‘कामचोर’ प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्री यादवको निर्देशन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिएका हुन् । “नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ”, उनले भने, “नेपाल सरकारको नीति नियम र कानूनभित्र बसेर स्वतन्त्र, निश्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ ।” मन्त्री यादवले भने, “अहिलेको सरकारलाई जनताले दुई तिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ । त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईहरुको साथ सहयोग जरुरी छ । त्यसैले तपाईहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईहरुको साथमा रहनेछ ।” रासस

ट्याक्सी सेवा प्रविधिमैत्री बन्दै, ट्याक्सीमाण्डू एपको शुभारम्भ

काठमाडौं । यात्रुहरूकाे मागलाई मध्यनजर गर्दै ट्याक्सीमाण्डुले प्रविधीयुक्त एपकाे सुभारम्भ गरेकाे छ । काठमाडाैंमा बिहिबार पत्रकार सम्मेलन गर्दै ट्याक्सीमाण्डु एपको शुभारम्भ गरिएकाे हाे । सुरक्षित महशुस गर्दै समयमा गन्तव्य पुगौँ (फिल सेफ राइड अन टाइम) भन्ने नाराका साथमा एप नेपाली बजारमा ल्याइएको संस्थाले जनाएकाे छ । एपको शुभारम्भको अवसरमा बोल्दै ट्याक्सीमाण्डुका डाइरेक्टर विजय तिमल्सिनाले चालक र यात्रुले एक अर्कोलाई कुर्ने दिन सकिएको बताए । साथै, एप समेत सामान्य किसिमको भएकाले सहजै प्रयोग गर्न सकिने जानकारी दिए । ट्याक्सीमाण्डुका एमडी अर्जुन के.सी.ले विश्व प्रविधि मैत्री बन्दै गएको अवस्थामा नेपाली प्रविधिको सेवा सुविधामा वृद्धी गर्न आवश्यक रहेको बताए । आगामी दिनमा ट्याक्सीका ग्राहक तथा ड्राइभरहरूले एक अर्कालाई भेट्न सहज हुने एपको उदेश्य छ ।  अन्य एप जस्तै एन्ड्रोइड मोवाइल सेटका ग्राहकहरूले प्लेस्टोर मार्फत ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्ने छन् । यस्तै, एप्पलका ग्राहकहरूले एप्स स्टोर्स मार्फत सो एप डाउनलोड गर्न सक्ने छन् । चालक र यात्रुका लागि छुट्टै किसिमको एप रहेका छन् । यात्रु एप र प्यासेन्जर एप गरेर २ किसिमका एम रहेका छन् । एपको प्रयोगबाट ट्याक्सीमा हुने अपराधिक घटनामा कमी हुने अनुमान गरिएको छ । ह्याम्स अस्पताल र ईसेवाबीच सहकार्य गरेको केसीले बताए । भिजिट नेपाल ट्वान्टी ट्वान्टीको उदेश्य भेट्न एप सहयोगी हुने अनुमान गरिएको छ । अधिकाशं पर्यटकले ट्याक्सीको माध्यमबाट नै आफ्नो यात्रा तय गर्ने भएकाले सो अनुमान गरिएको हो । ट्याक्सीमाण्डुले उपत्यका भित्रका पर्यटकहरुको यात्रालाई सुरक्षित बनाउने जानकारी दिइएको छ ।

‘नव उद्यमी सम्मेलन’ मङ्सिर २९ गते काठमाडौँमा  हुँदै, करिब ८०० उद्यमी सहभागी 

काठमाडौं । मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रबर्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करिब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी तथा विदेशी उद्यमीले आवश्यक देखेमा थप व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने कार्यक्रमका संयोजक कवीराज जोशीले जानकारी दिए । सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नव उद्यमीलाई व्यवसाय प्नबर्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याएको जनाइएको छ । मुलुकमा बढदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ नयाँ उद्यमशिलताको खाँचो रहेको उल्लेख गर्दै यस क्षेत्रले रोजगारीको सिर्जना गरी स्वदेशी उत्पादनलाई उपभोक्तासम्म सहजै पुर्याउने हुँदा यसले अर्थतन्त्रलाई गतिशिल बनाउने संयोजक जोशीले बताए ।