सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २७६३ बिन्दुमा पुगेको छ । आज १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टीलरीको २० करोड, राधी विद्युत कम्पनीको १७ करोड र छिमेकी लघसवित्तको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.०५ र म्युचुअफ फण्ड समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।  बैंकिङ ०.५८, विकास बैंक ०.९५, वित्त ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत् ०.३२, लगानी ०.३४, र जीवन बिमा समूह ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त १.५०, निर्जीवन बिमा ०.३१, व्यापार ०.०५ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुटको सुविधा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहित गर्न चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यानमार्फत) प्रयोग गरी भुक्तानी गर्दा अस्पतालको वेड र डायग्नोस्टिक शुल्क तथा फार्मेसी बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले यसअघि पनि विभिन्न अफर तथा छुटमार्फत ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले सम्पन्न गर्‍यो सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने र शाखा प्रमुख पदम सोडारीले जीवन बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा निर्वाह गर्नुपर्ने विविध जिम्मेवारीबारे जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक लामिछानेले बीमा प्राधिकरणले हालै जारी गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२’ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे । उनले हिमालयन लाइफले यसअघि सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा गरेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी कार्य गर्न सुझाव पनि दिए । सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणलाई प्राथमिकतामा राखेर नीति–नियमअनुसार काम गरिरहेको बताए । साथै सञ्चालक समिति सदस्य प्रमिला केसी र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि यस विषयमा कम्पनी गम्भीर र प्रतिबद्ध रहेको प्रष्ट पारे । कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, सेयरधनी तथा उच्च व्यवस्थापकीय पदाधिकारीहरूको उपस्थिति थियो ।