वाणिज्य बैंकको पुँजी ५ अर्बमा झारौं, बढी बच्चा जन्माउनेलाई ५ लाख बाढाैं
काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले वाणिज्य बैंकको पुँजी घटाउनुपर्ने धारणा राखेका छन् । सामेबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले छलफलमा प्रश्न गर्दै भने, ‘विधेयक जनताको फाइदाका लागि छ कि व्यक्तिको लागि ? ८ अर्ब लगानी गरेपछि वाणिज्य बैंक खोल्न पाउने व्यवस्था सिण्डिकेट हो, ८ अर्बको सट्टा ५ गर्ने कि ६ गर्ने ? तर बैंकको चुक्ता पुँजी घटाउनुपर्छ,’ उनले भने । सांसद तामाङका अनुसार तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल गभर्नर हुँदा सिण्डिकेट भएको धारणा राखे । ‘बैंकको पुँजी ८ अर्ब किन चाहियो ? ५ अर्बले चलाउन सकिन्छ । नयाँ गभर्नरको पालोमा सिण्डिकेट हटाउनुपर्छ,’ उनले भने । सिण्डिकेट हटाइएन भने बैंकले जनताको सम्पत्ति लुट्ने उनले अभिव्यक्ति दिए । ‘बैंक र बीमामा तीन पुस्ते नागरिकता भएको देखिँदैन, यो गलत हो,’ उनले भने । यस्तै, उनले विकास बैंकलाई प्रतितपत्र (एलसी) र बैंक ग्यारेन्टी खोल्न दिनुपर्ने धारणा राखे । ‘विकास बैंकसँग पनि धेरै पैसा छ । धान्न सक्नेलाई दिनुपर्छ । उसले पनि प्रतिस्पर्धामा आउन पाउनुपर्छ,’ उनले भने । उनले सरकारले नीतिगत रुपमा जनताको लागि फाइदा र देश र जनतालाई बचाउने काम गर्नुपर्ने बताए । ‘बैंकले कोरोनाको बेला पनि ब्याज छुट दिएन । भूकम्पको बेला पनि दिएन । हामीले पनि घरभाडा दिँदा एक महिनाको छुट दिएको छौं । तर, बैंकले छुट दिएन, ७० प्रतिशत मानिसको बैंकले हातखुट्टा बाँधेर राखेको छ, घरजग्गा बैंकमा धितोका रुपमा छ,’ उनले भने । यस्तै, सांसद तामाङले अब बुढापाकाको मृत्यु हुने र युवा पुस्ता विदेसिँदा देश खाली हुने स्थिति बनेको सुनाए । ‘युवा विदेश गइरहेको छ, अब बढी बच्चा जन्माउने नीति ल्याउनुपर्छ, दुइटा भन्दा बढी बच्चा जन्माउनेलाई ५ लाख पैसा बाड्ने र बीमा निःशुल्क गरिदिनुपर्छ । जनता बढाउनका लागि यस्ता नीति नियम ल्याउनुपर्छ,’ उनले भने, ‘व्यक्ति बन्ने नीतिमा म सपोर्ट गर्नेवाला छैन, जनता बन्नुपर्छ ।’
सार्वजनिक यातायात ठप्प, चर्को गर्मीमा यात्रुलाई सास्ती
काठमाडौं । यातायात व्यवसायीले सोमबार सार्वजनिक यातायात ठप्प पार्दा यात्रु अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरिका सार्वजनिक यातायात ठप्प पारेका हुन् । सार्वजनिक यातायात ठप्प हुँदा काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । सार्वजनिक यातायात नचल्दा यात्रुहरू अलपत्र परेका छन् । सोमबार काठमाडौंका सडकमा निजी सवारी साधन मात्रै गुडिरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार व्यवसायीले गाडी नचलाउँदा सडकमा निजी सवारीसाधनमात्रै गुडिरहेका छन् । सार्वजनिक गाडी नचल्दा बस स्टेशनमा पुगेका यात्रुहरू अलपत्र परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समिति को आह्वानमा आजदेखि देशभर सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्किएका हुन् । अनिश्चितकालीन चक्काजामको घोषणा भएसँगै विशेषगरी काठमाडौं उपत्यकामा यात्रुहरू ठूलो समस्यामा परेका छन् । सार्वजनिक सवारी ठप्प हुँदा स्कुल जाने विद्यार्थी, कार्यालय गइरहेका कर्मचारी तथा अस्पताल जानुपर्ने बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । वैकल्पिक सवारीसाधन सीमित हुँदा अधिकांश यात्रुहरू पैदल यात्राबाट गन्तव्यतर्फ लागेका छन् । यातायात व्यवसायीहरूले ट्राफिक र प्रहरी प्रशासनमाथि व्यवसायी तथा मजदुरहरूलाई दमन र ज्यादती गर्दै आएको आरोप लगाउँदै आन्दोलन सुरु गरेका हुन् । नेपाल यातायात मजदुर संघका अध्यक्ष रवि केसी भन्छन्, ‘सरकार र ट्राफिक प्रशासनको निरन्तरको दमनका कारण हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’ व्यवसायीहरूले पठाओ, इनड्राइभ लगायतका राइड सेयरिङ सेवा तथा ‘सेल्फ ड्राइभ’ प्रणालीविरुद्ध कडाइ गर्न माग गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलनाथ खनालले आन्दोलन आफ्नो अस्तित्व र अधिकारको रक्षाका लागि गरिएको बताए । ‘सार्वजनिक यातायात मात्रै होइन, हामी नभए राज्यको प्रणाली नै ठप्प हुन्छ,’ उनले भने, ‘सरकारले माग सम्बोधन गरेन भने आन्दोलन झन चर्किनेछ ।’ राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनसम्बन्धी सरकारी निर्णयको विरोधमा चक्काजाम आह्वान गरिएको हो । गण्डकी प्रदेश सरकारले ल्याएको सोसम्बन्धी नियमावलीप्रति व्यवसायीहरू आक्रोशित छन् । यस विषयमा आज गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच छलफल जारी छ ।
राजावादीले भोलि काठमाडौं बन्द गर्ने, आन्दोलन चर्काउने घोषणा
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्द गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले सरकारले आफ्नो प्रदर्शनमाथि दमन गरेको भन्दै सोमबार काठमाडौं उपत्यका बन्द गरेर आन्दोलनको स्वरुप परिवतर्न गर्ने घोषणा गरेको हो । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं, यसै क्रममा जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं, उपत्यका बन्दको क्रममा आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीमा आव्हान गर्दछु,’ समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । अहिले राजावादीहरुले जेठ १५ देखि आन्दोलनका अनिश्चित कार्यक्रम निर्धारण गरेका छन् । आइतबार पनि उनीहरुले नक्साल–नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए ।