सहकारी सङ्कट समाधानमा अमेरिकी अनुभव, ४ हजारको संख्यालाई २४१ मा झारियो
सहकारी संस्थामा जे समस्या रहेको हुन्छ, त्यसको निराकरण गर्नु सहकारी सङ्कटको समाधान हो । जुन कारणले सङ्कट भएको हो, त्यसको कारण र सङ्कट समाधानको मार्ग पत्ता लगाई राज्यको सक्रियतामा समस्याको समाधान गर्नु नै सहकारी सङ्कटको समाधान हो । सङ्कटको समाधान सहकारीलाई पूर्ववत् रूपमा सञ्चालन गर्ने अवस्थामा फर्काउनु वा हरहिसाब फरफारक गरी चल्न नसक्ने संस्थाको खारेजी गर्नु सम्मका कार्य सङ्कटको समाधान अन्तर्गत पर्दछन् । सहकारीको समस्या समाधानमा समस्याको कारण प्रमुख रहन्छ । के कारणले समस्या भएको थियो, त्यसको कारण पहिचान गरी त्यसमा समाधानको मार्ग खोजिन्छ । यस्तो प्रक्रियामा नियमित कानूनी प्रबन्ध बाहेक सूर्यास्त प्रकृतिका कानूनी र संस्थागत प्रबन्ध गरेर समस्याको समाधानको मार्ग खोज्ने पनि गरिन्छ । नेपालको सहकारी सङ्कटलाई हेर्दा मुख्यतः तीन खालका प्रवृत्ति नियतजन्य समस्या, परिस्थितिजन्य समस्या र कानूनी रिक्तताको कारण सिर्जना भएको समस्या रहेको देखिन्छ । समाधानको मार्ग खोज्नु अगाडि कुन कारणले समस्या सिर्जना भएको हो भन्ने पहिचान गरिन्छ । त्यसैका आधारमा समाधानको मार्ग खोजिन्छ । सामान्यतया, नियतजन्य समस्यामा कानूनी उपचारको मार्ग अवलम्बन गरिनु उपयुक्त हुन्छ । परिस्थितिजन्य समस्या भएमा सरकारी प्रयासमा समस्या समाधानको प्रयास गरिन्छ । राज्यका तर्फबाट छुट वा सुविधा दिएर पनि समस्याको समाधान गर्न सकिन्छ । कानूनी रिक्तताको कारण सिर्जना भएको समस्यालाई बृहद् जनसमर्थनमा त्यस्तो मुद्दा उठाई कानूनी रूपान्तरणमार्फत समस्याको समाधान खोज्न अविलम्ब अग्रसरता लिनुपर्दछ । सेभिङ्गस् एण्ड लोन सङ्कट समाधानमा अमेरिकी अनुभव सन् १९८० को दशकमा संयुक्त राज्य अमेरिकाले देशभर रहेका सेभिङ्गस् एण्ड लोन एशोसियसनहरूमा ठूलो वित्तीय सङ्कटको सामना खेप्नुपरेको थियो । यी संस्थाहरूलाई थ्रिफ्ट्स् पनि भन्ने गरिन्छ । तिनीहरू करिब नेपालका बचत तथा ऋण सहकारी जस्तै थिए । उक्त सङ्कटबाट सेभिङ्गस् एण्ड लोन क्षेत्र मात्र नभई समग्र वित्तीय क्षेत्रले अत्यधिक समस्या भोग्नु परेको थियो । यसले गर्दा एक तिहाइ भन्दा बढी (एक हजार बढी) त्यस्ता संस्थाहरू बन्द भएका थिए । उक्त सङ्कट कस्तो पृष्ठभूमिमा, के कारणले आएको थियो र कसरी समाधान गरियो भन्ने जानकारी नेपालका वित्तीय सहकारीमा देखिएका समस्या समाधानको लागि सहयोगी हुन सक्ने देखिन्छ । सेभिङ्गस् एण्ड लोन कस्ता संस्था हुन् ? सन् १८०० ताका अमेरिकी बैंकहरूले आवासीय घरजग्गा कर्जामा लगानी नगर्ने गरेका कारण थ्रिफ्टहरूको उदय हुन गएको हो । थ्रिफ्ट एक प्रकारका साना बैंक नै हुन् । जसले आफ्नो सदस्य तथा सर्वसाधारणको बचत परिचालन गर्छन् अनि उक्त रकमलाई घरजग्गा कर्जाका रूपमा लगानी गर्दछन् । अमेरिकाको पहिलो सेभिङ्गस् एण्ड लोन पेन्सेलभेनिया राज्यमा सन् १८३१ मा थियो । थ्रिफ्टहरूको उत्पत्ति आम नागरिकहरूमा घरको