टिभिएसको नयाँ बाइकमा समस्या, पीडित भन्छन्,-‘कम्पनीले फिर्ता लिओस्, म चड्दै चड्दिन’

काठमाडौं । प्रकाश श्रेष्ठ पेशाले बैंकर हुन् । बैंकिङ क्षेत्रमा काम गरेको उनले करिब एक दशक भयो । आफू बैंकिङ क्षेत्रमा काम गर्ने भएकाले उनले अन्य क्षेत्रमा पनि कर्मचारीहरूले बैंकिङ क्षेत्रको जस्तो व्यवहार गर्छन् भन्ने सोचेका छन् । उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट मोटरसाइकल खरिद गरे । उनले २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेर घर फर्किए । अघिल्लो दिन मोटरसाइकल खरिद गरेर खुसी हुँदै घर फर्केका उनी अर्को दिन बिहानै निराश बन्नु पर्यो । खरिद गरेको दोस्रो दिनमा मोटरसाइकलमा समस्या देखियो । उनले बाइक स्टार्ट गर्न खोजे पनि स्टार्ट भएन । पटक–पटक प्रयास गर्दा बल्लतल्ल स्टार्ट भयो । उनले मनमनै सोचे, ‘चिसोको मौसम भएर ब्याट्री डाउन भएको होला ।’ तर, जमल सोरूमलाई बाइक स्टार्ट भएन भनेर जानकारी भने गराए । तेस्रो दिन पनि त्यस्तै समस्या देखियो । उनले केही दिन त बाइक तातेपछि सुधार होला भन्ने सोचे । अफिस जानु १० मिनेट अगाडि नै बाइक स्टार्ट गरेर खाना खान जान्थे । तर, पनि समस्या निरन्तर दोहोरियो । दैनिक समस्या आउन थालेपछि जमल सोरूममा गएर देखाउँदा कर्मचारीले उनलाई टेकु सर्भिस सेन्टर गएर देखाउन सुझाव दिए । सोही बमोजिम उनी टेुक सर्भिस सेन्टर पुगे । ‘मैले जनवरी फर्स्टमा जमल सोरूमबाट टीभीएसको राइडर बाइक किनेको हुँ, बाइक किनेको डे वानदेखि समस्या आयो, एक/डेढ सय किलोमिटर मात्रै कुदाएर कम्पनीलाई जानकारी गराउँदा सर्भिस सेन्टर जाउ भन्यो,’ उनले गुनासो गर्दै भने, ‘सामान्य समस्या होला भनेर सर्भिस सेन्टर गएँ, सर्भिस सेन्टरमा देखाउँदा केही भएको छैन, एकचोटी बन्द गरेर फेरी स्टार्ट गर्याे भने स्टार्ट हुन्छ भन्याे, यो समस्या सबैकोमा हुन्छ भनेर सहज उत्तर दिएर फर्काए ।’ उनका अनुसार तीन महिना नवित्दै उक्त बाइकलाई धेरै पटक सर्भिस सेन्टरमा देखाइसके । कम्पनीका धेरै व्यक्तिसँग कुरा गसिकेका छन् । उनी टेकु सर्भिस सेन्टरमा मात्रै ३/४ पटक धाइसके । बाइकमा समस्या आउँदा सानो भर्याङ सर्भिस सेन्टर पनि पुगे । तर, उनी बैंकर भएकाले सधैं सर्भिस सेन्टर धाउन सक्ने अवस्था थिएन । अफिसले पनि सधैं बिदा दिने अवस्था थिएन । ‘साढे ९ बजे अफिस आउनुपर्छ, केही दिन बिदा लिएर सर्भिस सेन्टर गएँ, इन्जिनियरले बाइक परीक्षण गरेपछि केही पनि समस्या छैन । तैपनि ब्याट्री फेरिदिन्छु भन्नुभयो, जबकी २ सय किलोमिटर पनि कुदेको थिएन,’ उनले भने, ‘२ लाख ६६ हजार रुपैयाँ नगदमा खरिद गरेको बाइकमा पहिलो दिन नै समस्या आउँदा पीडा भयो ।’ कम्पनीले ब्याट्रीमा समस्या हुन सक्ने आँकलन गर्दै ब्याट्री पनि फेर्यो । तर, समस्या पुरानै दोहोरियो । एकदिन त कम्पनीबाटै मान्छेहरू आएर बाइक लगेर गएको उनले सुनाए । तर, कम्पनीबाट फेरि कुनै समस्या छैन भन्ने कुरा आयो । उनले फेरि कम्पनीमा गएर ल्याए । तर, फेरि स्टार्ट नै नहुने समस्या देखियो । सामान्य समस्या होला भनेर एडजस्ट गरिरहेका बैंकर श्रेष्ठ बाइकको इन्जिनमा पछि समस्या आयो भनियो । ६/७ सय किलोमिटर मात्रै कुदेको बाइको इन्जिनमा समस्या देखियो भनेपछि उनी अचम्ममा परे । उनको बाइकबाट ट्रयाक्टरको जस्तै आवाज आउन थालेपछि कम्पनीले इन्जिन पनि फेरिदियो । जतिपटक समस्या आउँछ उनी कम्पनीलाई जानकारी गराउँछन् । तर, उनले फोन गर्दा कर्मचारीले पनि सहज रूपमा उत्तर नदिने, झर्किएर बोल्ने गरेको गुनासो उनको छ । ‘सोरुममा फोन गर्दा म व्यस्त छु, तपाईंको मात्रै काम होर भनेर फोन काट्नु हुन्छ, सोरुमको कर्मचारीले मलाई नराम्रो व्यवहार गरिन्, तपाईंलाई जे मन लाग्छ, त्यही गर्नुहोस् भन्ने जस्ता व्यवहार गर्नु भयो,’ श्रेष्ठले गुनासो गर्दै भने, ‘समस्यामा परेको ग्राहकको समस्या समाधान गर्नुको साँटो जे गर्न सक्छस् त्यही गर भन्ने अभिव्यक्ति दियो ।’ निरन्तर बाइकमा समस्या आएपछि उनले आफ्नो पैसा फिर्ताको माग गरेका छन् । ‘मलाई बाइक सर्भिसमा लिँदा लिँदै इरिटेड भइसकेँ, एउटा लेभलसम्म सहन सकिन्छ । तर, अब त्यो लेभल कटिसकेको छ । बाइक फिर्ता दिएर मेरो पैसा फिर्ता दिनुपर्छ,’ उनले भने । टीभीएस काठमाडौंका इन्चार्ज पुजन श्रेष्ठका अनुसार बाइकमा समस्या आएपछि कम्पनीले बनाइदिन सक्छ । बिक्री भइसकेको बाइक फिर्ता हुने अवस्था भने छैन । यस विषयमा आफूले कम्पनीको माथिल्लो तहमा जानकारी गराइसकेको जानकारी दिए । ‘उहाँको बाइकमा समस्या भएको सत्य हो, उहाँको पीडा मैले पनि महसुस गरेको छु, इन्जिनमा समस्या आउनु स्वाभाविक पनि हो । तर, उहाँले बाइक फिर्ता गर्नु पर्ने माग पूरा गर्न मेरो अथोरिटीमा छैन, उहाँले राख्नु भएको मागका लागि माथिल्लो तहमा जानकारी गरेको छु, माथिबाट जे निर्णय आउँछ मैले त्यही कार्यान्वयन गर्छु,’ उनले भने, ‘बाइक बिक्री गर्दा टम्स एण्ड कण्डिसन अनुसार वारेन्टी कार्ड दिइएको हुन्छ, त्यसमा बाइक फिर्ता गर्दैनौं । पार्टपुर्जाहरू फेरिदिने भनेर उल्लेख गरिएको हुन्छ ।’ सवारी साधनमा समस्या देखिएपछि यसअघि विद्युतीय सवारी निर्माता टेस्लाले बिक्री भइसकेको गाडी पनि फिर्ता लिएको थियो । टेस्लाको गाडीको ब्रेक, पार्क र एन्टीलक ब्रेक सिस्टम (एबीएस)को वार्निङ लाइट देखाउने इन्स्ट्रुमेन्टल प्यानलमा अक्षरको आकार सानो भएपछि कम्पनीले अमेरिकी ग्राहकबाट गाडी फिर्ता लगेको थियो । संसारमा यस्ता उदाहरण धेरै भएपनि नेपाली उपभाेक्ताले भने त्यस्ताे सुविधा पाएका छैनन् ।

आफ्नै समस्याले फुरेको दिलिशाको बिजनेस आइडिया

