भूकम्पपीडितको १८ अर्ब बैंकमै थन्कियो, पीडितहरूले घर बनाउन नसक्दा दोस्रो किस्ता पाएनन्
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो । प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ । पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्ताबापतको रकम लगेका छन् । जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ । प्राधिकरणले भूकम्पपीडितको अनुदानका लागि अहिलेसम्म ५० अर्ब २७ करोड ११ लाख रुपैयाँ निकासा गरेको छ । त्यसमध्ये पहिलो, दोस्रो र तेस्रो किस्तामा ३२ अर्ब ३० करोड ५९ लाख रुपैयाँ मात्रै बाँडिएको छ । भूकम्प पीडितले घर बनाउन नसक्नुको कारण यस्तो छ पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो किस्ता लिएर गएका भूकम्पपीडितले घर नै नबनाउँदा दोस्रो किस्ताको रकम वितरण गर्न नसकिएको हो । झन्झटिलो कार्यविधि, अपर्याप्त रकम र कालीगढ कमी भएपछि पीडितले घर बनाउन चासो नदेखाएको प्राधिकरणले जनाएको छ । ‘पहिलो किस्ताबापतको अनुदान रकम पाउन जति सजिलो छ, दोस्रो किस्ता पाउन गाह्रो छ । यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्छ,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, ‘घर बनाएका भूकम्पपीडितले मापदण्ड पूरा गर्न सकेनन् ।’ पैसा कम भएकाले घर बन्न नसकेको उनले बताए । ‘गाउँमा तीन लाखले घर बन्दैन । थप खर्च गर्न सकिए मात्रै घर बन्छ । तर, गाउँका सबै पीडितसँग घर बनाउने पर्याप्त रकम छैन । कालीगढको कमीले पनि पीडितले घर बनाउन सकेका छैनन्,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट ।
अल्ट्रा धावन पण्डितको अल्पायुगमै निधन, अमेरीकाको डेनाली आरोहण गर्दा ज्यान गयो
काठमाडौं । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उनको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आएका सञ्चारकर्मी होमप्रसाद लम्सालले जानकारी गराए । कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम्सालका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो । पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरिसक्नुभएको छ । उहाँले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको सफल आरोहण गसिकेका छन् । नयाँ पत्रिका दैनिकबाट ।
बहिष्कारवादीकै उम्मेदवारी, थबाङ विप्लपसँग कांग्रेसको तालमेल
नेपालगन्ज । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ । फरक फरक परिस्थितीले उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाईएको छ । निर्वाचन बहिष्कारको निति अंगालेका पार्टीका कार्यर्कादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु नगरपालिकामा राजपा नेता रामदास गूप्ताले स्वतन्त्र उम्मेदवारी दिए । उनी दुईपटकका पुर्वमेयर हुन् । पार्टीले चुनावमा भाग नलिने नीति बनाए पनि चुनावमा जानुपर्छ भन्ने जनाको भावना कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ । नागरिक दैनिकबाट । कांग्रेस र विप्लव माओवादीबीच चुनावी तालमेल गर्ने ‘गोप्य सहमति’ थबाङ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। थबाङलाई विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको प्रभावकारण सुरक्षा संवेदनशील मानिएको छ । उच्च सुरक्षा संवेदनशिल ठाउँमै उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको हो। स्थानीय तहको निर्वाचन ‘खारेजी’ को नीति लिएको नेकपाका कारण थबाङमा मनोनयन दर्ता कस्तो हुन्छ भन्ने सबैमा चासो हुँदै गर्दा शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थबाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा निकट जन स्वंसेवक दलका जिम्मेवार अगुवा अमित घर्तीले गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका छैनन् । नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका लागि श्रीकुमारी रोकामगरले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जनाए। कांग्रेसबाट अध्यक्ष पदमा कोही उम्मेदवार वनेन्। स्वतन्त्रमा उपाध्यक्ष नउठाईनु र कांग्रेसबाट अध्यक्ष उम्मेदवार नवनाईनु संयोग होईन । स्रोतका अनुसार स्वतन्त्रका अध्यक्ष र कांग्रेसबीच अघोषित सहमति भएको छ । गोप्य योजना अनुसार नै स्वतन्त्रबाट उपाध्यक्ष र कांग्रसबाट अध्यक्ष उम्मेदवार नवनाईएको हो। नेकपा एमालेबाट अध्यक्षमा हितबहादुर रोकामगर र उपाध्यक्षमा जान रोकामगरले उम्मेदवारी दिएका छन्। नेकपा माओवादी केन्द्रबाट बीरबहादुर घर्ती अध्यक्ष र रामकिरणी रोका उपाध्यक्ष पदको उम्मेदवार बनेका छन्। स्वतन्त्रबाटै भक्तबहादु घर्ती पनि अध्यक्षको उम्मेदवारी दिएका छन्। एमाले र माओवादी केन्द्रले गाउँपालिका देखि वडा सबै पदमा उम्मेदवार खडा गरेका छन्। पाँच वटा वडा रहेको थबाङ गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुमा भने स्वतन्त्र र कांग्रेसबाट अलगअलग उम्मेदवार दर्ता गरिएको छ। स्वतन्त्रबाट अध्यक्षका रुपमा वडा नं। १ मा फर्कबहादुर बुढा, वडा नं। २ मा लिलाराम रोका, वडा नं ४ बाट हिक्मत घर्ती र वडा नं। ५ बाट डुकमन रोका उम्मेदवार बनेका छन्। नेकपाको नेतृत्वले उम्मेदवार नहुन पटकपटक आग्रह गरेपनि नेकपाका आस्थावान थबाङी मतदाताको भावनाको कदर गर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवार वनेको दावी गरिएको छ। स्थानीय तहको निर्वाचन भएकाले उपयोग गर्न मतदाता ईच्छुक रहेको उनीहरुले जिकिर गरेका छन्। नेकपाले पार्टी योजना र निर्देशनमा स्वतन्त्र उम्मेदवार नवनेको जनाएको छ। ‘पार्टीको नीति चुनाव खारेजी नै हो । चुनाव उपयोग गर्ने भन्ने नै होईन । स्वतन्त्रबाट उम्मेदवार पार्टीको योजनामा होईन।’, नेकपाका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ भन्छन्, ‘पार्टीको नीति विपरित जानेलाई कारवाही हुनसक्छ।’ नेकपाका नेता एवं थबाङका रैथाने जयप्रकाश रोका ‘प्रताप’ ले स्वतन्त्र उम्मेदवारीमा पार्टी संलग्न नरहेको दावी गर्छन्। खारेजी भनेपनि नेकपाका स्थानीय नेता, कार्यकर्ता र आस्थावानले थबाङमा ‘स्थानीय चुनाव उपयोग’ गर्ने रणनीति अपनाएको स्पष्ट भएको छ । स्वतन्त्र उम्मेदवारले पनि व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर उम्मेदवारी दिएको वताएका छन । नेकपाका आस्थावान थबाङीको भावनामा चोट नपुग्ने गरी नेकपाको नेतृत्व मौन वस्यो भने यहाँ चुनाव शान्तिपुर्ण आंकलन गरिएको छ । संविधान सभाको दोस्रो चुनावमा थबाङ गाविसमा शून्य मतदान भएको थियो । थबाङ गाउँपालिकामा साविकका छिमेकी गाविस मिरुल र उवा गाभिएका छन् । अन्नपूर्ण पोस्टबाट ।