स्वामित्व बढाउने सामाजिक लक्ष्यसँग जोडिएको थियो । थ्रिफ्टहरू मूल रूपमा आफ्नै घर खरिद गर्ने इच्छा भएका तर पर्याप्त बचतको अभाव भएका व्यक्तिहरूबाट स्थापना भएको थियो । थ्रिफ्टहरूले समूहका सदस्यहरूको बचत परिचालन गरेर समूहकै केही सदस्यहरूलाई ऋण वा वित्त उपलब्ध उपलब्ध गराउने उद्देश्य राखेका थिए । अर्को शब्दमा भन्नुपर्दा यी सामुहिक र आर्थिक हित पूर्तिका लागि स्थापना भएका वित्तीय सहकारी संस्थाहरू नै थिए । सन् १९८० को दशकसम्म आइपुग्दा थ्रिफ्टहरू बैंकको तुलनामा निकै कम थिए र समग्र सम्पत्ति पनि बैंकिङ क्षेत्रको भन्दा निकै कम थियो । तथापि अमेरिकी घरजग्गा कर्जा बजारको लागि थ्रिफ्टहरू निकै महत्वपूर्ण मानिन्थे । सन् १९८० मा अमेरिकामा करिब ४ हजार थ्रिफ्टहरूले लगभग ६ सय अर्ब डलर बराबरको कूल सम्पत्ति परिचालन गरेका थिए । त्यस समय कूल घरजग्गा धितो कर्जा ९६० अर्ब डलर रहेकोमा सोको आधा अर्थात करिब ४८० अर्ब डलर थ्रिफ्टहरूले परिचालन गरेका थिए । सङ्कट आउनु अगाडिको पृष्ठभूमि सन् १९७० को दशकमा विश्वले दुई ठूला उर्जा सङ्कटहरू भोग्नुपरेको थियो । जसले कच्चा तेलको लागत बढाएको थियो । त्यसको सिधा प्रभाव अमेरिकी अर्थतन्त्र र आर्थिक वृद्धिदरमा परेको थियो । पहिलो सङ्कट अक्टोबर १९७३ मा अरब मुलुकहरूले तेल निर्यातमा प्रतिबन्ध लगाएपछि भएकोमा लगभग पाँच महिनासम्म चल्यो । उक्त अवधिमा कच्चा तेलको मूल्य चार गुणासम्म बढ्यो । दोस्रो ऊर्जा सङ्कट इरानी क्रान्ति लगतै सन् १९७९ मा आएको थियो । जसले कच्चा तेलको मूल्य थप तीन गुणासम्म बढायो । आपूर्तिमा आएको समस्याका कारण मुद्रास्फीति दर १९७० को दशक र सन् १९८० मा उच्च रूपमा बढ्यो । मुद्रास्फिति दर नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वले बैंकदर बढाउदै लगेको थियो । डिसेम्बर, १९८० मा सो दर हालसम्मकै उच्च बिन्दू अर्थात २० प्रतिशत पुगेको थियो । सेभिङ्गस् एण्ड लोन सङ्कटका प्रमुख कारणहरू निक्षेप बीमाले सिर्जित नैतिक विचलन : सन् १९३४ देखि सङ्घीय निक्षेप बीमाको व्यवस्था थ्रिफ्टहरूमा समेत बिस्तार गरिएको थियो । जुन यस सङ्कटको मूल र तात्विक कारण हुन गयो । संघीय बचत तथा ऋण बीमा निगम (एफएसएलआईसी)ले थ्रिफ्ट्हरूको बचतको बीमा गरेको थियो । सुरुवातदेखि नै निक्षेप बिमाबापत लिइने प्रिमियमदर थ्रिफ्टहरूमा अन्तर्निहित वास्तविक जोखिममा आधारित थिएन । यसकारण सुरक्षित र जोखिमपूर्ण थ्रिफ्टले समान बीमा शूल्क बुझाउने गरेका थिए । यसप्रकारको बीमा शुल्क वा प्रिमियम संरचनाले नैतिक विचलनको अवस्था सिर्जना गर्यो र कमजोर वित्तीय संरचना भएका थ्रिफ्टहरूलाई सुधारका लागि पर्याप्त प्रोत्साहनभएन । अमेरिकाले सन् १९९१ मा मात्र थ्रिफ्टहरूका लागि जोखिममा आधारित निक्षेप बीमा प्रिमियम निर्धारण गर्न सुरू गयो । जोखिमपूर्ण सम्पत्ति दायित्व व्यवस्थापन : सन् १९३० को आर्थिक मन्दीपश्चात् अमेरिकी नीतिले सेभिङ्गस् एण्ड लोन एशोसियसनहरूलाई छोटो अवधिको निक्षेप मात्र स्वीकार