घरेलु तथा साना उद्योगको प्रबर्द्धनमा सरकारको प्राथमिकता- उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन र विकासमा सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने– ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु ।’ उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने – ‘तपाईहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरुको सफलता पनि जोडिएको छ ।’ समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गर्दै उनले भने –‘साना उद्योगहरु कसरी बाँचेका छन् । समग्रमा साना व्यवसायीका समस्या के के छन पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस । अनि छलफल गरौं निकास ननिस्कने कुरै छैन ।’ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए । अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन । यो नेपालको लागि ठूलो चुनौतीको विषय बनेको बताउँदै भने-  यसका पछाडि दुई तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भईरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छन् । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्राम प्रचलित छ । साना व्यवसायीहरुको उद्योगग्राम चाहियो भन्ने माग बमोजिम उद्योगग्राम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने भनेर गरेको छ यसलाई आत्मसात गरेर अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको अध्यक्ष गिरीले बताए ।

निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले  रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीबाट मात्र सामाजिक सुरक्षा कोषले सफलता प्राप्त गर्न सक्ने  बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सामाजिक सुरक्षा काेषमलाइ सफल पार्न सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् । सामाजिक सुरक्षा कोषको पहिलो चरणमा सरकारले निजी प्रतिष्ठानबाट शुरु भएपनि आगामी दिनमा व्यक्ति तथा अनौपचारिक क्षेत्रका तथा सबै श्रमिकहरुलाई कोषको दायरामा लैजाने उनले बताए । उनले  श्रमिक तथा राेजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी रहि सुरक्षित भविष्यप्रति सजक हुन आग्रह गरे । यस्तै उप प्रधानमन्त्री ईश्वर पोखरेले सामाजिक सुरक्षा कोषको सुरुवातको समय चुनौती पुर्ण भएता पनि आगामी दिनमा सबै श्रमिक तथा रोजगारदाता कोषमा आवद्ध हुन अनिवार्य रहेको बताए । कल्याणकारी दायित्वका साथ लागेका श्रमिक तथा रोजगारदाताका विषयमा कोषले निर्माण गरेको नीति, कानुन तथा कार्यविधि लागुमा केहि समस्या देखिएपनि सबै क्षेत्रका प्रतिष्ठानसँग छलफल गरी सरकार अगाडी बढ्न चाहेको उनकाे भनाइ छ । ‘सन् २०३० सम्ममा गरिबी अन्त्यका लागि कोषले प्रमुख भूमिका खेल्ने छ’ उनले भने, श्रमिकलाइ भोक भाकै मारेर उद्योग मोटाउने तथा कम्पनी डुबाएर श्रमिक मोटाउने कार्यको गर्ने कोषको लक्ष्य नभई, श्रमप्रति कर्तव्यनिष्ठ र श्रमिकको उच्च सम्मको सहि मूल्याकंनका साथ कोषले काम गर्छ ।’ हालसम्म कोषमा १० हजार ४ सय ७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ योगदानकर्ता कोषमा सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ श्रमिक तथा रोजगारदाताको योगदान स्वरुप रकम जम्मा भएको छ । गतवर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा औपचारिक रुपमा शुरु भएको सामाजिक सुरक्षा कोष गतवर्ष मंसिर ११ गतेदेखि शुरु भएको थियो । श्रमिकको सुरक्षित भविष्यका लागि लक्षित गरि शुरु गरिएको सो कोषमा ६९ वटा जिल्लाका संघसंस्थाहरु समेठिएका छन् भने कोषबाट दुई आश्रित परिवारले सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् ।

