डिएफआइडीद्धारा झन्डै साढे चार अर्ब अनुदान सहयोग
काठमाडौं, १३ साउन । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ४८ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरेका छन् । कार्यक्रमअन्तर्गत प्राविधिक एवम् प्रत्यक्ष वित्तीय सहायता उपलब्ध गराई सीप विकासमा खर्च गरिनेछ । विशेष गरी महिला तथा पीडित वर्गको सीप विकासमा खर्च गरिने उक्त कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले कार्यान्वयन गर्नेछ । नेपाल सरकारले लागू गरेको वैदेशिक सहायता नीतिअनुरुप प्राप्त हुने उक्त अनुदान खासगरी भूकम्पपछिको पुनःनिर्माण एवम् उत्कृष्ट निर्माणमा केन्द्रित रहनेछ । उक्त कार्यक्रमका निम्ति सात हजारभन्दा बढी डकर्मीलाई तालिम दिइनेछ । कार्यक्रममा सहसचिव अर्यालले २०० वर्षदेखिको नेपाल–संयुक्त अधिराज्य सम्बन्ध पारस्परिक विकासमा सहयोगी रहेको चर्चा गर्दै भविष्यमा पनि नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहायता प्राप्त हुने विश्वास व्यक्त गरे। डिएफआइडीका प्रमुख गेलले बर्सेनि चार लाख श्रमिक श्रम बजारमा आउने गरेका तथ्याङ्क प्रस्तुत गर्दै उनीहरुलाई स्वदेशमै सीप सिकाउने कार्यक्रमको लक्ष्य रहेको बताए । विदेश जान चाहने कामदारका लागि पनि सीप विकास कार्यक्रम फलदायी हुने विश्वास उनले व्यक्त गरेका छन् । रासस
पुनःनिर्माण मन्त्रालयद्धारा १४७१८ द्वन्द्व पीडितलाई तालिम
काठमाडौं, १३ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडित १४ हजार ७१८ जनालाई सीपमूलक तालिम उपलब्ध गराएको छ । मन्त्रालयद्वारा व्यावसायिक रुपमा सिलाइबुनाइ, सौन्दर्य कलासम्बन्धी, फर्निचर, प्लम्बिङ, हाउस वायरिङलगायत तालिम उपलब्ध गराइएको हो । मुलुकमा सशस्त्र द्वन्द्वका समयमा सरकार तथा विद्रोही पक्षबाट पीडित भएका नागरिकलाई सीपमूलक शिक्षा दिएर उनीहरुलाई जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले व्यावसायिक तालिम प्रदान गरिएको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद खरेलले बताए। उनले ती व्यावसायिक तालिम दिनका लागि मन्त्रालयले करिब रु चार करोड ६ लाख खर्च गरेको जानकारी दिए । मुलुकमा विसं २०५२ देखि करिब १० वर्ष सशस्त्र द्वन्द्व भएको थियो । रासस
नेपाल बैंकमा ८१ जनालाई जागिर खुल्यो
काठमाडौं, १३ साउन । नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागि जागिर खुलेको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गर्दै खल्ला तथा समावेशी कोटामा ८१ जनाका लागि दरखास्त आव्हान गरेको हो । बैंकले प्रकाशित गरेको सूचना अनुसार उप प्रबन्धक(कानुन) एक जना, सहायक प्रबन्धक(आइटी) खुल्लामा ३ जना, महिला, आदीवासी/जनजाति र मधेशी एक/एक जनाका लागि जागिर खुलेको हो । त्यस्नै आइटीकै बरिष्ठ सहायक खुलला तर्फ ६ जना मागिएको छ भने महिला २, आदीवासी/जनजाति, मधेशी र दलित एक/एक जनाका लागि दरखास्त आव्हान गरिएको छ । सहायक तर्फ खुल्लामा ३५ जना, महिला ९ जना, आादिवासी/जनजाति ८ जना, मधेशी ६ जना, दतिल ३ जना र अपांग तथा पिछडिएको क्षेत्रबाट एक जनाका लागि दरखास्त आव्हान गरिएको हो । व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातक गरेकादेखि कम्प्युटर तथा सूचना प्रबिधी बिषयमा बिसिआइएस, बिआइएम बराबरको कोर्ष तथा कानुनमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् । नेपाल बैंकले १५ दिनभित्र आवेदन भरिसक्न भनेको छ ।