गरी लामो अवधिको स्थीर ब्याजदरमा ऋण दिन बाध्य गरेको थियो । परिणामस्वरुप थ्रिफ्टहरूले एकल रूपमा सम्पूर्ण ब्याजदर जोखिम बहन गर्नुपरेको थियो । स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति उपयुक्त भएता पनि कमजोर वित्तीय अवस्था भएका थ्रिफ्टहरूमार्फत कार्यान्वयन गरिनु घातक साबित भयो । उक्त समयमा थ्रिफ्टहरूको सम्पत्ति र दायित्व व्यवस्थापन निकै जोखिमपूर्ण रहेको थियो किनकी लगानी गरिएका कर्जाहरूको अवधि परिचालन गरिएका निक्षेपको तुलनामा निकै बढी रहन्थ्यो । ब्याजदरसँग संवेदनशील निक्षेप, दायित्व र बेमेल सम्पत्ति तथा दायित्व भुक्तानी अवधिका कारणले ब्याजदर वृद्धिको असर थ्रिफ्टहरूको सुनाफा र नेटवर्थमा पर्याे । थ्रिफ्टहरूको खुद ब्याज आम्दानी ऋणात्मक भएका कारण सन् १९८१ र १९८२ मा समग्र सेभिङ्गस् एण्ड लोन क्षेत्रको कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर अन्तर क्रमशः १० प्रतिशत र ०.७ प्रतिशत (ऋणात्मक) रहेको थियो । राजनीतिक पहुँचका आधारमा त्यस्ता संस्थाहरूले नियमन खुकुलो पार्दै घरजग्गा भन्दा पनि बढी जोखिमयुक्त सट्टेबाजी लगानी पनि गरेका थिए । संस्थाहरूको नेटवर्थ घाटामा हुँदा पनि सम्पत्ति सञ्चालकहरूको ख्यातीलाई समावेश गरेर वासलात चाहिँ सन्तुलनमा रहेको नै देखाइन्थ्यो । ब्याजदर नियन्त्रण : अमेरिकी राज्यहरूले युज्री कानूनमार्फत थ्रिफ्टहरूले घरकर्जामा लिन मिल्ने ब्याजदरको माथिल्लो सीमा निर्धारण गरिदिएका थिए । ब्याजदरमा रहेको प्रतिबन्धका कारण थ्रिफ्टहरूले लगानी गरेका कर्जाहरूमा कायम गरिएको ब्याजदर बजार अनुसार बढाउन सक्दैन थिए । परिवर्तनीय ब्याजदर पद्धतिको अभावमा व्याजदरहरू बढ्दै जाँदा ब्याजदरहरूमा समयसापेक्ष समायोजन गर्न असमर्थ रही थ्रिफ्टहरूले कर्जामा प्राप्त गरेको ब्याज निक्षेपमा तिरेको भन्दा कम हुन जान्थ्यो । यसका अतिरिक्त सन् १९८२ सम्म घरधनीहरूले घर बिक्री गर्दा कम ब्याजदरका घरकर्जाहरू नयाँ खरिदकर्तालाई सोही दरमा हस्तान्तरण गर्ने प्रचलन समेत ब्यास रहेको थियो जसले थ्रिफ्टहरूको खुद ब्याज आम्दानी समयसमयमा ऋणात्मक हुन आउथ्यो । कर्जा एकाग्रता : ग्रिफ्टहरूले प्रदान गर्ने कर्जामा विविधता नभई एकै प्रकृतिका कर्जाहरूको अंश अत्यधिक रहेको थियो, खासगरी घरजग्गा कर्जा रहेको थियो । समय–समयमा थ्रिफ्टहरूले प्रान्तीय राज्यहरूले लिएका नीतिका कारणले घरजग्गाको मूल्यमा आउने उतारचढावको समेत सामना गर्नुपरेको थियो । घरजग्गाको कर नीति : रियलस्टेट् करमा व्यापक परिवर्तनका कारण सङ्कट अवधिमा रियल स्टेटको मूल्यमा व्यापक उतारचढाव ल्यायो । सन् १९८१ मा करमा दिइएको छुटका कारण घरजग्गाको मूल्य अत्यधिक बढ्न गएकोमा निर्माण कार्य तीव्र थियो । तर, सन् १९८६ मा कर नियमहरू कडा पारिँदा घरजग्गाको मूल्यमा हास आई ग्रिफ्टहरूले प्रदान गरेको ऋणहरूको वास्तविक मूल्यमा ह्रास आई घाटा भएको थियो । नियन्त्रणकारी मौद्रिक नीति : सन् १९७० को दशकदेखि तेल सङ्कटका कारण मूल्यवृद्धि