एनआरएन इन्फ्रास्ट्रक्चरका सीईओ हेमन्त बस्यालले दिए राजीनामा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी (सीईओ) हेमन्त बस्यालले राजीनामा दिएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बस्यालको राजीनामा स्वीकृत गरेको छ । साथै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा कम्पनी सचिव प्रताप अधिकारीलाई नियुक्त गरेको छ । 

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा १.४८ गुणा बढी आवेदन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गरेको एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा माग भन्दा १.४८ गुणा बढी आवेदन परेको छ । साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशनमा ल्याइएको १० रुपैयाँ अंकित दरका ५ करोड इकाईका लागि कुल ८२,८२८ जना आवेदकले ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन दिएका हुन् । यस स्किम एनआईसी एशिया क्यापिटलले सञ्चालन गरेको दोस्रो खुलामुखी योजना हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति अनुसार यस योजनाको अधिकतम आकार बीजपूँजीसहित १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँसम्म रहने व्यवस्था छ । त्यसैले माग भन्दा बढी आवेदन परे पनि नियमावलीअनुसार सबै योग्य आवेदकलाई माग बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले यसमा लगानी गर्ने सम्पूर्ण लगानीकर्ता, निष्काशन प्रक्रियामा सहयोग गर्ने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड र अन्य सम्बद्ध निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

१९ हजार ८०५ ले पाए नेपाल इन्स्योरेन्सको हकप्रद सेयर, भदौ १८ गतेदेखि रकम फिर्ता

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको हकप्रद सेयर भदौ १५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ । साउन ६ गतेदेखि भदौ २ गतेसम्म बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा १९ हजार ८०५ जना लगानीकर्ताले आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई ६३ लाख ७९ हजार ९२५ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।  कम्पनीको १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको छैन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ ।  साथै आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि आवेदन दिने आवेदकहरूको बाँडफाँडमा नपरेको रकम भदौ १८ गतेदेखि आइपीएस मार्फत् सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गर्ने कम्पनीले जनाएको छ ।