शिक्षकबाट अवकासपछिको तलब फिर्ता, तीन वर्षमा पाँच सय शिक्षकबाट सात करोड असुल

काठमाडौं २९, असोज । विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ । कान्तिपुर दैनिकबाट ।

कतारमा कामदारलाई कानुन खुकुलो, रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ कानुन लागू हुने

काठमाडौं २८, असोज । कतारमा रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ । नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ । उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिक जानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति (क्यूएनए) ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ । आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ । समाचार स्रोत कान्तिपुर दैनिक ।

म्यानपावरले अब एजेन्ट राख्न नपाउने, एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी धेरै

काठमाडौं १८, असोज ।  वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको समाचार मंगलबारको करोबारमा दैनिकमा छापिएको छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगारविद् डा गणेश गुरुङले गरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबाट ठगिने गरेको देखिएको थियो।