भइरहेको थियो । मुद्रास्फिति दर नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वले बैंकदर बढाउँदै लगेको थियो, डिसेम्बर १९८० मा सो दर हालसम्मकै उच्च बिन्दू अर्थात २० प्रतिशत पुगेको थियो । ब्याजदरमा भएको वृद्धिले थ्रिफ्टहरूका लागि दुई समस्याहरू उत्पन्न भयो । पहिलो, यी थ्रिफ्टहरूले मुख्यतया अल्पकालीन बचत परिचालन गरी दीर्घकालीन स्थिर ब्याजदरमा घरकर्जा प्रवाह गरेका थिए । जसका कारण ब्याजदर बढेपश्चात ब्याज खर्चमा वृद्धि भएता पनि ब्याज आम्दानी स्थीर नै रह्यो । फलस्वरुप थ्रिफ्टहरूले प्रवाह गरेको कर्जाको वास्तविक मूल्य कम हुन गई समग्र सेभिङ्गस् एण्ड लोन क्षेत्रकै नेटवर्थ ऋणात्मक कायम हुन आयो । दोस्रो, त्यस समयमा अमेरिकी सङ्घीय कानूनअनुसार व्याजदर केही नियन्त्रित रहेका कारण थ्रिफ्टहरूले सङ्कलन गरेको निक्षेपमा दिन सक्ने ब्याजदरको माथिल्लो सीमा अन्य संस्थाहरू जस्तै कमाउन सकिने ब्याजदर भन्दा निकै तल रहेको थियो । जसले गर्दा बचतकर्ताहरूलाई आफ्नो रकम फिर्ता लिन अग्रसर गरायो । सोही कारण थ्रिफ्टहरूले केही समय तरलताको समस्या समेत भोग्नुपरेको थियो । अपूर्ण र अविवेकी डिरेगुलेसन : थ्रिफ्टहरूको सम्पत्तिमा आएको हास रोक्न अमेरिकी सरकारले सन् १९८० मा डिपोजिटरी संस्थाहरू नियमन र मौद्रिक नियन्त्रण ऐन पारित गरी सङ्कट समाधानका लागि नियमनमा कटौती गर्ने निर्णय गरेको थियो । तथापि निक्षेप बीमा कोषले भोगिरहेको नोक्सानलाई सामना गर्न पर्याप्त स्रोतसाधन उपलब्ध गराएन । सन् १९८० र १९८२ मा कानून निर्माता र नियामक निकायहरूले थ्रिफ्टहरूले गर्न सक्ने लगानीका प्रकारहरूमा रहेको प्रतिबन्ध हटायो । थ्रिफ्टहरूले अब आफ्नो सम्पत्तिको ४० प्रतिशतसम्म व्यावसायिक घरजग्गा कर्जामा लगानी गर्न सक्ने भए । तर, यस्तो कर्जा बिस्तार गर्दा आउन सक्ने जोखिमका बारेमा नियामकले समेत बेवास्ता गरेका थिए । सन् १९८३ मा लोन टूू भ्यालू अनुपात ७५ प्रतिशतबाट बढाई शतप्रतिशत कायम गरियो । साथै, एकल ग्राहक कर्जा सीमामा पनि वृद्धि गरी एकै व्यक्ति वा समूहलाई अत्यधिक ऋण दिने अनुमति प्रदान गरियो । नीति निर्माताहरूले टेक्सास राज्यमा कम नियमन भएका कारण त्यहाँका थ्रिफ्टहरूले राम्रो नाफा कमाएको र व्यवसाय वृद्धि गर्न सफल भएको गलत दृष्टान्त लिई डिरेगुलेसन सम्बन्धी कानूनहरू जारी गरेका थिए । तर, अन्त्यमा टेक्सस राज्य नै दिवालिया थ्रिफ्टहरूको केन्द्रबिन्दु बन्यो । सङ्कटका कारणले खारेज गरिएका थ्रिफ्टहरूमध्ये ४० प्रतिशत टेक्सस् राज्यमा दर्ता भई सञ्चालनमा रहेका थिए । बढी जोखिमयुक्त लगानीबाट उच्च नाफा आर्जन भई थ्रिफ्टहरू सवल बन्न सक्ने अपेक्षाका साथ ल्याइएका अधिकांश नीतिहरू कालान्तरमा प्रतिकूल साबित भए । पुँजी पर्याप्तता सम्बन्धी कमजोर मापदण्ड : सन् १९८० को दशकको सुरुवाती वर्षहरूमा नियामकहरूले थ्रिफ्टहरूको यथार्थ वित्तीय अबस्थालाई ढाकछोप गर्न पुँजीको मापदण्डलाई कमजोर बनाएका थिए । थ्रिफ्टहरू एकआपसमा गाभिँदा