नयाँ ल्यापटप किन्दै हुनु हुन्छ, यि सिरिजका ल्यापटप केहि फरक छन्
काठमाडौं, १८ साउन। ल्यापटप किन्न जाँदा सबैमा आउने दुविधा हो, कुन कम्पनीको ल्यापटप किन्ने? र्याम, हार्ड डिस्क कति चाहिन्छ? प्रसोसर कस्तो हुनुपर्छ? कामको प्रकृती हेरर यी ल्यापटका यी विशेषत तय गर्न सकिन्छ। सामान्य प्रयोगको लागि २ जीबी र्याम वा ४ जीबी र ग्राफिक्स र प्रोगार्मिङको लागि हो भने ८ वा १६ जीबीका र्याम सहितको ल्यापटप उपयुक्त हुन्छ। ल्यापटपमा बढी भन्दा बढी डाटा, फिल्म तथा गित स्टोर गरिन्छ भने अलिबढी क्षमताकै हार्डडिस्क उपयुक्त हुन्छ। प्रोसेसर पनि र्याम अनुसार नै तय गरिन्छ। क्यालकुलेसन (जस्तै एनिमेसन, प्रोग्रामिङ) बढी गरिन्छ भने प्रोसेसर पनि नयाँ जेनेरेसनका शक्तिशाली नै खोजिन्छ। यहाँ ७ ल्यापटपको बारेमा चर्चा गरिएको छ। Dell Inspiron 15 7000 Series ल्यापटपमा गेम खेल्न रुचाउने र व्यावसायिक काम गर्ने दुवै प्रयोगकर्तालाई यो ल्यापटपले निराश बनाउदैन। टच स्क्रिस विशेषता सहित किन्न पाइने यो ल्यापटपमा कोर i5 र I7 प्रोसेसर राखिएको छ। यसमा १६ जीबी र्याम अनि एनभिडिया जिफोर्स GTX 960M GPU, १२८GB SSD सहित १ टिबीको हार्ड डिक्स रहेको छ। Dell Alienware 15 हेभी ग्राफिक्स ह्यान्डल गर्न सक्ने यो ल्यापटप विन्डोज १० अपरेटिङ सिस्टम सहित बजारमा उपलब्ध छ। यसमा १६ जीबी र्याब, इन्टेल कोर स्काइलेक प्रोसेसर र १ टिबी हार्ड डिस्क रहेको छ। अन्यमा भन्दा यसमा बढी पोर्ट र राम्रो क्यामेरा जडान गरिएको छ। XPS 13 Laptop डेलको अर्को यो ल्यापटप पनि विन्डोन १० सहित उपलब्ध छ। १३.३ इन्च QHD+ रिजोलुसन डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर सहित यसमा ८ जीबी र्याम 256 GB SSD राखिएको छ। यसको इन्फाइनाइट एज डिस्प्ले प्रयोगकर्ताले नौलो अनुभव पाउँछन्। HP Spectre 13 एचपीको यो नयाँ ल्यापटप कम्पनीले विश्वकै पातलो रहेको दाबी गरेको छ। १३ इन्चको फुल एचडी डिस्प्ले, इन्टेल स्काईलेक प्रोसेसर, विन्डोज १० सहित आउने यो ल्यापटपमा ८ जीबी र्याम राखिएको छ। Acer Predator G9-792 एसरका ल्यापटपले पनि राम्रै बजार लिएको छ। १७ इन्चको डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर र ६४ जिबीसम्मको र्याम, १ टिबी हार्डडिस्क, विन्डोज १० सहित आउने ल्यापटपमा एनभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड लगाइएको छ। Asus ZenBook Pro UX501VW ताइवानी कम्पनीको यो ल्यापटपमा १५.६ इन्चको अल्ट्रा एचडी डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर, १६ जिबी र्याम, ५१२ जिबी हार्ड डिस्क र एभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड जडान गरिएको छ। Apple Macbook Pro इन्डस्ट्रीकै उत्कृष्ट ल्यापटपमा पर्ने एप्पलको म्याकबुक प्रोमा १६ जिबी र्याम, ५१२ जिबी हार्डडिस्क, १५.४ इन्च रेटिना डिस्प्ले, इन्टेल कोर i7 प्रोसेसर, एचडी रिजोलुसन क्यामेरा सहित मेटलको बडीले सुसज्जित गरिएको छ।
४२ रोपनीमा फैलिएर यस्तो बन्दैछ धरहरा
काठमाडौं, १७ साउन । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज यहाँ भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरियो । तीन अर्ब रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ । उक्त प्रस्ताव तयार पारेका वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताए । भित्री भागमा केही व्यापारिक केन्द्र हुने भए पनि बाहिरी स्वरुप पुरानै धरहराको रहने छ । पुरानो धरहराको अवशेषलाई नछोइकन त्यसैको अगाडिपट्टि नयाँ धरहरा बनाइने छ । नयाँ धरहरा क्षेत्रमा छिर्ने बित्तिकै बगैँचा देख्न सकिनेछ । बगैँचा वरिपरि बस्न मिल्ने र पानी परेका बेला ओत लाग्ने ठाउँ समेत राखिएको छ । नयाँ धरहरा क्षेत्रमा सुन्धारा समेत पर्ने भएकाले यसलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुन्धाराको धाराबाट पानी बग्नेछ र अहिले रहेकै ठाउँ पानीले भरिनेछ भने सुन्धाराको तीनतिरको छेउछेउ भ¥याङ राखी अवलोकनकर्तालाई फोटो खिच्ने ठाउँ छाडिनेछ । यसले त्यस क्षेत्रमा पर्यटकको आकर्षण अझ बढी रहने विश्वास गर्न सकिन्छ । धरहरा छिर्ने बाटो