नारायणीको बाढीले २८ घर डुबानमा, दुई घरमा क्षति

काठमाडौं, १२ साउन । नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ । यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो । चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए । मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पु¥याएको छ । उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ । यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गोलाघाटमा ड्याममा क्षति पु¥याएकाले अस्थायी मर्मत गरिएको छ । बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ । बुधबार बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस

भूकम्पपीडितलाई राँगो तथा बोका वितरण रोकियो, २३ लाख रुपैयाँको अभाव

भक्तपुर, ११ साउन । भूकम्पपीडित राहत कोष पुनःस्थापना कार्यक्रममार्फत भूकम्पले पशु मरेका पीडितका लागि उन्नत जातको राँगो र बोका वितरण गर्ने कार्यक्रम रोकिएको छ । जिल्ला पशुसेवा कार्यालयमा जेठ २७ गते आएको २३ लाख रुपैयाँ समय अभावका कारण देखाउँदै राँगो, बोका वितरण गर्न नसकेपछि कार्यक्रम नै रोकिएको हो । कार्यालयका पशु चिकित्सक एवम् सूचना अधिकृत उमेशलाल प्रधानले ढिलो गरी बजेट आएको र प्रक्रिया पु¥याएर वितरण गर्न ढिलो भएकाले बजेट आएपनि वितरण गर्न नसकिएको बताए । उनका अनुसार बजेट आएलगत्तै वितरण गर्न सात दिने सूचना सार्वजनिक गरेपनि भूकम्प प्रभावितबाट प्रक्रिया पु¥याएर पर्याप्त मात्रामा निवेदन आउन नसक्दा थप समस्या परेको हो । उन्नत जातको राँगो र बोका किनेर वितरण गर्न तथा त्यसको सम्पूर्ण बिल भर्पाइ कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने भएकाले प्रक्रियाबाट जाँदा आव नै सकिने भएकाले वितरण गर्न नसकेको उनले बताए । भूकम्पमा पशु मरेका, भूकम्प प्रभावितको रातो परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई आवदेन परेअनुसार छनोट गरेर पाँचजनालाई उन्नत जातको पाँचवटा राँगो र १०० जनालाई उन्नत जातको १०० वटा बोका वितरण गर्ने कार्यक्रम आएपनि ढिलो भएका कारण वितरण गर्न नसकेको हो । रासस

कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजारका ५० पसल डुबानमा

पर्वत, ११ साउन । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए । अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् । कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ । छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ । रासस