वा निसर्ग हुँदा अधिग्रहण गरिएका सम्पत्तिहरूको बजार मूल्य ग्रहण गरिएका दायित्वहरूको मूल्य भन्दा कम भएमा दुईबीचको फरकलाई गुडविलको रूपमा गणना गर्न अनुमति दिइयो । थ्रिफ्टहरूले किताबी मूल्यमा कूल सम्पत्तिको ५ प्रतिशत पुँजीकोष राख्नु पर्ने नियम संशोधन गरी सन् १९८२ मा ३ प्रतिशत कायम गरियो । यसले गर्दा थ्रिफ्टहरूलाई कम वास्तविक पुँजीमा सञ्चालन भइरहने मौका दियो । फलस्वरुप डिरेगुलेसनद्वारा अधिक जोखिम लिन प्रोत्साहन गरिएता पनि पुँजीको आकारमा सोही अनुरुप समानुपातिक वृद्धि हुन सकेन । कमजोर सुपरीवेक्षण र अधिक जोखिम लिन अनुमति दिने नियामकको खराब मनोवृत्तिका कारण पुँजीकोष ऋणात्मक रहेका थ्रिफ्टहरू समेत सञ्चालनमा रहिरहे । यसका अतिरिक्त आपराधिक मानसिकता भएका व्यक्तिहरूले समेत पैसा हिनामिना गर्न सफल भएका थिए । सन् १९८० देखि १९८३ को अवधिसम्ममा रियल स्टेट व्यवसायीहरूले नै थ्रिफ्ट स्थापना गर्ने वा आफ्नो नियन्त्रणमा लिई आफ्नै परियोजनामा लगानी गरे । सन् १९८० मा निक्षेप बीमाको सीमा ४० हजारबाट बढाएर १ लाख डलर पुर्याइयो । यसले दिवालिया थ्रिफ्टहरूलाई बजारबाट निक्षेप सङ्कलन गर्न झन सहज भयो । किनकि बचतकर्ताहरूले आफ्नो बचत सुरक्षित नै रहने भएकाले कमजोर वित्तीय अवस्था भएका थ्रिफ्टहरूमा समेत निक्षेप राख्ने भए । यसले गर्दा खराब थ्रिफ्टहरू लामो समयसम्म सञ्चालनमा रहिरहन सहज भइरह्यो । यस्तै नियामकीय र विधायकी परिवर्तनहरूको परिणामको स्वरूप थ्रिफ्ट क्षेत्रले द्रुत वृद्धिको अनुभव गर्यो । सन् १९८२ देखि १९८५ सम्म थ्रिफ्टहरूको समग्र सम्पत्ति ५६ प्रतिशतले बढ्यो, जुन बैंकिङ क्षेत्रको २४ प्रतिशतको वृद्धिको तुलनामा दोब्बर भन्दा बढी हो । सरकारको ढिलाइ र निस्क्रियता : सरकारको ढिलाइ र निस्क्रियता तथा राजनीतिक अनिच्छुकताका कारणले गर्दा समस्या पहिचान भएको लामो समयसम्म पनि सुधारका कार्यहरू गर्न आवश्यक कानूनी व्यवस्था गरिएन । टाट पल्टेका ब्रिफ्टहरूलाई खारेज गरी बिमा गरिएको निक्षेप भुक्तानी गर्न निक्षेप बिमा कोषलाई आवश्यक रकम उपलब्ध गराइएन । थ्रिफ्टहरूको निक्षेप बिमा गरेको संस्था संघीय बचत तथा ऋण बीमा निगमले दिवालिया हुने सँधारमा रहेका वा प्राविधिक रूपमा टाट पल्टिसकेका थ्रिफ्टहरूलाई समेत समयनै बन्द नगरेकोले थप घाटा व्यहोर्नु परेको थियो । सन् १९८३ मा नै दिवालिया थ्रिफ्टहरूलाई बन्द गर्ने एकदम उपयुक्त समय भएको भएता पनि सरकारले सो कार्यलाई पछिका लागि धकेल्यो । जसले समस्यालाई थप जटिल र समाधान थप खर्चिलो बनायो । समाधानका लागि चालिएका प्रयासहरू सन् १९८७ मा संघीय बचत तथा ऋण बीमा निगमलाई पुर्नपुँजीकरण गर्नका लागि सरकारले १०.