हुँदै अगाडि बढ्दा छेउमा ५० फिटको पानीको फोहरा पनि देख्न सकिन्छ, जसबाट २४ घन्टा पानी प्रवाह हुन्छ । द्वारबाट भित्र छिरेपछि ‘अन्डरग्राउन्ड’ मा इलेक्ट्रिक भ¥याङ् हुँदै तल झर्नुपर्ने हुन्छ । तल रहेको लिफ्टबाट सिधैँ धरहराको टुप्पोमा पुग्न सकिन्छ । पहिलेकै स्वरुपमा तयार पारिएकाले अहिले निर्माण गर्न लागिएको धरहरामा पनि ११ तला रहेको छ । धरहराबाट ८० प्रतिशत ‘भ्यू’ देखिने ‘ग्लास’ समेत राखिनेछ । धरहरामा प्रकाशको राम्रो व्यवस्था गरिने भएकाले साँझ यहाँ झलमल्ल हुन्छ । धरहराको उत्तरपट्टि तीन तले अत्याधुनिक ‘अन्डरग्राउन्ड पार्किङ’ को निर्माण गरिने छ । एकसय ३४ वटा गाडी अट्ने उक्त पार्किङ् क्षेत्रमा छिर्ने र निस्कने बाटो समेत छुट्टै तयार पारिएको छ । धराहरा चढ्न ‘लिफ्ट’ वास्तुकार पन्थीका अनुसार नयाँ धरहरा अपाङ्गता भएकालाई समेत ध्यानमा राखेर निर्माण गरिएकाले कसैले पनि धरहरा चढ्न पाइँन भनेर गुनासो गर्नुपर्ने छैन । दुई वटा लिफ्टको व्यवस्था गरिएकाले १०/१० जनाले एकै पटक धरहरा चढ्न सक्नेछन् । धरहराभित्रै थियटर पुरानो धरहराको इतिहास र अहिलेसम्मको अवस्थाबारे अवलोकनकर्तालाई जानकारी दिन नयाँ धरहराभित्रै ‘मिनी थियटर’ को व्यवस्था गरिने छ । उक्त मिनी थियटरमा भीमसेन थापा, महारानी त्रिपुरासुन्दरीले निर्माण गराएको धरहरा, धरहरा निर्माणको इतिहास, भत्किएपछिको अवस्थालगायतको १५ मिनेटको वृत्तचित्र समेत देखाइने छ । थियटरको २० जनासम्म अट्ने क्षमता छ । धरहरा क्षेत्रमा सङ्ग्रहालय इतिहासलाई जीवन्त राख्ने र नयाँ पिँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिनेछ । पचास वर्ग फिटको क्षेत्रमा निर्माण गरिने उक्त सङ्ग्रहालयमा नेपालमा मुद्रा बनाउन प्रयोग गरिएका विभिन्न मेसिन प्रदर्शनीमा राखिनेछ । धरहरामा छिर्ने बित्तिकै सङ्ग्रहालय नदेखिने भएकाले उक्त सङ्ग्रहालय हेर्न अवलोकनकर्ताले एकछिन भए पनि चारैतिर खोज्नैपर्ने छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा आफ्नो दरबार लगनटोलमा पहिलो पटक धरहरा बनाउन लगाएका थिए । यो धरहरा बनाएको अर्को वर्ष अर्थात् विसं १८८२ मा महारानी त्रिपुरासुन्दरीले अहिले धरहरा रहेको स्थानमा धरहरा बनाउन लगाइन् । विसं १८९० को भूकम्पले भीमसेन थापाले बनाएको धरहरा चर्किएको भए पनि रानीले बनाउन लगाएको धरहरामा भने केही भएको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रेक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताए । ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने अभियानअन्तर्गत एक करोड ९५ लाख रुपैयाँ सङ्कलन भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले भने – “धरहरा निर्माणका लागि लाग्ने रु तीन अर्बमध्ये सर्वसाधारणबाट सङ्कलन भएर पनि नपुगे जति रकम नेपाल टेलिकमले बेहोर्ने छ ।” उनका अनुसार निर्माणपछि धरहरा क्षेत्र पशुपतिपछिको सबैभन्दा आकर्षक पर्यटकीय ठाउँ बन्नेछ । रासस
ग्लोबल आइएमई बैंकको बाग्लुङ्ग र अर्घाखाँचीमा शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं, १६ साउन । ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवाको सञ्चालन गरेको छ । बैंकले बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ सो स्थानमा शाखा सञ्चालन गरेको हो । उक्त कार्यक्रममा बैंकले व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पिओएस मेसिन हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ्ग सेवाहरुको सुरुवात गरिएको थियो । बाग्लुङ्ग जिल्लाको भिमगिठेमा सुरुवात गरिएको सेवाको संचालनका लागि स्थानिय व्यवसायी हरिचन्द्र खत्रि तथा अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरुवात गरिएको सेवा सञ्चालनका लागि स्थानिय धनिश्वर पाण्डेलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरु गरिएका सेवा सँगै बैंकका शाखारहित बैंकिङ्ग सेवा ४२ वटा पुगेका छन् । सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा पुर्याउदै आइरहेको छ । हालसम्म बैंकले ९१ वटा शाखा, १०० वटा एटिएम, ४२ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।