इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई करिब तीन करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं, १९ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच “पशुपति सङ्ग्रहालय” को विकास गर्ने सम्बन्धि सम्झौता भएको छ । “जनसहभागिता र विकास” कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नानघर (ठूलो सदावर्त घर)लाई मर्मत–संभार गर्ने र सो घरलाई “पशुपति सङ्ग्रहालय” को रुपमा विकास गर्ने विषयमा सम्झौता भएको हो । उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डन तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सो सहमति सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । महास्नानघरकोे दक्षिण र पश्चिमपट्टिको भाग वि सं. २०७२ साल वैशाख १२ र २९ मा गएको माहा भूकम्पले गर्दा क्षति पुगेको अवस्थामा रहेको छ । सम्झौता गरेको एक वर्षभित्र महास्नानघर एवं तीन वर्षभित्र पशुपति सङ्ग्रहालय संचालन गर्ने गरी कार्य सम्पादन हुने विज्ञप्तिमा उल्लेख छ । उपरोक्त पुननिर्माण एवं मर्मत संभार कार्यको लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रति वर्ष १ करोड रुपैयाँको दरले ३ बर्षमा जम्मा ३ करोड रुपैयाँसम्म खर्च गर्ने सम्झौता भएको छ । भगवान् पशुपतिनाथ मन्दिर रहेको पावन क्षेत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट विगतमा भष्मेश्वरघाटमा गरिएको मर्मत सुघार एवं योगदानको लागी उक्त कोषले सराहना समेत गरेको छ ।

गाडी र फुटपाथले विश्वसम्पदा बौद्ध क्षेत्र अस्तव्यस्त

काठमाडौं, १९ असार । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षण गर्न पैदलमार्गका लागि बिछ्याएको ढुङ्गामा सवारी साधन गुडाउँदा मार्ग अस्तव्यस्त बनेको छ । ढुङ्गामाथि दैनिक मोटरसाइकल, ट्याक्सी र कार गुडाउँदा आकर्षक ढुङ्गाको पैदल मार्ग भत्किन थालेको छ । बौद्धमा पर्यटकलाई पैदल हिँड्ने मार्गको निर्माण गरी गुम्बालगायत ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थलको अवलोकन गराएर विश्वमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६४ मा ढुङ्गा बिछ्याइएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तूपदेखि महाङ्काल, फूलबारी, धाराटोल, होल्गाटोल र तीनचुलेसम्मको क्षेत्रमा ढुङ्गा बिछ्याएको थियो । ढुङ्गा बिछ्याइएका क्षेत्रमा सुरुमा सवारी साधन गुडाउन निषेध गरिए पनि पछि स्थानीयवासीले घरमा जान पैदल जानुपर्ने भनी विरोध जनाएपछि नियम मिचिएको समितिकी कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले राससलाई जानकारी दिए । “पर्यटकलाई आकर्षण गर्न बनाइएको पैदल मार्गमा सवारी हिँडाउने, फुटपाथमा पसल चलाउने गर्नाले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, फुटपाथका पसल हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता नदेखाउँदा सम्पदा क्षेत्र अस्तव्यस्त हुने गरेको छ”– उनले भने । महानगरको नगर प्रहरीले कहिलेकाँही पसल हटाए पनि प्रायः वास्ता नगरेको स्थानीयवासी बताउँछन् । सम्पदा क्षेत्रमा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा सवारी अबरुद्ध हुने गरेको छ । वर्षामा तीनचुले र फूलबारीदेखिको भेल आउँदा स्तूप डुबानमा पर्ने गरेको स्थानीयवासी टासीकुमार लामाले बताए । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की नगर प्रहरी १०२ मात्र भएकाले महानगरमा फुटपाथ व्यवस्थित गर्न नसकिएको बताउछन् । “नगर प्रहरी थप गर्दैछौँ, थप भएपछि महानगरको फुटपाथ व्यवस्थित हुनेछ”– उनले भने । रासस

पाँच लाख पुरस्कार राशीको फोटो प्रतियोगीतामा फोटो दर्ता सुरु

काठमाडौं, १६ असार । काठमाडौं, असार १६ । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशीको ग्लोबल आइएमई फोटो प्रतियोगीताको फोटो दर्ता प्रक्रिया सुरु भएको छ । ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणका रुपमा आयोजना हुन लागेको प्रतियोगीताको आयोजना फोटो पत्रकार क्लब नेपालले गर्दै आएको छ । वर्ष भने भूकम्पका कारण प्रतियोगीता रोकिएको थियो । प्रतियोगीता सहभागीता जनाउन चाहने फोटो पत्रकारहरुले साउन मसान्तसम्म फोटो दर्ता गराउन सक्नेछन् । प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ । प्रतियोगीता सात विधामा सञ्चालन हुनेछ । विजयी फोटो ग्राफरहरुलाई भदौ १५ गते पुरस्कृति गरिनेछ । सोही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ । प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा १ हजारभन्दा बढि फोटोग्राफरका ९ हजार फोटो सहभागि थिए । मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ । यो वर्ष हाम्रो पुरानो सम्झौताको अन्तिम वर्ष हो । तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहदै आएको विचार राखे ।