बाढी पहिरोको अनुगमन तथा उद्धारका लागि टोली गठन

काठमाडौं, ८ असार । वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिचाई मन्त्रालयले सात सदस्यीय अनुगमन टोली गठन गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए । देशैभरि आएको बाढी पहिरोको बारेमा छलफल गर्न मन्त्री यादवले मन्त्रालयमा सचिव गजेन्द्र ठाकुर, सिचाई विभागका महानिर्देशक रमानन्द यादव, जल उत्पन्न विभागका निरञ्जन देव पाण्डेलाई बोलाएर सो टोली गठन गरेका हुन् । साथै, जिल्लाका डिभिजन कार्यालयहरुलाई पनि बाढी पहिरोको अनुगमन गरी केन्द्रमा रिर्पोट गर्न निर्देशन दिएको छ । यसपालीको वर्षाले झापा, मोरगं, सुनसरीमा आएको बाढीले धनजनको क्षति गरिसकेको छ ।

द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउन निर्देशन

काठमाडौं, ८ असार । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नेपाली सवार बसमाथि भएको आक्रमणमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उक्त आपराधिक आतकङ्कारी घटनाको भत्र्सना गर्दै बैठकले खेद प्रस्ताव पारित गरेको छ । बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ । अफगानिस्तानलगायत द्वन्द्वग्रस्त मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन बैठकले सरकारलाई निर्देशन दिएको छ । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न र श्रम स्वीकृति नलिइ अफगानिस्तानलगायतका मुलुकमा गैरकानुनीरुपमा कामदार पठाउने वा पठाउनमा संलग्न म्यानपावर कम्पनी, तस्कर, दलाल र कन्सल्टेन्सीलाई कडा कारबाही गर्न सरकार र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले भारतलगायत अन्य देशका विमानस्थल प्रयोग गरी गैरकानुनी रुपमा तेस्रो मुलुक जाने नेपालीलाई सम्बन्धित देशका सरकारसँग प्रभावकारी कुटनीतिक पहल गरी रोक्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा बोल्ने सांसदहरुले द्वन्द्वग्रस्तमुलुक अफगानिस्तानमा रोजगारीका लागि खुला गर्ने सरकारी निर्णयकै कारण अहिलको दुःखद घटना भएको टिप्पणी गरे । उनीहरुले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति परिवारलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने, द्वन्द्वग्रस्त मुलुकमा रोजगारीका लागि बन्द गरिनुपर्ने, त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्नुपर्ने, अवैधानिक बाटोबाट पठाउने संस्था र व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने, म्यानपावरको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव दिएका थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले घटनामा १२ नेपालीको मत्यु सात घाइते भएको तथा तीमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिक वर्ष २०६२/६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएको जानकारी दिए । रासस

काबुलबाट १२ जना नेपालीको शव काठमाडौंं ल्याइयो

काठमाडौं, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अहिले विमानस्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको छ । शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ । सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ । रासस