बदलिँदो जीवनशैलीसँगै ब्लडप्रेसरका विरामीमा वृद्धि, उपचार विधि के ?
बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीब २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन । बदलिँदो जीवन शैलीसँगै मानिसहरु विलासी भएको महसुस हुन्छ । मीठो मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै मात्र जोड दिने, रक्सी, सूर्ती जस्ता नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने वाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिँदै गएको छ । फलस्वरुप हृदयघात, प्यारालाइसिस् (मस्तिष्कघात), मिर्गौलामा तथा आँखामा क्षति बढेको पाइन्छ । ब्लडप्रेसर सुन्दा सामान्य लागेपनि यसले गर्ने भयानक असरहरुबारे मानिसहरुमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइँदैन । जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन्, उनीहरुले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन् । ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरु सुनिन्छन्, तर औषधी नखाई सधैँ हाइ ब्लडप्रेसर लिएर हिँड्दा के-के खतरा हुन्छ भन्ने धेरैले विचार गरेको देखिँदैन । ब्लड प्रेसर हाइ भएका विरामीहरुलाई सबैलाई लक्षणहरु देखिनैपर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुनसक्छन् । विरामीहरु अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसर भन्दा खतरनाक हुन सक्छन् । यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउनसक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरुमा पुर्याउने क्षति पुर्याइनै रहेको हुन्छ । विशेषगरी मुटु, मृगौला, आँखा र मस्तिष्कहरुमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने विरामीहरु नै एकै पटक हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ । त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा देखाइरहनु आवश्यक छ । साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ । ब्लडप्रेसर उच्चै रहिरहेमा औषधि शुरु गर्न धेरै ढीला गर्नु हुँदैन । खानामा नून, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने गर्दा प्रेसर कम हुन सक्छ । ब्लडप्रेसरको औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लड प्रेसरलाई नियन्त्रणभित्र राखेर शरीरका अन्य अंगहरुमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा परहेज, नियमित व्यायाम आदि गर्दैगएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यक भन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम वा औषधि नै बन्द पनि गर्न सकिन्छ । ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधिहरुको पनि आफ्नै किसिमका साइड इफेक्टहरु छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेक जाँच गरिरहेमा साइड इफेक्टहरु हुन थालेमा तुरन्तै पत्ता लाग्छ । औषधी शुरु गरेपछि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नुपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ । धूमपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ । जांड, रक्सी पिउँदा हामी मध्ये कतिजनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ रु रक्सी पिएपछि बेहोसै हुनेगरि पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नूनिलो स्न्याक्स नै चाहिने तथा ड्रिङ्स गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको विरामीहरु बताउँछन् । ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारिरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरु, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका विरामीहरुमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधि खाने विरामीहरुमा यो समस्या देखिन्छ । मानिसको ब्लडप्रेसर मानिसले गर्ने शारिरिक व्यायाम, खाने खानेकुराहरु, निद्रा, तनाव आदि विभिन्न कुराहरुमा भर पर्छ । तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारीरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिनसक्छ । ब्लडप्रेसरको समस्या भएको विरामीलाई डाक्टरले दैनिक खाने नूनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नून कम गर्ने भनेको नून भएको धेरै किसिमको परिकारहरु नखाने भनेको हो । शरिरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नून हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठीक होइन । केही मात्रामा नून शारिरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नून चटक्कै बन्द गर्नाले शरिरमा अन्य समस्या गराउनसक्छ, त्यसैले नून चटक्कै बन्द गर्न कदापि हुँदैन । प्रेसरका विरामी तथा प्रेसरको औषधि खाने विरामीहरुले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मृर्गौला तथा पिसाबको जाँच तथा कोलेष्ट्रोलको जाँच कम्तीमा ३ बढीमा ६ महिनामा नियमित गरिरहनुपर्दछ । साथै इसीजी, इको जाँचहरु मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे–नरहेको पत्ता लाग्छ । साथै कुनै साइड इफेक्ट भो कि पत्ता पनि लाग्छ । अन्त्यमा, ब्लडप्रेसको नकारात्मक असरहरुबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ । साधारणतया उमेर ४० को वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरी केही कुराहरु, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सूर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरु पालना गर्नैपर्ने देखिन्छ । किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुन थाल्छ । (वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्)
