किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन गर्दै, आयोजना असार १६ र १७ गते काठमाडौंमा हुने

काठमाडौं, ७ जेठ । किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलन असार १६ र १७ गते हायात रेजेन्सी काठमाडौंमा हुने कलेजले बताएको छ । कलेजले सामाजिक उद्यम मार्फत नेपालमा पुननिर्माण भन्ने विषयमा केन्द्रित गरेर उक्त सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा गत साल वैशाख १२ गते गएको भूकम्पपछिको पुनस् निर्माणमा सामाजिक उद्यमशीलताको भूमिकाबारे छलफल हुने कलेजले बताएको छ । कलेजका अनुसार कार्यक्रममा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरुको कथा प्रस्तुत हुनेछ । कार्यक्रममा विश्वभरीका सात विख्यात वक्ताहरुले प्रस्तुती गर्ने आयोजकले जानकारी दिएका छन् । किङ्गस् कलेजका प्रिन्सिपल नरोत्तम अर्यालका अनुसार नेपालमा र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकासमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई एकै छानामा ल्याउनु कार्यक्रमको मुख्य उद्येश्य रहेको हो । नेपालको परिपेक्षमा सामाजिक उद्यमशीलता नौलो विषय भएकाले सम्मेलनले यसलाई परिभाषित गर्नमा सहयोग र्पुयाउने एप्पल इन्कका सिद्धार्थ राझन्सले विश्वास व्यक्त गरेका छन् । साथै यसले सामाजिक उद्यमशीलताको सफलता र असफलता दुवै पक्षबाट मुल्याकंन गर्नमा मद्दत र्पुयाउने राझन्सले बताए । सम्मलेनमा तीन सय भन्दा बढी मानिसहरुको सहभागीता रहने आयोजकले अपेक्षा गरेका छन् ।

नेपाल–चीनबीचको परामर्श बैठक बुधबार राजधानीमा बस्दै

काठमाडौं, ७ असार । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ । बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कोङ सनयु छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न यहाँ आइपुग्ने कार्यक्रम छ । परामर्श बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल हुनाका साथै विगतमा दुई मुलुकबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि विचारविमर्श हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका बेला भएका सन्धिसम्झौताको कार्यान्वयनलाई अघि बढाउने सम्बन्धमा पनि छलफल हुन सक्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए । यहाँ रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको ती अधिकारीले बताए । यसअघि उक्त बैठक बेइजिङमा भएको थियो । हरेक वर्ष आयोजना हुने उक्त बैठक गत वर्षको भुइँचालो र अन्य कारणले हुन सकेको थिएन । बैठकमा नेपाल सरकारका तर्फबाट गृह, कानुन, न्याय तथा संसदीय मामिला, वाणिज्य, आपूर्ति, रक्षा, उद्योग, कृषि विकास, शिक्षा, वन तथा भूसंरक्षण, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । रासस

द व्रिटिश कलेज र सिस्कोबीच सहकार्य

काठमाडौं, ७ असार । द ब्रिटिस कलेजले सिस्कोसँग मिलेर नेटवर्क स्कील ट्रेनिङ एकेडेमी सञ्चालन गर्ने भएको छ । विश्वभर नेटवर्किङको नेतृत्व लिइरहेको सिस्कोले मानिसहरुलाई सञ्चार मार्फत जोडिरहेको छ । सिस्कोसँगको सहकार्यले द व्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीको सूचना प्रविधि क्षेत्रका करिअर बनाउन सहयोग गर्ने कलेजले बताएको छ । ‘यो एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम हो । जसमा नेटवर्क सेक्युरिटी तथा प्रशासन, प्राविधि सहयोग, हेल्थकेयर आइटीः प्रोफेशनल सर्टिफिकेट, इन्जिनियरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरु रहेका छन्’, कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कलेजले लगातारको अध्ययन र केही अग्रेजहरुसँगको छलफल पछि सूचना प्रविधि क्षेत्रमा नयाँ कार्यक्रम सुरु गरेको बताएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा हुने गरेको प्राविधिक जनशक्तिलाई ध्यान दिएर पनि यस्तो शैक्षिक कार्यक्रम सुरु गरिएको कलेजले बताएको छ । उक्त एकेडमीले द व्रिटिश कलेजमा ‘सिसिएनए राउटिङ’ र ‘स्वीचिङ’ जस्ता कोर्सहरु अफर गरेको छ । यी कोर्सहरु सिस्को नेट स्पेस, नेटवर्किङ एकेडमीको मातहतमा रहेर प्रदान गरिनेछ । सिस्को तथा ग्लोबल एजुकेटर टिमले अनलाइन कोर्सहरु पनि विकास गरिसकेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न ल्याब, नेटवर्क सिमुलेसन अभ्यास, एसिसमेन्ट जस्ता विशेषताहरु अफर गरिएका छन् । सर्टिफाइड इन्सट्रकटरहरुले विभिन्न तहमा रहेर विद्यार्थीहरुको प्रगति हेर्ने तथा सेवा प्रदान गर्ने काम गर्नेछन् । सिस्को नेटवर्किङ एकेडमीले विश्वभरका १६५ राष्ट्रहरुमा ४० लाख विद्यार्थीहरुलाई सूचना प्रविधि र नेटवर्किङ विषयमा जानकारी प्रदान गरिरहेको छ ।