८ अर्ब डलर मात्र उपलब्ध गराएको थियो । जबकि प्रक्षेपित लागत यसको कैयौँ गुणा बढी थियो । एफएसएलआईसी कोषमा रहेको घाटाको आकारलाई सुरुमै आम जनताबाट लुकाई सत्यतथ्य सार्वजनिक समेत गरिएको थिएन । सन् १९८८ मा मात्र पहिलोपटक एक अधिकारीले एफएसएलआईसी जोगाउनका लागि ३० देखि ३५ अर्ब डलर खर्च हुने बयान दिए । त्यसपछिको अर्को आठ महिनामा उक्त कार्यका लागि अनुमानित लागत ४६ अर्ब डलर पुगेको थियो । अन्ततः अमेरिकी संसद्ले सेभिङ्ग एण्ड लोन क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने निर्णय गर्यो । सन् १९८९ मा वित्तीय संस्था सुधार, रिकभरी र प्रवर्तन ऐन पारित गर्यो । जसले महत्वपूर्ण सुधारहरूका उपायहरू अवलम्बन गर्यो । प्रथम, यसले तत्कालीन नियामक संघीय गृह ऋण बैंक बोर्ड खारेज गरी बचत पर्यवेक्षण कार्यालयको स्थापना गर्यो । दोस्रो, दिवालिया एफएसएलआईसी खारेज गरी एफडीआईसी अन्तर्गत नै थ्रिफ्टहरूका लागि निक्षेप बीमा कोषको स्थापना गरिदियो । तेस्रो, रिजोलुसन ट्रस्ट कर्पोरेशन (आरटीसी)को स्थापना गरी बाँकी रहेका समस्याग्रस्त थ्रिफ्टहरूको फरफारक गर्न पर्याप्त स्रोत प्रदान गरियो । आवश्यक स्रोत भने एकैपटकमा उपलब्ध नगराई पटकपटक किस्ताबन्दीमा मात्र प्रदान गरिएको थियो । आरटीसीले ४०७ अर्ब भन्दा बढीको सम्पत्ति फरफारक गरी कूल ७४७ वटा थ्रिफ्टहरू बन्द गर्याे । एफएसएलआईसीले आरटीसी स्थापना हुन अगावै २९६ थ्रिफ्टहरू बन्द गरिसकेको थियो । यस सङ्कटका कारणले ५०० अर्ब डलर भन्दा बढी बराबरको सम्पत्ति नियन्त्रण गर्ने कूल १०४३ वटा थ्रिफ्टहरू बन्द भएका थिए । सन् १९९५ को अन्तिम दिनमा आरटीसी बन्द भएसँगै थ्रिफ्टहरूको सङ्कट आधिकारिक रूपमा समाप्त भयो । करदाताहरूको लागि अन्तिम लागत १२४ अर्ब डलर जति रहेको अनुमान गरिएको छ । अमेरिकी सरकारले सेभिङ्स् एण्ड लोन सङ्कटको अन्त्य भएपश्चात् सन् १९८९ देखि थ्रिफ्ट र वाणिज्य बैंकहरूको कार्यक्षेत्र र सीमालाई छुट्टयाउने परिधिहरू खारेज गर्न थाल्यो । आजका दिनमा थ्रिफ्ट र बैंकिङ उद्योगमा खासै तात्विक भिन्नता छैन । अधिकांश थ्रिफ्टहरू बैंकहरूमा नै गाभिएका वा बैंक होल्डिङ कम्पनीमार्फत समाहित भएका छन् । सन् २००४ को अन्त्यमा कूल ८८६ वटा थ्रिफ्टहरू रहेकोमा मे २०२४ को अन्त्यमा उक्त संख्या २४१ मात्र रहेको छ । (सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)
दशैंमा यसरी गरौं खानपान
ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठी । काठमाडौं । दशैंलाई खानपानको चाड पनि भनिन्छ । यो बेला नहुनेहरूले पनि ऋण काढेर अघिपछिको भन्दा मीठोमसिनो खाने गर्छन् । दशैंको बेलामा प्राय: सबैको घरमा अघिपछि खानेभन्दा अलि फरक पकवान पाक्छ । अझ चिल्लो गुलियो भएको खानेकुरा धेरै पाक्ने गर्छ । यो बेला मासु, मिठाइँलगायत धेरै खाने गरिन्छ । त्यसैले विचार पुर्याएर मात्र चाडपर्व मनाउनुपर्छ । पहिलो कुरा चाडबाडको समयमा मासु कम चिल्लो गरेर पकाउनुपर्छ । दोस्रो गुलियो चिनीबाट बनेको कुरा खाँदा ध्यान दिनुपर्छ । गुलियो खानेकुरालाई अहिले विभिन्न अध्ययनले अत्यधिक हानिकार भनेको छ । चिनीको कम प्रयोग गर्ने बानी बसालौं । यही बेला रमाइलो गर्न अत्यधिक मात्रामा धुम्रपान, मद्यपान गर्ने चलन पनि बढ्दै गएको छ । आजभोलि नेपालमा रिफाइन्ड खानेकुरा खाने चलन