काठमाडौं । उनीसँगै पढेका साथीहरू नेपालमा कोही छैनन् । कहिलेकाहीँ साथीहरूसँग गफ गर्न मन लाग्दा होस् या खाजा खान निस्कँदा कोही हुँदैन । त्यो बेला उनलाई एक्लो महसुस हुन्छ । तर, उनलाई यही कुरा सोचेर बस्ने फुर्सद भने छैन । आफूले सुरू गरेको व्यवसायलाई कसरी माथि उकास्ने, आफुले उत्पादन गरेको वस्तुलाई कसरी लक्षित वर्गमा पुर्याउन सकिन्छ भन्ने ध्याउन्नमा उनी हुन्छिन । उनी अर्थात नाम दिलिशा श्रेष्ठ । उनले महिनावारी पेन्टी उत्पादन गर्ने कम्पनी खोलेर अहिले सोही काम गरिरहेकी छन् । २२ वर्षकी एउटी किशोरीलाई नेपालमै केही गर्नुपर्छ, स्वरोजगार बन्नुपर्छ, त्यो पनि अरू भन्दा फरक व्यवसाय । यो जिज्ञासा हामीले उनीसँग राख्यौं । जवाफमा उनले भनिन्, ‘आफ्नै भोगाइले ।’ दिलिशाको परिवार नेपाली कपडाको म्यानुफ्याक्चरमा पहिल्यैदेखि काम गर्थ्याे। उनी १८ वर्षकी हुँदा उनले पनि काम गरिन् । नेपालबाट अमेरिका, अस्ट्रेलिया पठाउने गर्थिन् । उनी कपडाका बारेमा अलि नजिकबाट बुझ्थिन् । उनलाई अब आफैंले केही गर्नुपर्छ भन्ने त्यही बेलादेखि लागिसकेको थियो । तर, गर्ने के यसको लागि अध्ययन गर्न थालिन् । उनलाई महिनावारी हुँदा सबैभन्दा ठूलो पीडा कसरी रगतको व्यवस्थापन गर्ने भन्ने लाग्थ्यो । बजारको प्याड प्रयोग गर्दा चिलाउने, गन्ध आउने र रगत पुरै लुगामा लाग्दा हरेक महिनाको पाँच दिन पट्यार लाग्दा हुन्थे । महिनावारी व्यवस्थापनका लागि बजारमा प्याड बाहेक धेरै सामानहरू आइसकेका थिए । उनलाई यही विषयमा तर, फरक काम गर्न मन लाग्यो । उनले यो विषयमा अध्ययन गर्न थालिन् । उनले बजारमा आएका महिनावारीको रगत व्यवस्थापन गर्ने सामान प्रयोग गरिरहेका महिलाहरूलाई भेट्न थालिन् । उनीहरूको अनुभव सुनिन् । उनले आफ्नो जस्तै समस्या धेरै महिलाले भोगेको जानकारी पाइन् । त्यसपछि ल्यापटप लिएर सर्च गर्न थालिन् के हुन सक्छ उपर्युक्त सामाग्री । उनले खोज्दै जाँदा अन्डरवेरको बारेमा थाहा पाइन् । अमेरिका लगायत युरोपेली मुलुकमा महिनावारी पेन्टी प्रयोगमा आएको थाहा पाइन् । त्यसपछि उनले अब नेपालमै यही विषयमा काम गर्ने योजना बनाइन् । उनले बनाएको योजना साथीभाइलाई सुनाइन् । कतिपयले राम्रो काम गर भन्दै उत्प्रेणा जगाए, कसैले भने नेपालमा बसेर यस्तो काम गर्दा के होला भन्ने अड्कलाबाजी काटे । दिलिशालाई भने मनबाटै अब म यो काम गर्छु भन्ने लागिसकेको थियो । उनले आफ्नो योजनाबारे घरमा भने बताइनन् । किनकी उनलाई थाहा थियो घरपरिवारबाट साथ पाइँदैन भनेर । किनकी उनको बाआमालाई छोरी पढेर सकेपछि विदेश जाओस् नभए नेपालमै भएपनि राम्रो काम गरोस् भन्ने थियो । ‘परिवारको सोच एकातिर मेरो सोच अर्कोतिर, कुरै मिलेन उनी भन्छिन्, ‘म जे गर्छु भन्ने सोच बनाउँछु, त्यो पुरा गरेरै छाड्छु, चाहे घाटा होस् या नाफा, यो काम पनि मैले सोच बनाएँ, अहिले गरिरहेकी छु ।’ त्यसपछि स्थापना भयो ‘फ्लोई भेन्चर’ कुनै पनि काम गर्ने मन लाग्यो भन्दैमा भोलिदेखि नै गर्न असम्भव छ । त्यसका लागि केही नीति नियमको पनि पालना गर्नुपर्छ । कुनैपनि उद्योग व्यवसाय सुरु गर्दा संस्था दर्ता गर्नुृपर्छ । दिलिशाले नेपालमा महिनावारी पेन्टी उत्पादन गर्ने निर्णयमा उनका चार जना साथीले सहयोग गरे । सबैजना मिलेर कम्पनीको नाम तय गरे । कम्पनीको नाम रह्यो ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ । कम्पनी दर्ता गर्न कहाँ जाने, के गर्ने भन्ने थाहा थिएन । उनले सोध्दै, बुझ्दै थाहा पाइन् । कहिले के नमिल्ने, कहिले केही नमिल्ने हुँदा एउटै कार्यालय पनि दई/तीन पटक धाउनु पर्यो । कतिपय कार्यालयमा जाँदा झर्केर बोल्ने, असहयोगी व्यवहार हुन्थ्यो भने कतिपयले राम्रो व्यवहार गर्थे । ‘आफूलाई काम गर्नुछ भने नम्र हुनुपर्ने रहेछ, ‘आफ्नो काम फुत्काउनु थियो त्यसका लागि पनि म नम्र बालेर प्रस्तुत हुन्थें, धेरै कुराहरू अनुभवले पनि सिकाउँदो रहेछ,’ सरकारी कार्यालयमा भोग्नु परेको भोगाइ सुनाउँदै उनले भनिन् । महिनावारी पेन्टीको उत्पादन दिलिशाको कम्पनीले उत्पादन गर्ने ‘महिनावारी पेन्टी’ हो । यो लगाएपछि महिनावारी हुँदा प्याड लगाउनु पर्दैन । यसले ब्लड निस्कने बित्तिकै सोस्छ । यो कपडा नेपालमा पाइँदैन । भारत र चीनबाट ल्याउनुपर्छ । तर, सिलाउने काम नेपालमै गरिन्छ । यसलाई कसरी तयार पार्ने भनेर एक जनाले फ्याक्ट्रीमै बस्नुपर्छ । सप्लायर्ससँग कुरा गरेर कपडा ल्याइन्छ । सो कपडा म्यानुफ्याक्चरिङमा पठाएर डिजायन कटिङ गरी मास्टरसँग बसेर सिलाउने र त्यसपछि गुणस्तर जाँच गरेर सामान तयार पारिन्छ । यसरी तयार पारिएको पेन्टी बजारमा पठाइने गरिन्छ । दिलिशाले अफिसका लागि घरबाट डाइनिङ टेबुल ल्याइन् । पाँच जना साथीहरू एउटा टेबुलमा बसेर काम सुरू गरे । ‘सास फेर्न बाहिर आउनुपथ्र्यो,’ उनी भन्छिन् ‘कोठाभरी कपडा थिए, खाली ठाउँ नै थिएन ग्वाम्म परेको कोठामा राम्ररी हावासमेत पस्दैन थियो स्वास नै राम्ररी फेर्न मिल्ने थिएन ।’ ८ महिना त्यही गोदामबाट काम सुरु भयो । त्यसपछि न्यूरोडमा दुइटा प्ल्याट भाडामा लिएर काम गर्न सुरु गरियो । अहिले पनि त्यहीबाट काम भइरहेको छ । यस्तो अवस्थाबाट सुरु गरेको व्यवसाय राम्ररी चलिरहेको थियो । अनलाइन, टिकटक, चिनेजानेकाहरूले सामान लिइरहेका थिए । तर, अहिले महिनावारी पेन्टीको माग बजारमा बढेको छ । ‘थोरै लगानीबाट काम सुरु गरेकोले होला, अहिले पनि पैसा भएपनि अनावश्यक कुरामा खर्च गरिहाल्न मन लाग्दैन,’ उनले सुनाइन् । महानगरले दिएन पाँच लाख रुपैयाँ उनले काम सुरु गरेकै बेला युएनडीपी र काठमाडौं महानगरको साझेदारीमा ‘हामी बनाउँछौँ हाम्रो काठमाडौँ’ भन्ने अभियान