अझैसम्म पनि कालोपत्रे हुन सकेन धरान चतरा सडक, योजना आयोगमा भने पञ्चायत कालमा नै पक्की भएको उल्लेख
इटहरी, ७ मंसिर । दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान—चतरा सडक निर्माण अगाडि नवढ्दा बराहक्षेत्र गाविस बयरवनवासी आक्रोशित बनिरहेका छन् । सरकारले विसं २०७१ मा बराहक्षेत्रमा लाग्ने दोस्रो महाकुम्भमा आउने भक्तजनका लागि सहज होस् भनेर तत्कालै बजेट निकासा गरेर सडक निर्माणको ठेक्का त्यतिखेरै दिएको थियो । तर सडक विभागका कर्मचारी समयमा सरुवा भएर नआउनु, मधेस आन्दोलन एवम् नाकाबन्दी आदिको कारणले सडक निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका अधिकारीहरुले दावी गर्दै आएका छन् । चतरादेखि धरानसम्मको १७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि छ करोड ४२ लाख रुपैयाँको निर्माणको ठेक्का पाएका हजबुल अन्सारीले ठेक्का लिएपछि भएको असहज परिस्थितिकै कारणले सडक निर्माणमा ढिलाइ भएको बताएका छन् । धरान—चतराको सडकमा पर्ने पटनाली, बगुवा, सर्दु खोलालगायतले ओगटेको सडक भने कालोपत्रे गर्ने योजनामा नरहेको पनि ठेकेदार अन्सारीले बताए । धरानदेखि चतरासम्मको १७ किलोमिटर सडक पञ्चायतकालीन समयमा नै कालोपत्रे बनिसकेको भनेर राष्ट्रिय योजना आयोगमा उल्लेख छ । तर त्यहाँ आजका दिनसम्म पनि कुनै पनि स्थानमा कालोपत्रे भएको छैन । सडक निर्माणको ठेक्का लिएका ठेकेदार अन्सारीले भने ६० प्रतिशत काम भइसकेको र आगामी फागुन मसान्तसम्ममा निर्माण कार्य पूरा हुने बताउँदै आएका छन् । तर उनले सडक कालोपत्रेका लागि बिच्छ्याएको बिटुमिन अहिले नै सडकबाट उप्किएर सडक धुलाम्मे बनिसकेकाले यो सडकको टिकाउपन झनै शङ्कास्पद बनिरहेको स्थानीयवासीले गुनासो गरिरहेको पाइएको छ । धरान—चतरा सडक कालोपत्रे बनेपनि बर्खाको समयमा भने चतरावासीले सर्दु, पटनाली, बगुवा खोलामा बाढी आउँदा धरानसम्मको यात्रा सहजरुपमा गर्न भने नपाउने भएका छन् । खोलाक्षेत्रमा सडक नबनेपछि खहरेमा बाढी आउँदा त्यो सडक सञ्चालनमा आउन सक्दैन । बर्खाको समयमा चतरावासीले इटहरी भएर नै घुमेर धरान जानुपर्ने बाध्यात्मक अवस्था रहने देखिएको छ । रासस
सामाजिक सुरक्षा कोषलाई योगदानमा आधारित बनाउन सांसदहरुको सुझाव
काठमाडौँ, ७ मङ्सिर । सामाजिक सुरक्षासम्बन्धी संसद् प्रस्तुत विधेयकलाई योगदानमा आधारित कोषका रुपमा विकास गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ को छलफलमा भाग लिँदै सांसदले प्रस्तावित विधेयकमा रहेको वृद्ध, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा दिने प्रावधानलाई हटाएर सो विधेयक विशुद्ध श्रमिकको योगदानमा आधारित बनाउनुपर्ने सुझाव दिए । उनीहरुले सामाजिक सुरक्षा दिनेसम्बन्धी प्रावधानका लागि छुट्टै व्यवस्था गर्न समेत माग गरे । विसं २०६७ मा सरकार, मजदुर र मालिक पक्षबीच भएको त्रिपक्षीय सहमति अनुरुप सो विधेयक आएकाले सोही अनुरुप विधेयक ल्याउनुपर्ने सांसदको सुझाव थियो । उनीहरुले श्रम विधेयक र सामाजिक सुरक्षा विधेयकलाई एकीकृत रुपमा लैजानुपर्ने पनि बताए । सांसद पुष्कर आचार्यले कर्मचारी र श्रमिकबाट रकम उठाएर सो कोषबाट रकम जम्मा नगरेका अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्नु न्यायोचित नहुने धारणा राखे । सांसद विनोद श्रेष्ठले सबै पक्षलाई समेट्न खोज्दा विधेयक गञ्जागोल भएको टिप्पणी गरे । सांसद चूडामणि जङ्गलीले श्रमिक बाहेकका विषय हटाउने सम्बन्धमा आफूहरुले संसद्मा प्रस्तुत भएको विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिए । सरकारी कर्मचारी, सुरक्षा निकाय र श्रमिकबाट तलबको एक प्रतिशत रकम कट्टा गरी २०६७ सालदेखि रकम जम्मा गर्न थालिएपछि अहिले कोषमा रु १२ अर्ब १० करोड जम्मा भएको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए । रासस
एकलाख घुससहित महोत्तरीका अमिन पक्राउ
महोत्तरी, ७ मङ्सिर । महोत्तरी जिल्लाको नापी कार्यालय, जलेश्वरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले एक लाख रुपैयाँ घुससहित एक अमिनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई विगत चारवर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ । सोमबार सेवाग्राहीसँग लिएको घुस रकम कार्यालयपछि लिएर जान लाग्दा अमिन महासेठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका निमित्त प्रमुख नायब प्रहरी उपरीक्षक राजकुमार लम्सालको टोलीले उनलाई पैसासहित रङ्गेहात पक्राउ गरेका हुन् । अमिन महासेठले सेवाग्राहीसँग अंशबन्डा गराइदिने भन्दै सोबापत घुस मागेकोमा सेवाग्राहीले अदुअआको कार्यालय बर्दिवासमा अमिन महासेठविरुद्ध लिखित उजुरी दिएको थियो भने सोही आधारमा आयोगको टोलीले सोमबार बिहानैदेखि उनको रेकी गर्दै बसेको र निज अमिनले पैसा लिनासाथ उनलाई पक्राउ गरेको थियो । घुस रकमसहित पक्राउ परेका अमिन महासेठलाई आवश्यक अनुसन्धानका लागि बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा लगिएको छ भने उनी विरुद्ध आवश्यक अनुसन्धान सुरु भइसकेको नायब प्रहरी उपरीक्षक लम्सालले बताए । रासस