विश्वस्तरिय सेवा दिने उद्धेश्यले नर्भिकले बनायो सुविधायुक्त ओपिडी भवन, २५ करोड लागत
काठमाडौं । नर्भिक अस्पतालले २५ करोड रुपैयाँ लगानीमा ओपिडी भवनको स्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । अस्पतालले आइतबार दिउँसो ओपिडी भवनको उद्घाटन गर्दै सेवा भवनको स्तरोन्नती गरी सेवा संचालनमा ल्याएको हो । अस्पतालले ओपिडी सेवालाई विश्वस्तरीय बनाउने उद्देश्यले ओपिडी भवनको पुननिर्माण गरेको बताएको छ । आफुहरुले निर्माण गरेको ओपिडी भवन सम्भवत नेपालका अस्पतालहरु मध्येकै सबैभन्दा स्तरीय रुपमा निर्माण गरिएकोे भवन रहेको अस्पतालको दाबी छ । यसका साथै अब बिरामीहरुले ओपीडी सेवाका लागि लाइनमा कुरेर बस्नु पर्ने झन्झट पनि हटेको अस्पतालले बताएको छ ।
काेराेनाविरुद्धकाे खाेप काेभिड-१९ काे नयाँ भेरियन्टकाे लागि प्रभावकारी
काठमाडाैं । स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् । संयुक्त अधिराज्य, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ । विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिनसक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको छ ।
सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप
सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् ।