शिखर इन्स्योरेन्सले नेपालमै पहिलो पटक २० लाखसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने
काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात गरेको छ । सोमबार मेडिसिटी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक सुभारम्भ गरिएको हो । कम्पनीका अनुसार व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख सम्मको बीमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहन जाने विश्वास कम्पनीको रहेको छ । यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससँग आवद्ध रहेका नेपालका अस्पतालमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमांक रकमको १० प्रतिशत रकम (अधिकतम १ लाखसम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकम बराबरसम्मको उपचारको लागि बीमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन, शिखर इन्स्योरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ । नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बीमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न कम्पनीले जनाएको छ । शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्री हस्पिटलाइजेसन र ६० दिन सम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचारअन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ । साथै भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ । यो बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरिकले समेत प्राप्त गर्न सक्नेछन् ।
सीआईटीको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका छन् ।
सिटिजन्स क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । सिटिजन्स क्यापिटलले दुई म्युचुअल फण्डहरु म्युचुअल फण्ड २ र सुपर ३० म्युचुअल फण्डबाट ईकाइधनि ८.२५ प्रतिशत र १२.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले दुई म्युचुअल फण्डबाट ईकाइधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो । बैंठकले सिटिजन्स म्युचुअल फण्ड २ बाट कर सहित ८.२५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित नै १२.७५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन् । जस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।