निलम्बित कार्की अझैं अख्तियार चलाउँदै, प्रमुख आयुक्तसरह नियमित गतिविधि गर्दै

काठमाडौं ६, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गरेको भेटिएको छ । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् । कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरू कोरिया पठाउने सूची स्वीकृत गरेका हुन् । फाइल लिएर अख्तियारका सहसचिव बेगेन्द्र शर्मा पौडेल कार्कीको निवास पुगेका थिए । कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्त्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्‍याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशील र महत्त्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे । ‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्‍याइएको छ ।’ कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि पनि आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कतिपयको फोनको ‘कल डिटेल’ हेर्ने र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्‍याइन्छ । शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना दिएको भन्दै सोधपुछ भइरहेको थियो । गोप्य ढंगले कान्तिपुरको सम्पर्कमा आएका एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण आफूमाथि अप्ठेरो परेको बताए । कार्कीसँग निकट रहेर काम गरेका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई भेटेर जानकारी गराइरहेका छन् । कार्कीले नियमित काम कारबाही नगरे पनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारी छन् । उनले विशेषज्ञका रूपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट ।

धर्म राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र, निषेधको राजनीतिले विद्रोह जन्मने पूर्वराजाको चेनावनी

काठमाडौं ५, कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह धर्मको राजनीतिमा सक्रिय बनेका छन् । आफैँले संरक्षण दिएको विश्व हिन्दू महासंघले आयोजना गरेको विराट् हिन्दू सम्मेलनको उनले बिहीबार वनकालीमा उद्घाटन गरे । तीन दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने छ । सम्मेलनको उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिए । सबै मिलेर अगाडि बढे दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा हुने उनले बताए । ‘दर्शनले हामीलाई सधैँ अघि बढ्न निर्देशित गर्छ,’ पशुपतिको वनकालीमा बिहीबार तेस्रो अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन उद्घाटन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तर, व्यवहारमा निषेधको राजनीति अघि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँछ । असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्छ ।’शुक्रबारको नयाँ पत्रिकामा समाचार छापिएको छ । सम्मेलनको धर्मसभा बिहीबारदेखि शनिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । धर्मसभामा सहभागी शंकराचार्यहरूले हिन्दू धर्मको महत्व र संरक्षणसँग सम्बन्धित विभिन्न विषयका कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीका अनुसार शंकराचार्यहरूले नेपाललाई हिन्दूराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट् घोषणा गर्नुपर्ने आवश्यकतालगायतका विषयमा केन्द्रित रहेर कार्यपत्रहरू राख्ने र त्यसमा छलफल हुनेछ । ‘सम्मेलनबाट नेपाललाई हिन्दूराज्य र पूर्वराजालाई हिन्दू सम्राट् घोषणा गरिनेछ,’ भण्डारीले भनिन् । विश्वभरका हिन्दूहरूको प्रतीकका रूपमा नेपाललाई हिन्दूराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रलाई हिन्दू सम्राट्को घोषणापत्र पारित गरिएपछि राजसंस्था भएका मुलुकमा ऐक्यबद्धताका लागि ज्ञापनपत्र पठाउने तयारी गरिएको छ ।

निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो सडक, ठेकेदारले कमसल सामानको प्रयोग गर्दा सडक निर्माण कमजोर

काठमाडौं ५, कात्तिक । कन्ति लोकपथअन्तर्गतको लेले टिकाभैरव–भट्टेडाडा सडक खण्ड निर्माण सम्पन्न नहुदै भत्कन थालेको छ । पीआर निर्माण सेवाले निर्माण गरेको सडकको लप्से खण्डमा भत्कन थालेको हो । ‘ठेकेदारले सडक निर्माणकोक्रममा कमसल सामानको प्रयोग गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘आवश्यक छानविन गरि दोषीलाई कारबाही गर्नुपर्यो ।’शुक्रबारको आजको कान्तिपुरमा समाचार छापिएको छ । उनका अनुसार उक्त बाटो भएर विद्यालय जाने बालबालिकासमेत मर्कामा परेका छन् । कान्ति लोकपथ सडक योजना प्रमुख दिपक केसीले मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्र पठाइसकिएको बताए । ‘ठेकेदारले बर्खाको पानीको भेलले गर्दा भत्किएको भनी स्पष्टिकरण दिएको छ,’ उनले भने, ‘दसै र तिहारका बीचमा कामदार नपाएकाले काम रोकिएको हो ।’ उनले बर्खाका कारण निर्माणाधीन सडक भत्कनु सामान्य भएको बताए । ‘भट्टेडाडामा पनि भएको थियो,’ उनले भने, ‘त्यहाँ मर्मत भइसकेको छ ।’हेटौडालाई काठमाडौं जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्गमा गत आर्थिक वर्षभित्र मालवाहक सवारी साधान गुड्न सक्ने गरि स्तरोन्नती गरिसक्ने सरकारी योजना थियो । तर मिनीबस पनि सञ्चालन हुन गाह्रो छ ।