काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई जागिर खुलाउँदै, लोकसेवा आयोगले दियो स्विकृति
काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकाको व्यवस्थित विकासका लागि भन्दै गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई तत्कालै रोजगार दिने भएको छ । प्राधिकरणको कर्मचारी विनियमावलीलाई लोकसेवा आयोगले समेत स्विकृति दिइसकेको विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजलाई जानकारी दिए । ‘प्राधिकरणको कर्मचारी सम्बन्धी विनियमावलीलाई लोकसेवा आयोगले स्विकृति दिईसकेको छ, प्राधिकरणको भौतिक विकास समितिको आगामी बैठकबाट पारित गरेर आवेदन खुल्ला गर्छाै’, तिवारीले भने । उनले नयाँ कर्मचारी नियुक्तीसँगै प्राधिकरणले पुनर्जिवन प्राप्त गर्ने दावी गरे । ‘अहिले प्राधिकरणको कर्मचारी म एक्लै छु, बाँकी सबै कोहि काजका छन भने कोहि करारमा नियुक्त गरिएका छन्’, तिवारीले गुनासो पोखे । काज र करारका सिमित कर्मचारीका भरमा प्राधिकरणले सोचे जस्तो काम गर्न नसकेको पनि उनले बताए । ‘काज र करारका सिमित कर्मचारीका साथमा काम गरिरहेका थियौं, आफ्नै दरबन्दीमा कर्मचारी नियुक्त गरिएपछि कामको रफ्तार बढ्नेछ, उपत्यकाको विकास निर्माणले तिब्र गति पाउने छ’, तिवारीले भने । उनले कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी नियुक्त गरिने बताए ।‘कार्यालय सहयोगीदेखि इञ्जिनियर, आर्किटेक्ट, लेखापाल हुँदै सहसचिवसम्मको दरबन्दी पाएका छौं, सोही अनुसार नियुक्ती प्रक्रिया अघि बढ्छ’, तिवारीले सुनाए । हाल प्राधिकरणको विकास आयुक्तको कार्यालयका अवला काठमाडौं, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लाको सडक विस्तार तथा व्यवस्थित शहरीकरण र हरियाली प्रवद्र्धनमा काम गरिरहेको छ ।
राष्ट्रिय बाणिज्य बैंकमा १४ जनालाई जागिर खुल्यो
काठमाडौं, २३ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा १४ जनाका लागि जागिर खुलेको छ । बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा १४ जनाका लागि आवेदन मागेको हो । बैंकका अनुसार मुख्य प्रबन्धक एक जना, बरिष्ठ प्रबन्धक २ जना, प्रबन्धक ३ जना, सूचना प्रबिधी प्रबन्धक एक जना, उप प्रबन्धक ६ जना र लेखा तर्फको उपप्रबन्धक १ जनाको लागि आवेदन मागिएको हो । चाटर्ड एकाउण्टेन्टदेखि प्रमथ श्रेणीमा स्नातकोत्तर उतिर्णहरुले आवेदन दिन सक्नेछन् । मंसिर २९ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ ।
सुरक्षा निकायको जागिर न्यून आकर्षण, प्रशासनिकको तुलनामा ३४ गुणा कम आवेदन
काठमाडौं २१, कात्तिक । सार्वजनिक प्रशासनको तुलनामा सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ । सुरक्षा निकायको भर्नामा तुलनात्मक रूपमा थोरै मात्र आवेदन पर्ने गरेको छ । निजामती प्रशासनको भर्नामा सयौँ गुना बढी आवेदन पर्ने गरेको छ । गत वर्ष लोकसेवा आयोगले ४ सय ८५ जना नायब सुब्बा माग गरेकोमा ३ सय ३५ गुना बढी आवेदन परेको थियो । तर, नेपाल प्रहरीले ५ सय ५१ जना असइ माग गरेकोमा ३४ गुना बढी अर्थात् १८ हजार ९ सय ६६ जनाको मात्र आवेदन परेको थियो। नेपाली सेनामा एक सय ५० सेकेन्ड लेफ्टिनेन्ट माग भएकोमा एक हजार ४ सय २२ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीले सोही तहको असईमा ३६ जनाको माग गर्दा ४ हजार एक सय ३१ आवेदन परेको थियो । नेपाल प्रहरीले ८९ जना इन्सपेक्टर माग गरेकोमा २ हजार ८ सय ५४ जनाले मात्र आवेदन दिए । त्यस्तै, ५ सय ५१ जना असई माग गरेकोमा १८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बलमा ५४ जना इन्स्पेक्टरको माग भएकोमा एक हजार २ सय ४१ आवेदन परेको थियो । असईमा ३६ जनाको माग भएकोमा ४ हजार एक सय ३१ आवेदन परेको थियो । सुरक्षा निकायको तुलनामा निजामती सेवाको भर्नामा उमेर हद फराकिलो हुन्छ । त्यसबाहेक पनि सुरक्षा निकायको जागिर बढी कठिन हुने, करिअर अनिश्चित हुने र निष्पक्ष भर्ना प्रणालीमा विश्वास कम भएकाले आवेदन न्यून पर्ने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल प्रहरीमा निश्चित उमेरहदसम्म मात्र आवेदन दिन पाइने भएकाले निजामतीको भन्दा कम आवेदन पर्ने बताउँछन् । ‘प्रहरीमा भर्ना हुने शारीरिक रूपमा पनि दुरुस्त हुनुपर्छ, सबैजना त्यसका लागि सक्षम हुँदैनन्, त्यसकारण पनि आवेदन कम परेको हुनसक्छ,’ उनले भने । नेपाल प्रहरीले तुलनात्मक रूपमा भर्नामा आवेदन नपरेपछि गत वर्ष प्रहरीको जागिरप्रति आकर्षण बढाउन डकुमेन्ट्री नै बनाएको थियो । नयाँ पत्रिका दैनिकबाट ।