महानगरमा ३३ जनाले लिए निशुल्क उपचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको लक्षित वर्ग उपचार सेवाबाट अहिले सम्म ३३ जना बिरामीले सेवा लिएका छन् । तीन महिनाअघिबाट महानगरले सुरू गरेको उपचार सेवाबाट ३३ जनाले सेवा लिएको महानगरले जनाएको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ  । यस्तै १२ जना बिरामी डिस्चार्ज भएका छन् । जसमा तीनजना दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसूति रोग सेवा, एकजनाले पेटसम्बन्धी, एकजनाले आँखासम्बन्धी सेवा लिएको महानगरले जनाएको छ । यस्तै उपचार सेवा लिँदालिँदै दुईजना बिरामीको मृत्यु भएको छ ।

काठमाडौं महानगरले देशभरका विपन्न प्रहरीको निशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न, असहाय बिरामीको उपचार गर्ने भएको छ । देशभरका कुनैपनि पालिकाको भएपनि महानगरका अस्पतालमा गरिने महानगरले जनाएको छ । विपन्न, असहाय बिरामीले आफ्ना पालिका बाट सिफारिस लिएर आएमा निशुल्क उपचार हुने महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरले ५२ अस्पतालका ३ सय ७४ बेडबाट निशुल्क सेवा दिदै आएको छ । महानगर प्रमुख बालेनले कसैको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा रहेको भएपनि जानकारी गराइदिन आग्रह गरेका छन् । यस्तै उनले आफ्नो फेसबुक मार्फत यो सेवा पाउनका लागि ११८० मा फोन गर्न वा महानगरको स्वास्थ्य विभागमा सम्पर्क राख्न शाहले आग्रह गरेका छन् ।

तातो हावाको लहर अझै बढ्ने, बच्न के गर्ने ?

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ । ‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ’, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो । सूचनामा भनिएको छ, ‘तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।’ सम्भावित असर तथा सुझाव तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ । रासस