल चोरी हुन्न
काठमाडौं, २ बैशाख । के तपाईँ मोबाइल चोरी भएर/हराएर हैरान हुनु भएको छ ? यदि त्यस्तो हो भने चिन्ता नगर्नुस अब मोबाइल हराउने छैन् । किनकी अबको केहि समयपछि नै मोबाइल चोरी बन्द हुँदैछ । नेपाल दुर सञ्चार प्राधिकरणले सुरक्षा चुनौती घटाउन र भन्सार छलीलाई समाप्त पार्न भन्दै आइएमई नम्बर दर्ता अनिवार्य गरेसँगै मोबाइल चोरीका घट्नाको अन्त्य हुन लागेको हो । प्राधिकरणले बैशाख १ गतेदेखि नै नयाँ मोबाइल आयातका क्रममा आइएमई कोड दर्ता अनिवार्य गरिसकेको छ । अब नयाँ मोबाइल आयात गर्नु पुर्व नै सम्बन्धीत फर्महरुले ती प्रत्येक सेटको आइएमई कोडलाई प्राधिकरणबाट पुर्व स्विकृत गराउनु पर्छ । प्राधिकरणले उपलब्ध गराएको पुर्व स्विकृतिका आधारमा मात्रै मोबाइलले भन्सार प्रवेश पाउँछ । कसरी अन्त्य हुन्छ मोबाइल चोरी ? प्राधिकरणले हाललाई नयाँ मोबाइल आयातमा आइएमई कोडको पुर्व स्विकृति गरेको छ । नेपालमै रहेका पुराना मोबाइलहरुको पनि ६ महिना भित्रै आइएमई नम्बर प्राधिकरणलाई बुझाउन निर्देशन दिईसकेको छ । त्यसको अर्काे ६ महिनासम्म आइएमई नम्बर रि–रजिष्ट्रेशनको समय तोकेको छ । अर्थात अर्बको एक बर्ष भित्र नेपाल भित्र प्रयोगमा आउने सबै मोबाइलको आइएमई कोड प्राधिकरणमा दाखिला भैसक्नेछ । त्यसपछि भने चोरीका मोबाइलहरु आफैं बन्द हुनेछन् । जब चोरीका मोबाइलहरुले काम गर्न छाड्नेछन् तब मोबाइल चोरी आफैं समाप्त हुनेछ । ‘एक बर्ष भित्र सबै नेपालीका मोबाइलको आइएमई कोड हामीसँग हुनेछ, त्यतिबेला चोरी र भन्सार छलीका मोबाइल आफैं बन्द हुनेछन्, जब चोरीका मोबाइलले कामै गर्नेछैनन्, तब मोबाइल चोरी आफैं बन्द हुनेछ ।’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । भन्सार छली पनि समाप्त एक बर्ष भित्रै नेपालमा भन्सार छलेर ल्याइएका मोबाइल समेत बन्द हुनेछन् । बैशाख १ गतेबाटै भन्सारमा मोबाइलको आइएमई कोड अनिवार्य भैसकेको छ । यस अघि मोबाइल सेट र त्यसको भेरिफिकेशन मात्रै हुँदै आएको थियो । अपराध नियन्त्रणमा सहयोग सबै मोबाइलको आइएमई कोड दर्ता गरिसकेपछि अपराध नियन्त्रणमा समेत ठुलो सफलता प्राप्त हुनेछ । आइएमई कोडका माध्यमबाट मोबाइल प्रयोग कर्ताहरुको गतिबिधी नियमन गर्न सहज हुने र आपराधिक गतिबिधीलाई तुरुन्तै नियन्त्रण गर्न सकिने प्रवक्ता अर्यालले बताए । आइएमई कोड व्यवस्थापनका लागि कम्पनी खोजिँदै प्राधिकरणले तत्कालका लागि आइएमई कोडको व्यवस्थापन आफैं गरिरहेको छ । तर दिर्घकालिन व्यवस्थापनका लागि भने उसले कुनै कम्पनी आवश्यक पर्ने देखिसकेको छ । ‘प्राधिकरणले तत्कालिन व्यवस्थापन मात्रै गर्ने हो, दिर्घकालिन व्यवस्थापनका लागि टेण्डरद्धारा कम्पनी खोज्दैछौं, त्यसको तयारी सुरु भैसकेको छ ।’ प्रवक्ता अर्यालले भने ।