आइफोन ७ को मोडेल र फोटो लिक भयो, हेर्नुहोस मूल्यसहित तस्विर
काठमाडौं , ३१ असार । एप्पलको आगामी उत्पादन आइ फोन सेभेन, आइफोन सेभेन प्लस र आइ फोन सेभेन प्रो सेप्टेम्बरमा रिलिज हुँदैछ। चाइनाको लोकप्रिय सामाजिक सञ्जाल विबोले तीन मोडलका मोबाइको मूल्यसूचीसहित फोटाहरु सार्वजनिक गरेको छ। विबोले सार्वजनिक गरेअनुसार ३२ जिवीको आइफोन ७ को मूल्य चिनियाँ मुद्रा युआन ५ हजार २ सय ८८ अर्थात् ८४ हजार ६ सय रुपैयाँ पर्न आउँछ। यो नेपाली बजारमा उपलब्ध हुने मूल्य भने होइन। यस करहरु तथा डिलरले लिने कमिसन अतिरिक्त रहन्छ। ६५ जिवीको आइफोन सेभेनको मूल्य ६०८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ पर्नेछ। २ सय ५६ जिवीको लिने हो भने ७१ हजार १८ युआन यानि १ लाख १३ हजार ६ सय रुपैयाँ पर्नेछ। आइफोन ७ प्लसको ३२ जिवीको मूल्य ६ हजार ८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ र १ सय २८ जिवीको र २ सय ५६ जिवीको क्रमश: ६८८८ युआन (१ लाख १० हजार २ सय रुपैयाँ) र ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) पर्ने जनाइएको छ। तेस्रो र सबैभन्दा महँगो मानिएको आइफोन सेभेन प्रोको ३२ जिवीको मूल्य ७०८८ युआन (१ लाख १३ हजार ७ सय रुपैयाँ), १ सय २८ जिवीका लागि ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) र २५६ जिवीका लागि ८८८२ (१ लाख ४२ हजार २ सय रुपैयाँ) पर्नेछ। हरेक वर्ष एप्पलले जारी गर्ने स्मार्टफोनको मूल्यसँग यसपाला लिकेज भएको मूल्य सूची मिल्दो छ। आइफोन ७ बारे लिक भएको सूचनाअनुसार यसमा होम बटन र ३.५ एमम हेडफोन ज्याक रहने छैन। वाटरप्रुफ च्यासिस रहने अपेक्षा गरिएको छ भने आइफोन ७ प्लसमा डुअल क्यामरा इमेजिङ सिस्टम रहने अपेक्षा गरिएको छ। र यसमा ३ जिवी र्याम रहने बताइएको छ।
प्रभु बैंकको नयाँ शाखा काठमाडौंको हात्तीगौंडामा
काठमाडौं, ३१ असार । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको हात्तीगौंडामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहकाबीच सम्पन्न गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच एकीकृत कारोबार शुरु
काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक आपसमा गाभिएर असार ३० गते मङगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । दुबै कम्पनीको सहमतिमा बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट सो कारोबार गर्ने भएका छन् । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् । मर्जरको माध्यमबाट एकिकृत हुने यी दुबै बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त“क”वर्गका वाणिज्य बैंक हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ सम्ममा न्युनतम पूँजी ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने निर्देशनको अनु पालना गर्ने सम्बन्धमा दुबै बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम यस मर्जरको पहल गरिएको हो । यस मर्जरबाट एकिकृत संस्था बैंक अफ काठमाण्डू लुम्बिनीको कूल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुग्न गएको बैंकले जनाएको छ । साथै, गाभ्ने बैंक बैंक अफ काठमाण्डू तथा गाभिने बैंक लुम्बिनी बैंकको शेयर सट्टा अनुपात १ बराबर ०.८३ कायम गरिएबाट एकिकृत संस्थामा ३९ करोड ५५ लाख ३४ हजार ६ सय ८० रुपैयाँको पूँजी गत जगेडा कोष समेत कायम भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अन्त सम्म बैंक अफ काठमाण्डूको कूल निक्षेप ४० अर्ब ७२ करोड रुपैयाँ तथा कर्जा ३४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । त्यस्तै सोहि अवधिमा लुम्बिनी बैंकको कूल निक्षेप २२ अर्ब ९४ करोड रुपैयाँ तथा कर्जा २० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । त्यसैगरी उक्त अवधि सम्म बैंक अफ काठमाण्डूले खुद मुनाफा ४८ करोड ३५ लाख बढी रुपैयाँ आर्जन गरेको थियो भने लुम्बिनी बैंकले रु. २७ करोड ७९ लाख बढी रुपैयाँ आर्जन गरेको छ । साथै यस संचालक समितिको आज बसेको बैठकले बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडको अध्यक्षपदमा सत्य नारायण मानन्धरलाई निर्वाचित गरेको छ साथै प्रमुखकार्यकारी अधिकृतको पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । एकिकृत संस्था बैंक अफ काठमाण्डूको रजिष्टार्ड तथा मूख्य कार्यालय कमलपोखरी, काठमाण्डौंमा कायम गरिएको छ । दुई बैंकको एकिकरण पश्चात ग्राहकहरुले देश भरीका ७४ शाखा, ६३ एटीएम , ७ काउन्टर र ३३ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।