तिहारमा रानी पोखरी तयार हुने, सर्वसाधारणका लागि सधै खुल्ला

काठमाडौं, १९ जेठ । गत बैशाख १२ गतेको महाभूकम्पमा परि भत्किएको रानी पोखरी आगामी तिहारबाट सञ्चालनमा आउने भएको छ । ६ करोड २९ लाख रुपैंयाँ लागतमा पुननिर्माण भैरहेको रानी पोखरी आगामी भाइटीकादेखि सञ्चालनमा ल्याउन लागिएको हो । राष्ट्रय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भने– आगामी तिहारभित्रै रानी पोखरी सञ्चालनमा ल्याउने गरि निर्माण भैरहेका छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि तिहारसम्ममा रानी पोखरी तयार हुने बताए ।‘तिहारसम्ममा रानी पोखरीको पहिलो चरणको निर्माण सम्पन्न हुनेछ, त्यसपछि त्यो सर्व साधारणका लागि निरन्तर खुल्ला रहनेछ ।’, कार्कीले भने । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीलाई वियोग भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।

भुकम्पपछि पनि नेपाल सुरक्षित

काठमाडौं, १९ जेठ । अर्जेन्टिनाका प्रख्यात कलाकार जर्ज, फकुन्दो र अरना सहितको सगरमाथा आरोहीको टोलिले नेपाल भुकम्पपछि पनि पहिला जस्तै सुरक्षित रहेको जनाएका छन् । तीन देशका आरोहीहरुले यो सन्देश आ–आफनो देश सहित विश्व सामु पुर्याउन भुमिका खेल्ने बताएका छन् । बुधबार राजधानीमा पत्रकारहरुसँग भएको अन्तक्रियामा अर्जेन्टिनाका प्रख्यात अभिनेता फकुन्दो सहितको अर्जेन्टिना, मलेसिया र क्यानडाका ९ जना आरोहीले नेपाल भुकम्पपछि पनि भुकम्पअघिको जस्तै सुरक्षित रहेको अनुभव गरेको बताए । आरोही दलका सदस्यहरुले सगरमाथाको आरोहणका क्रममा नेपालमा रहँदा नेपालको अवस्था सुरक्षित र नेपालीको मनोवल उच्च पाएको भन्दै नेपाल आउन पर्यटकले कुनै पनि सन्देह लिनु नपर्ने सन्देश विश्व सामू फैलाउने विज्ञप्तिले जनाएको छ । अर्जेन्टियाली कलारका फकुन्दोले भने “नेपाल सुरक्षित रहेको सन्देश विश्व सामु लैजान र आगामी दिनमा नेपालमा सहयोग गर्न म निकै इच्छुक छु ।” उनले थपे “भुकम्पपछि पनि नेपाल यत्तिको सुरक्षित रहेछ यस्तो अवस्थामा कुनै पनि विदेशी पर्यटक नेपाल आउन असजिलो मान्नु पर्दैन । म यो सन्देश विश्वलाई दिन चाहन्छु ।” नेपाली कम्पनी ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीका प्रबन्ध निर्देशक गोविन्द गुरुङ्गले फुकन्दो जस्तो प्रख्यात व्यक्तिले नेपालका बारेमा पुर्याउने सकारात्मक सन्देशबाट देशको पर्यटन जगतले निकै फाईदा लिन सक्ने बताए । उनले नेपालबारे सकारात्मक प्रतिक्रिया दिँदा भुकम्पपछि नकारात्मक बनेको नेपालको पर्यटन जगत माथि उठ्न सजिलो हुने छ ।

नेपालगन्जमा पर्यटकको आगमन बढ्दो, गत वर्षभन्दा तीनगुना पर्यटक बढ्ने अनुमान

नेपालगन्ज, १८ जेठ । नेपालगन्जमा तिब्बतका हिन्दू धर्मावलम्बी भारतीय पर्यटकको आगमन बढ्दै गएको छ । पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको आगमन यस वर्ष नेपालगन्जमा बढ्ने अनुमान गरिएको छ । यस वर्ष कैलाश मानसरोवर जानका लागि तिब्बतततर्फको बाटो नखुलेकाले नेपालगन्ज हुँदै त्यसतर्फ जाने भारतीय पर्यटकको चाप अहिले नेपालगन्जमा ह्वात्तै बढेको पाइन्छ । नेपालगन्जका प्रायः सबै होटल अहिले कैलाश मानसरोवर जाने भारतीय पर्यटकले भरिभराउ छन् । यहाँका पर्यटन व्यवसायी प्रशान्त शाहको भनाइ छ, ‘गत वर्षभन्दा यस वर्ष तीनगुना पर्यटक बढ्ने अनुमान गरिएको छ ।’ भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएपछि यहाँका स्तरीय होटलमा सहजै कोठा पाउन पर्यटकलाई हम्मेहम्मेसमेत परेको छ । “हामी २० जनाको सङ्ख्यामा मानसरोवर जान आएका छौँ, तर स्तरीय होटल पाउन धेरै गाह्रो भएको छ”, एक भारतीय पर्यटको गुनासो थियो । त्यसैगरी, नेपालगन्ज विमानस्थलमा पनि उडान भर्न भारतीय पर्यटकको उत्तिकै चाप छ । नेपालगन्ज हुँदै हुम्लाको सीमकोटबाट तिब्बती सीमा हिल्सासम्म तीर्थयात्रु ओसार्न सिम्रिक, मनाङ र फिस्टेलका हेलिकप्टरलाई अहिले भ्याई–नभ्याई छ । त्यसैगरी, नेपाल एअरलाइन्स, तारा, गोमा, सिम्रिक, मकालु र एअर काष्ठमण्डपले पनि नेपालगन्ज–सीमकोट नियमित उडान भरिरहेका छन् । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका धेरै पर्यटक कैलाश मानसरोवर जानका लागि नेपालगन्ज आएको पाइन्छ । पछिल्ला केही वर्षको तथ्याङ्कअनुसार एक वर्षमा सरदर पाँच हजार भारतीय पर्यटक नेपालगन्ज हुँदै मानसरोवर गएका छन् । तर यो वर्ष सो सङ्ख्या बढेर करिब १५ हजार पुग्ने अनुमान गरिएको छ । रासस