नक्कली डाक्टर पक्राउ
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौं पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।
नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र : सातै प्रदेशमा सङ्घीय अस्पताल, जेष्ठ नागरिकको घरमै उपचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यका विभिन्न विषयलाईप्राथमिकताका साथ प्रस्तुत गरिएकाे छ । यस्ता छन् स्वास्थ्य क्षेत्रका कार्यक्रम: -निर्माणाधीन स्थानीय अस्पतालहरूलाई प्राथमिकीकरण गरी निर्माण कार्य अगाडि बढाइएको छ । औषधी र खोप लगायतका स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिएको छ । -सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायलगायतका संविधानप्रदत्त हकको सुनिश्चितताका लागि जनसाङ्ख्यिक वितरणको वस्तुगत अध्ययन गरी लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। लैङ्गिक उत्तरदायी शासकीय पद्धतिलाई राज्यका तीनै तहमा संस्थागत गरिनेछ। -शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायलगायतका संविधानप्रदत्त हकको सुनिश्चितताका लागि जनसाङ्ख्यिक वितरणको वस्तुगत अध्ययन गरी लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। लैङ्गिक उत्तरदायी शासकीय पद्धतिलाई राज्यका तीनै तहमा संस्थागत गरिनेछ। -तीनै तहका सरकारको लागत साझेदारी र व्यवस्थापनमा बालगृह, बालग्राम र बालसुधार गृहहरूको भौतिक पूर्वाधार विकास गरिनेछ। बालसुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा गरिनेछ। बाल न्यायप्रणालीलाई थप प्रभावकारी बनाइनेछ। अभिभावकविहीन, असहाय, अपाङ्गता भएका बालबालिका, अशक्त, बेवारिसे, हिंसापीडित तथा सडक बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तहमा आपत्कालीन बालउद्धार तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ। -सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ। उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गरिनेछ। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिनेछ। -तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति र स्रोतसाधनको एकीकृत एवम् समन्वयात्मक परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिनेछ। सङ्घ, प्रदेश र स्थानीय तहबाट प्रवाह हुने स्वास्थ्यसेवाको वर्गीकरण गरिनेछ। -सङ्घीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनःसंरचना गरिनेछ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिनेछ। कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइनेछ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिनेछ। -निर्माणको चरणमा रहेका आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिनेछ । खरिद प्रक्रिया सम्पन्न हुने चरणमा रहेका अस्पतालको निर्माण सुरु गरिनेछ। प्रदेशतहमा रहेका सङ्घीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रमशः ५ सय शय्यामा स्तरोन्नति गरिनेछ। मानवअङ्ग प्रत्यारोपण संस्था र सेवाको स्तरोन्नति गरी विस्तार गरिनेछ। -सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम र दसदेखि चौध वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिनेछ। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिका अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सुरु गरिनेछ। -सबै अस्पतालहरूमा जेरियाट्रिक वार्डको प्रबन्ध मिलाई ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने व्यवस्था मिलाइनेछ। प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीय अस्पताल र कम्तीमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ। -सङ्घीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवाप्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइनेछ। एकै किसिमको परीक्षण पटक पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिनेछ। -महामारी रोकथाम र नियन्त्रण तथा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी र प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणाली सुदृढ गरिनेछ। सीमा नाका तथा प्रवेश बिन्दुमा स्वास्थ्य जनशक्तिको व्यवस्था गरिनेछ। नसर्ने रोग रोकथाम गर्न छुट्टै संस्थागत व्यवस्था गरिनेछ। पशुपन्छी, वनस्पति र वातावरणबाट मानव स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असर न्यून गर्न “एक स्वास्थ्य नीति”मा आधारित कार्ययोजना कार्यान्वयन गरिनेछ। -देशभरका सरकारी, गैरसरकारी लगायत सबै संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिनेछ। औषधीको समुचित प्रयोग तथा सुरक्षित खाद्य उपयोग सुनिश्चित गर्न खाद्य तथा औषधी नियमनको संस्थागत व्यवस्था गरिनेछ। औषधी र औषधीजन्य सामग्री, स्वास्थ्य उपकरण, सौन्दर्य प्रसाधन सामग्री तथा औषधीपूरक पोषण पदार्थहरूको गुणस्तर परीक्षण र नियमन व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ। औषधीको गुणस्तर जाँचको व्यवस्थासहित राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता वृद्धि गरिनेछ। -वैकल्पिक एवम् प्राकृतिक तथा परम्परागत चिकित्सा पद्धतिको अनुसन्धान, विकास र विस्तार गरिनेछ। आधारभूत आयुर्वेद औषधीको उत्पादनमा आत्मनिर्भरता हासिल गरिनेछ। नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिनेछ।