२ करोडमा कैलालीको खैरालामा स्वास्थ्यचौकी भवन निर्माण
गोदारी । कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो । नवनिर्मित भवन खैराला स्वास्थ्यचौकी भवन सोमबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । एक करोड ९९ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त आठकोठे भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसीले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष बोगटीले भवन अभावले विगतमा सेवा प्रवाहमा समस्या भइरहेकामा अब सहज हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यचौकी भवनसँगै आवश्यक उपकरणसहितका सामग्री सहयोग प्राप्त भएको जानकारी दिए । फाया नेपालका अध्यक्ष भट्टले स्वास्थचौकी भवन निर्माणका क्रममा सहयोग गर्ने सम्बद्व पक्षलाई धन्यवाद दिँदै स्वास्थचौकी र गाउँपालिका कार्यालयले सदुपयोग गरेर सहज रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । आम्दा माइन्ड्सकी नेपाल प्रमुख कोवाइसीले दुई वर्षअघि चुरेको गार्भा दरबार क्षेत्रमा पैदलयात्रा गरेर पुग्दा स्वास्थ सेवामा यहाँका महिला र बालबालिकाले भोग्नुपरेको अभावबारे जान्ने अवसर प्राप्त भएको बताए । उनले खैराला स्वास्थचौकीको अवस्था दयनीय रहेको थाहा पाएपछि जापान सरकारको सहयोगमा भवन निर्माण गरिएको बताए । रासस
१९ करोडमा ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
खोटाङ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन अस्पताल भवनको भूइँतलामा इमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ्ग) सेवा, दोस्रो तलामा वाड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित १९ करोड ३० लाख ४४ हजार एक सय ६४ रुपैयाँ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिलारपुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको निर्माणस्थलमा खटिएका कम्पनीका इञ्जिनियर नवीनकुमार यादवले बताए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै र्याम्प भर्याङ (ह्वील चियर गुडाउन मिल्ने भर्याङ) निर्माण भइरहेको छ । भवनको भूइँ र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम सुरु गरिएको इञ्जिनियर यादवले जानकारी दिए । ‘साढे तीनतला अग्लो भवनको अन्तिम तलाको ढलान यही जेठ ६ गते सम्पन्न गरेका छौँ । अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाएर काम गरिरहेका छौँ’, उनले भने, ‘संरचनाको काम सम्पन्न भइसकेको छ । असार मसान्तभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने योजनाअनुसरा तीव्रता दिएका छौँ ।’ आगामी साउन १ गतेदेखि रङरोगनको काम सुरु गरेर निर्धारित समयमा भवन हस्तान्तरण गर्नेगरी कामलाई तीव्रता दिइएको इञ्जिनियर यादवले जानकारी दिए । विसं २०७९ साउन २६ गते सम्झौता गरी गत माघ २३ सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि आगामी साउन २५ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरिएको उनको भनाइ छ । जग्गा विवादका कारण ढिलागरी काम सुरु भएको भन्दै भवन गुणस्तरीय बनाउन, थपिएको मितिमा सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईले जानकारी दिए । ‘सुरुमा जग्गा विवादले सम्झौता ढिलो भयो । वर्षाको समयमा सम्झौता भएकाले ठेकेदार कम्पनीले काम गर्न सकेनन्’, उनले भने, ‘अहिले छ महिनाको म्याद थप भएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।’ प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईले शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, १० र १५ शय्याका तीन सय नौ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐँसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो । अस्पतालका लागि स्थानीय पर्शुराज भण्डारीले ३० लाख रुपैयाँ बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारको लगानीमा सुरु गरिएको पालिकास्तरीय अस्पतालको काम अन्तिम चरणमा पुग्दा स्थानीय हर्षित भएका छन् । स्थनीयस्तरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश वडावासी अहिले पनि ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् । रासस
बढ्दो गर्मीले विद्यालय बन्द, खोप अभियान स्थगित
भरतपुर । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । खोप अभियान स्थगित अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए । सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने उनले जानकारी दिए ।