अन्तर्गत काठमाडौँ इम्प्याक्ट हबले केही फरक तर स्वास्थ्य र वातावरणलाई असर नपर्ने खालको व्यवसाय गर्न चाहने युवाहरू खोजेको थियो । दिलिशाले त्यसमा आवेदन दिइन् । त्यसमा १० जना युवालाई पाँच÷पाँच लाखका दरले रकम दिने भनिएको थियो । १० जनामा छनोट भए । तर, उनले अझै पैसा पाएकी छैनन् । त्यो कार्यक्रम पछि उनलाई धेरै जनाले चिने र उनको बिजनेसबारे धेरैलाई जानकारी भयो । उनका अनुसार दुई वर्षदेखि काठमाडौं महानगरले पाँच लाख रुपैयाँ दिएको छैन । ‘पैसाका लागि महानगर धाउदा धाउँदै गलिसकेँ । तर, पैसा पाइएको छैन, जनप्रतिनिधि, कर्मचारी परिवर्तन भए, सिस्टम पुरै परिवर्तन भयो, कोही म्याद सकियो भन्छन्, कोही यसको म्याद थप्नलाई मिटिङ बस्नुपर्छ भन्छन्, पैसा पाउने छाँटकाँट छैन,’ निराश हुँदै उनले भनिन् । टिकाउ पनि, सस्तो पनि ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ ले उत्पादन गरेको महिनावारी पेन्टीको मूल्य १ हजार २ सय रुपैयाँ पर्छ । झट्ट सुन्दा महँगो जस्तो लागे पनि यो लामो समयसम्म टिकाउ हुन्छ । महिनावारी हुँदा करिव दुई/तीन सयको प्याड किन्नुपर्छ । यो १२ महिनाको दरले हिसाब गर्दा पनि वार्षीक तीन/चार हजार रुपैयाँ प्याडको लागि खर्च गर्नु पर्ने हुनछ । तर, प्याडको तुलनामा यो सस्तो छ । यो पेन्टी एक पटक किन्दा वर्ष दिनसम्म टिकाउ हुन्छ । उनले यो व्यवसाय सुरु गरेको तीन वर्ष पुरा भयो । तीन वर्षको अवधिमा उनले इन हाउस इन्टर्न, पार्टटाइम र मार्केटिङ गरी १२ जना कर्मचारी राखेकी छन् । २० लाखबाट सुरू गरिसकेको व्यवसाय अहिले करोडौंको पुगेको छ । उनले बनाएका पेन्टी प्रयोग गर्ने ६० प्रतिशत महिला उपत्यका भित्रैका छन् । बाँकी ४० प्रतिशत मात्र उपत्यका बाहिर जाने गरेको उनको भनाइ छ । अब दक्षिण एशियामा आफूले उत्पादन गरेको पेन्टी पठाउने उनको योजना छ । उनी विस्तारै माग पनि बढ्दै गएको बताइन् । टिकटक बन्द भएपछि समस्या दिलिशा नेपालमै बसेर केही गर्छु भन्दा पनि गरिखाने वातावरण नभएको गुनासो गर्छिन् । उनले सञ्चालन गरेको व्यवसायको मार्केट भनेको अनलाइन हो । त्यसमा पनि सामाजिक सञ्जालमा अर्डर धेरै आउँछ । फेसबुक इन्स्टाग्राम मार्फत महिलाहरू अर्डर गर्ने गर्छन् । अझ यसको मुख्य ग्राहक तान्ने स्रोत भनेको टिकटक थियो । तर, सरकारले टिकटक बन्द गरेपछि आफ्नो व्यवसायमा ५० प्रतिशत गिरावट आएको उनको गुनासो छ । ‘पहिले टिकटकबाटै यो विषयमा बुझाउन सकिन्थ्यो,’ उनी भन्छिन्,‘ धेरैले यो विषयमा बुझ्थे, चित्त बुझे अर्डर गर्थे । तर, अहिले टिकटक नै बन्द भयो, मेरा ग्राहक नै घटे ।’ उनी अहिलेका स्थानीय जनप्रतिनिधि र सरकारले राम्रो सिस्टम बनाइदिए मात्र पनि आफुहरूलाई काम गर्न सजिलो हुने बताउँछिन् । कुनै पनि सामान आफैंले उत्पादन गर्यो भने त्यसलाई मार्केटसम्म पुर्याउन अहिले सबैभन्दा सहज भनेको अनलाइन छ । सामाजिक सञ्जालले झन सहयोग गर्छ । तर, सरकारले अनलाईन र यस्ता सामाजिक सञ्जाल नै बन्द गरिदिन थालेपछि आफूहरू जस्ता व्यवसायीलाई समस्या भएको उनको भनाइ छ । कर्जा पाउन पनि सकस सरकारले व्यवसाय गर्ने महिला उद्यमीलाई सस्तो ब्याजमा कर्जा दिने सरकारले घोषणा गरिरहेको छ । तर, उनले आफूले सस्तो ब्याजभन्दा पनि कर्जा नै नपाएको गुनासो गरिन् । उनले आफूले कर्जाका लागि विभिन्न बैंक धाएको लामो समय भएपनि नपाएको बताइन् । उनले पहुँच नभएकालाई कर्जा पाउन पनि मुस्किल रहेको सुनाइन् । सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गरेर अगाडि लग्नु पर्ने ठाउँमा वास्ता नै नगर्दा समस्या भएको गुनासो गरिन् । यसमा सरकारले मनिटरिङको काम मात्र गरिदिने हो भने आफूजस्ता उद्यमीलाई सजिलो हुने उनी बताउँछिन् । ‘अहिले हरेक सरकारी विद्यालयमा सरकारले प्याड बाँड्छ, त्यसको सट्टा नेपालमा उत्पादन भएका फेरि प्रयोग गर्न मिल्ने खालका सामानहरू वितरण गरिदिए छात्रालाई पनि सजिलो र हामीलाई हौसला मिल्थ्यो,’ उनले भनिन् । आशा र निराशाभित्र व्यवसाय दिलिशा अहिले २४ वर्षकी भइन् । नेपालमै फरक व्यवसाय सुरु गर्दा आशा र चिन्ता पनि छ । आशा विस्तारै महिलाहरू यो विषयमा जानकार हुँदैछन् । भोली रामै्र गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । नेपालको राजनीतिक माहोल, नीति नियमले कतै गर्न सकिँदैन की भन्ने त्रास पनि उनमा छ । उनलाई यो विषयले कहिले काहीँ पिरोल्छ पनि । अहिले उनकासामु चुनौतीका चाङ छन् । उनलाई निराशा हुँदा विदेश जान मन लाग्छ । तर, आफ्नो मिहिनेत हेर्दा नेपालमै गर्छु भन्ने लाग्छ । ‘म के गरिरहेछु, के मैले साँच्चिकै राम्रो काम गरिरहेको छु त? यहाँ बसेर मेरो भष्यि छ कि छैन भन्ने प्रश्न अहिले पनि उठ्छ,’ उनी भन्छिन्, ‘यहाँको मानिसले मलाई बुझछन् कि बुझदैनन् भन्ने लाग्छ, सबैजना विदेश गएको देख्दा कता/कता एक्लोपन महसुस हुन्छ । तर, मैले यो किन सुरु गरेको थिएँ भन्ने कुराले काम गर्नलाई धकेलिरहेको हुन्छ ।’ उनी आफूलाई कसैले नपत्याइरहेको बेला आफैंले आफैंलाई पत्याएर व्यापार गरेर उनी सुनाउँछिन् । ‘एक्लोपना, खालिपना, रित्तोपना हुन्छ, सिस्टम त केही छै, यो देशमा म किन बसिरहेको छु भन्ने लाग्छ,’ निराश हुँदै उनी थप्छिन् । पछिल्लो समय साथीभाइ तथा आफन्तहरू उनलाई विदेश जाँदा उनलाई पनि धेरैले विदेश जान सल्लाह दिन्छन् । तर, उनी स्वदेशमै केही गर्न चाहन्छिन् । एकातिर पढाइ, अर्कोतिर विज्नेस गर्दा समय मिलाउन गाह्रो हुन्छ । तर, उनी मिलाउन जान्यो भने सहज हुने बताउँछिन् । नेतृत्व कला भयो भने समय मिलाउन पनि सकिन्छ । उनी बिहान ५ बजे उठरे कलेज जान्छिन् । ८ बजेर राति ८ बजे पुग्छिन् । घरमा गएर पनि उनलाई सुतिहाल्न मन लाग्दैन । बजारमा के सामान नयाँ आएको छ भन्दै खोजि गर्छिन् । भोलि/पर्सीको काम कसरी बनाउने योजना बनाउँछिन् । उनी भन्छिन्, ‘शरीर थाकिसकेको हुन्छ, दिमागले सोचिरहेको हुन्छ ।’

मदिरा पिउन सोखिन नेपाली, दश वर्षमा भित्रियो साढे २८ अर्ब रुपैयाँको मदिरा

काठमाडौं । नेपालमा वर्षेनी रुपमा अर्बौं रुपैयाँ बराबरको मदिरा आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म अर्थात् पछिल्लो पाँच वर्षमा नेपालमा २८ अर्ब ५९ करोड २४ लाख ६ हजार ६५८ रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउनका लागि प्रयोग हुने कच्चापदार्थ नेपालमा आयात भएको छ । चालु आर्थिक वर्ष(आव) को ८ महिनामा भने २ अर्ब ५८ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नेपालमा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै, गत आवमा २ अर्ब ९८ करोड ९३ लाख २९ हजार रुपैयाँ, आव ०७८/७९ मा ३ अर्ब ७१ करोड १५ लाख १७ हजार रुपैयाँ, आव ०७७/७८ मा २ अर्ब ६५ करोड ७ लाख १० हजार रुपैयाँ र आव ०७६/७७ मा ३ अर्ब ३ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने कच्चा पदार्थ आयात भएको थियो । आव ०७५/७६ मा ३ अर्ब ५४ करोड ८२ लाख ८६ हजार १४० रुपैयाँ, आव ०७४/७५ मा ३ अर्ब ३ करोड ३८ लाख ३२ हजार २३० रुपैयाँ, आव ०७३/७४ मा ३ अर्ब १२ करोड ३२ लाख ८० हजार २८८, आव ०७२/७३ मा २ अर्ब २० करोड १४ लाख ९३ हजार रुपैयाँ बराबर र आव ०७१/७२ मा १ अर्ब ७१ करोड ८९ लाख ९३ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । १० वर्षको मदिरा आयातको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७१/७२ मा बाहेक अन्य आर्थिक वर्षमा मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थको आयातमा वार्षिक २ अर्ब रुपैयाँ भन्दा खर्च हुँदै आएको देखिन्छ । त्यस्तै, सरकारले मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थको आयातबाट आयातमा भएको भन्दा दोब्बर रुपैयाँ भन्सार महसुल बापत आम्दानी गर्दै आएको छ । तथ्यांकअनुसार नेपालमा चीन, भारत, फिलिपिन्स, सिंगापुर, मेक्सिको, फ्रान्स, बेल्जियम, जर्मनी, आयरल्यान्ड, बेलायत, इटाली, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, दक्षिण अफ्रिका, अर्जेन्टिना, चिली, अमेरिका, पोर्चुगल, स्पेन, बुल्गेरिया, न्युजिल्यान्डलगायत मुलुकबाट मदिरा आयात हुने गरेको छ । यस्तै, रोमाानिया, श्रीलंका, इरान, रसिया, मेक्सिको, पोल्यान्ड, सिंगापुर, यूएई, स्वीडेन, ब्राजिल, कोरिया, डेनमार्क, फिलिपिन्स, चेक रिपब्लिक, थाइल्यान्ड, इक्वेडर, भ्याटिकन सिटी, रोमानिया, युक्रेन, क्यानडा, क्युवा, आइसल्यान्ड र टर्कीबाट पनि मदिरा र मदिार बनाउने कच्चापदार्थ आयात हुने गरेको छ ।