राष्ट्रिय बीमा संस्थानले शतप्रतिशत पुनर्बीमा गर्ने, विदेशिने रकम रोकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग शतप्रतिशत पुनर्बीमा गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा बीमा कम्पनीहरुले आफ्नो प्रत्यक्ष हिस्साको कम्तिमा २० प्रतिशत अनिवार्य नेपाल पुनर्बीमा कम्पनीमार्फत पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको शुरुदेखि नै राष्ट्रिय बीमा संस्थानको पुनर्बीमा व्यवसाय शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा हुने हुँदा दुवै कम्पनी लाभदायी हुने कम्पनीले जनाएकाे छ । साथै, यसबाट पुनर्बीमा मार्फत विदेशिने रकम रोकिने कम्पनीले बताएकाे छ ।

प्रभु लाइफकाे ‘श्रीवृद्धि जीवन बीमा’ योजना, शुल्क नबढ्ने तर बीमा रकम दोब्बर हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितहरुलाई लक्षित गरी ‘श्रीवृद्धि जीवन बीमा’ योजना ल्याएको छ । इन्स्योरेन्सले बिहीबार पत्रकार सम्मेलन गरी टाइम भ्यालु अफ मनीको अवधारणालाई पुरा गर्ने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको बताएको छ । यस योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ । तर बीमा शुल्क(प्रिमियम) भने जीवन बीमा अवधि भरि नै सधैँ एउटै हुने इन्स्योरेन्सले जनाएको छ । साथै, इन्स्योरेन्सका बीमितले मुल बीमाङ्कमा ५ प्रतिशतका दरले वार्षिक वृद्धि भएको बीमाङ्क रकम र बोनस सहित बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउने इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले बताएका छन् । सो योजनामा न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ र अधिकतम बीमाङ्क जति पनि हुने छ । कम्पनीले १० वर्षदेखि अधिकतम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम २० वर्ष रहेको छ । कम्पनीका अनुसार वार्षिक बीमा शुल्क भुक्तानीमा २ प्रतिशत र अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट हुने छ । त्यस्तै, त्रैमासिक तथा तलब बचत बीमा शुल्क भुक्तानीमा कुनै छुट तथा थप नरहेको र मासिक बीमाशुल्क भुक्तानीमा ५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।

चितवनको माडी नगरबासीले पाउने भए ५ लाखसम्मकाे निःशुल्क बीमा

काठमाडौं । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढी लगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि सारेको हो । शिखर इन्सुरेन्ससँग नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्ने भएको छ । माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ । नगरप्रमुख ठाकुरप्रसाद ढकालका अनुसार विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको स्वरुप रु पाँच लाख पाउने बताएका छन् । माडीमा वन्यजन्तुले वर्षेनी कृषिबालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकालको भनाई रहेको छ । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको र जनावरको आक्रमणबाट घरका अभिभावक (बाबु अथवा आमा) को मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाले गरेको छ । रासस