जुत्ता मेलामा ७० प्रतिशत छुट सहित डेढ सयदेखि १० हजारसम्मका जुत्ताचप्पल

काठमाडौं । चावहिलका रामेश अधिकारी जुत्ता किन्न कहिले पनि ब्राण्डेड शोरुममा गएनन् । उनको रोजाइ भनेको भृकुटी मण्डलमा लाग्ने मेला जुत्ता मेला नै हो । वर्षमा ३ जोर जुत्ता फटाउने गरेका उनी १० वर्षदेखि भृकुटीमण्डपमा हरेक वर्ष लाग्ने जुत्ता मेला पुग्छन् र जुत्ता किन्छन् । यहि जुत्ताले उनको वर्ष धान्छ । अर्को वर्ष फेरि यहि लाग्ने जुत्ता मेलामा नै पुगेर जुत्ता खरिद गर्छन । ‘मेलामा जुत्ता किन्दा छुट पाउनुका साथै धेरै वटा ब्राण्डका जुत्ता छानिछानी एउटा छानामुनी किन्न पाइन्छ,’ उनले भने ‘मलाईमात्र होइन मेरो परिवारलाई रोजाइ पनि यहि मेला बनेको छ ।’ घरमा बस्ने चप्पलदेखि कार्यालय जाने जुत्ता, स्कुल तथा पार्टी सुज समेत उनले यहि खरिद गर्ने गरेका छन् । ५ जनाको परिवारलाई एक्कै पटक करिब २० हजार खर्च गरेपछि वर्षभरिनै जुत्ता किन्ने टेन्सन उनलाई हुँदैन । ५ वर्षयता त उनले उनका आफन्तलाई समेत यसरी नै जुत्ता खरिद गर्न लगाउने गरेका छन् । भृकुटीमण्डपको मेलामा भेटिएका उनले जुत्ताको झोला देखाउँदै भने ‘१ वर्षको लागि मैले अन्य शोरुममा जुत्ता किन्न धाउनु पदैन, मलाई विदेशी ब्राण्डेड जुत्ताभन्दा स्वदेशी उत्पादन नै मन पर्छ ।’ स्याङ्जा घर भएकी रमा नेपाली पनि जुत्ता किन्न वर्षको एक पटक भृकुटीमण्डपमा लाग्ने मेलामा नै पुग्छिन् । मेलामा सुलभ मूल्य र आकर्षक छुटका साथ जुत्ता खरिद गर्न पाउने भएकाले आफू मेलामा जुत्ता किन्न आउने गरेको बताइन् । ‘हरेक वर्ष जुत्ता मेलामा जुत्ता किन्छु,’ उनले भनिन् ‘मेलामा स्टल राख्ने व्यवसायीहरूले मलाई आफन्तजस्तै व्यवहार गर्न थालिसके ।’ नेपालका लोकप्रिय ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ता–चप्पलहरू एउटै छानामुनी पाइने भएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको आयोजकले बुझाइ छ । भृकुटी मण्डममा सञ्चालित मेलामा दैनिक १० हजार भिजिटर आउने गरेको बिएफ डियर हिलका प्रवन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिला तथा पुरुषले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल उपलब्ध छन् । १० दिने उक्त मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि १० हजारसम्मका जुत्ता उपलब्ध छन्। मेलामा १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था छ । दैनिक मेलामा करिब ५ सय जोर जुत्ता बिक्री हुने गरेको छ । नेपाली जुत्ता प्रयोग गर्ने उपभोक्ताहरू जुत्ताको सस्तो अफर सुनेर मेलामा आउने गरेका हुन् । मास पब्लिकसम्म नेपाली जुत्ता पर्याउन मेलामा आयोजना गरिएको उपाध्यायले बताए । मेलाको मुख्य उद्देश्य भनेको चाहिँ प्रचार प्रसारनै हो । जुत्ता फ्रिमा दिन सकिदैन, तर सहुलियत मूल्यमा भने दिन सकिन्छ । मेलाको उदेश्य भनेको ग्राहक महानुभावको सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएकाले यो मेला ग्राहक महानुभावको आकर्षणमा परेको हो । मेलामा राखिएका जुत्ता चप्पल फ्याक्ट्रीबाट सिधै उपभोक्तासम्म पुग्ने हुँदा निकै कम मूल्यमा उपलब्ध हुने आयोजकहरूको भनाइ छ । नेपाली उत्पादकहरूबाट उत्पादित उच्च गुणस्तरीय ५ वटा चर्चित ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । यही मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालित मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ता–चप्पल उपलब्ध छन् । उपभोक्ताले जुत्ता–चप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका उपाध्यायले सुझाव छ । जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘उपभोक्तालाई ब्राण्डेड न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्नेका लागि मेला उचित स्थान होे,’ प्रसाइले भने । मेलामा जुत्ता उत्पादक कम्पनीहरूले हिउँदंलाई लक्षित गरी उत्पादन गरेका नयाँ मोडलका जुत्ता–चप्पल समेत उपलब्ध छन् । नेपालका चलेका ब्राण्डहरूका चुत्ता–चप्पलहरू राखिएकोले ग्राहकहरूको भीड लागेको रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानले बताए । मेलामा विवाह र जाडोको सिजनलाई लक्षित थरीथरीका पार्टी सुज उपलब्ध छन । मेलामा महिला र पुरुष दुबैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध छन् । यहाँ महिला÷पुरुष दुबैका लागि सिजनल बुटहरु समेत राखिएका छन् । सरकारले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न तुलनात्मक लाभका वस्तुभित्र नेपाली जुत्ता चप्पललाई समावेश गरेपनि सरकारले गरेका नीति नियम काजगतमात्र सीमित हुँदा व्यवसायीले उचित लाभ भने पाउन सकेका छैनन् । बजारमा व्याप्त न्यूनबिजकीकरण र चोरी पैठारी कारण सरकारले स्वदेशी उत्पादनलाई दीगो रुपमा विकास गर्न गरिएका प्रयासबाट खासै उपलब्धि हासिल गर्न सकेको छैन । सरकारले नेपालमा उत्पादित जुत्तालाई संरक्षण गर्न चालु आवदेखि भन्सार महशुललाई २० बढाएर ३० प्रतिशत पुर्याएको छ । प्राविधिक जनशक्तिको अभाव, आयात प्रतिस्थापन गर्न नसक्नु जस्ता कारणले जुत्ता व्यवसायीले लक्षित उपलब्धि हासिल गर्न नसकेका हुन् । कच्चा पदार्थ नेपाल छैन । विदेशबाटै ल्याउनु पर्छ,’ व्यवसायीले भने । हाल फूड वेयरमा १ हजार ५ सय व्यवसायीले करिब ३५ अर्ब लगानी रहेको छ । वार्षिक १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार जुत्ता–चप्पलको कारोबार हुने गरेको छ । नेपाली बजारमा खपत हुने चुत्ता–चप्पलमध्ये ६० प्रतिशत स्वदेशी उत्पादन हो भने वाँकी ४० प्रतिशत अहिले पनि विदेशी हुन् । पछिल्लो समय जुत्ता प्रयोग हुने ५० प्रतिशत सोल र अन्य म्याटरियल समेत नेपालमै बन्ने गरेको छ । पछिल्लो समय जुत्ताको मूल्य बढेको छ भने गुणस्तर सोही अनुसार बढ्न नसकेको व्यवसायीको गुनासो छ ।