बढ्दो छ । पहिले घट्ट मिलमा पिनेको पिठो खाइन्थ्यो भने अहिले मैदाको चलन आएको छ । पहिलो शख्खर, गुड खाने चलन थियो भने अहिले चिनीको चलन । रिफाइन्ड खानेकुरा हानिकारक छ । अर्को कुरा- मासु खाने चलन पहिलेको भन्दा अहिले बढेको छ । पहिले मासु खान दशैं कुर्नुपर्थ्यो, अहिले त्यस्तो छैन । कतियले दिउँसोको खाजामा पनि मासु खाने गर्छन् । मासुमा बढी मात्रामा तेल, मरमसला हाल्ने, मासु खाँदा पनि अत्यधिक मात्रामा खाने चलन अहिले बढेको छ । मासु ठीक्क मात्रामा कसरी खाने? मासु खाँदा आफ्नो शरीरलाई अप्ठ्यारो नपर्ने गरी ठीक्क मात्रामा मिलाएर खानुपर्छ । सामान्य मान्छेले ०.५२१ मिलीग्राम परकेजी बोडीको हिसाबले प्रोटिन खाँदा राम्रो भनिन्छ । तर, यो हामीले भनेर हुँदैन । व्यक्ति आफैले आफ्नो शरीरलाई हेरी त्यसमा चिल्लो कम गरेर, स्वास्थ्यवर्धक तरिकाले पकाएर खान सकिन्छ । मासु भनेको मानव शरीरको लागि एउटा प्रोटिनको राम्रो स्रोत हो । त्यसबाहेक अन्य भिटामिन पनि पाइन्छ । मासु खाँदा विचार पुर्याउनुपर्ने कुरा भनेको बोसो धेरै भएको खान हुँदैन । अर्को सकेसम्म छाला नखाएकै बेस । किनकि छालामुनि बोसोको लेयर हुन्छ । अर्को आजभोलि पशुपालन गर्दा पनि पशुहरूलाई चाँडो बढाउन एन्टिबायोटिकदेखि लिएर हर्मोनको औषधि प्रयोग गर्ने गरेको सुनिन्छ । यसले स्वास्थ्यमा झन् समस्या बढाउँछ । यो बेला घरमै खसी काट्दा एकैचोटि धेरै मासु हुन्छ । जसलाई धेरै दिनसम्म खाने गरिन्छ । मासु कति दिनसम्म राख्न सकिन्छ त? मासु डीपफ्रीजमा राखेको कुरा खासै फरक पर्दैन । विदेशबाट पनि डीपफ्रीज भएर मासु आइरहेको हुन्छ । मासु कति दिनसम्म खान मिल्छ भन्ने कुरा वातावरणले पनि फरक पार्छ । अलिकति गर्मी ठाउँ छ भने बाहिर राख्दा मासु चाँडै बिग्रिन्छ । जाडो ठाउँमा अलि लामो समयसम्म पनि खान मिल्ला । सबैकुरा हेरेर भन्न सकिन्छ । अर्को कुरा सुकुटी बनाएर पनि मासु राख्न सकिन्छ । राताे मासुको जोखिम रातो मासु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सेतो मासुमा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । रातो मासुमा बोसो, आइरन र प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ । सेतो मासुका स्रोत कुखुरा, हाँस, टर्की र माछा हुन् । हानिकारक पेयपदार्थ दशैंकाे बेला नेपालीहरूले धेरै अल्कोहल खाने गरेको पनि पाइन्छ । तर यसो गर्नु स्वास्थ्यका हिसाबले खतरा हो । धेरैमात्रामा खाँदा पेट गडबड हुने, अपच हुने, वाकवाक लाग्ने समस्या देखा पर्न सक्छ । कसैलाई कोलेस्ट्रोल, सुगर, प्रेसर हुन सक्छ । दीर्घरोगीहरूले झन् बढी सतर्कता अपनाउनुपर्छ । अल्कोहल नखानेहरूले पनि कोकाकाेला, माउन्टेन ड्यू लगायतका काेल्डड्रिङ्स खाने गरेको पाइन्छ । यसले पनि शरीरलाई राम्रो गर्दैन । मासुको सट्टा फलफुल र सलाद धेरै मासुको सट्टा हरियो साग, फलफुल र सलादको प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रसिलो खानेकुरा खान मन लाग्दा फलफुलको जुस बनाएर खान सकिन्छ । सहजै पाइने दूध, दही र मोही खान सकिन्छ । अर्को कुरा मिठाइँ पनि धेरै मात्रामा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश मिठाइँमा धेरै चिनी हुन्छ, जसले रगतमा चिनीको स्तर बढाउँछ । यसले मधुमेह (डायबीटीज), मोटोपन र मुटुरोगको खतरा हुन्छ । धेरै मिठाइँहरूमा कृत्रिम रंग र स्वाद दिने पदार्थहरू हुन्छन्, जसले शरीरमा एलर्जी, पाचन समस्या र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । शारीरिक कसरत जरुरी मान्छेले जति मात्रामा खानेकुरा लिन्छ त्यहीअनुसार शरीरले पचाउनु पनि पर्छ । खानेकुरालाई पचाउन व्यायामले महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायाम गर्दा शरीरको रक्त सञ्चार बढ्छ, जसले पाचन प्रणालीमा पर्याप्त अक्सिजन र पोषण पुर्याउँछ । यसले पाचन प्रक्रियालाई द्रुत र प्रभावकारी बनाउँछ । व्यायामले शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ, जसले रगतमा चिनीको स्तर सन्तुलित राख्छ । यसले बोसोको पाचन र चिनीको प्रशोधनमा मद्दत गर्छ भने खानेकुराबाट प्राप्त क्यालोरीलाई ऊर्जा उत्पादनमा परिवर्तन गर्न मद्दत गर्छ । जसले मोटोपन नियन्त्रणमा राख्न मद्दत पुर्याउँछ । दशैंको समयमा प्राय: सबैजना गाउँ फर्कने गर्छन् । गाउँमा गएर बारीमा पसेर अलिकति काम गर्दा पनि व्यायाम गरेजत्तिकै फाइदा हुन्छ । गाउँ जाँदा केमा ध्यान दिने? कुनै पनि औषधी चिकित्सकको सल्लाह बिना खान हुँदैन । कसैलाई लामो समयसम्म हुने दीर्घरोग (प्रेसर, सुँगर, थाइराइड) छ भने गाउँ फर्किँदा आफ्नो औषधि लिएर जानुपर्छ । त्योबाहेक पेनकिलर, सिटामोलदेखि लिएर ग्यास्ट्रिकको औषधि, जीवनजलजस्ता औषधिहरू पनि बोकिराख्नुपर्छ । औषधि खाएर पनि निकाे भएन भने नजिकैको स्वास्थ्य केन्द्रमा जानुपर्छ । ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीमा आधारित
सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी, नोएलले सम्हाले १ खर्ब ६५ अर्ब डलरको सम्पत्ति
काठमाडौं । १ खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ । बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो । ‘टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ,’ एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।’ नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताएका छन् । नोएल दशकौँदेखि समूहसँग जोडिएका छन् । यद्यपि उनी विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिन्छन् । टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ । टाटा सन्स समूहको रणनीतिको जिम्मेबारीमा छ र हाल अध्यक्ष एन चन्द्रशेखरनको नेतृत्वमा छ । उनलाई सन् २०१७ मा नियुक्त गरिएको थियो । टाटा ट्रस्ट्स टाटा सन्सको सबैभन्दा ठूलो सेयरधारक भएकाले यसको अध्यक्षले प्रभावकारी रूपमा विशाल साम्राज्यको निरीक्षण गर्दछ र चन्द्रशेखरनले सम्भावित उत्तराधिकारी निर्णय गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।