तीन महिनामा जीवन बीमा कम्पनीको कुल व्यवसाय ४९ अर्ब २२ करोड, कसले कति कमायाे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब रूपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले असोजमा मात्रै ४ लाख १४ हजार ५२८ पोलिसी जारी गरेर १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार तीन महिनामा कम्पनीले १६ लाख ७४ हजार ६८१ बीमालेख जारी गरेर १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ १३ लाख ५८ हजार ७९८ पोलिसी बिक्री गरेर ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  असोज मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रियलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।  तीन महिनाको अवधिमा रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ र  सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । 

३ महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय १२ अर्ब माथि, सलिकोले शिखरलाई उछिन्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् ।  सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले असोज मसान्तसम्ममा ७ लाख ८८ हजार ६१३ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । असोजमा मात्रै बीमा कम्पनीहरूले २ लाख ९० हजार ३०५ वटा पोलिसी जारी गरेर ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले यस अवधिमा ६५ हजार १०२ पोलिसी बिक्री गरेर १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । असोजमा मात्रै सलिकोले ६० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। दोस्रो धेरै व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले असोजसम्ममा ७९ हजार ४४० पोलिसी बिक्री गरेर १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  तेस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनी  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७० हजार ६३० वटा पोलिसी बिक्री गरेर १ अर्ब २२ करोड ४३ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको छ ।  त्यसैगरी, तीन महिनाको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  लघु निर्जीवन बीमा कम्पनीहरूमा नेपाल माइक्रोले ७ करोड तीन लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ६ करोड ९९ लाख रुपैयाँ, स्टार माइक्रोले ५ करोड २२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ६ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

आतंकवादी वित्तीयकरण रोकथामका लागि सिटिजन लाइफको लुम्बिनीमा तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दोस्रो तालिम संचालन गरेको छ । यस आर्थिक वर्ष २०८१/८२ मा आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो ।  पहिलो तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्तिक १४ गते, भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न शाखाबाट आएका अभिकर्ता, शाखा प्रबन्धक तथा कर्मचारी गरी कुल २२५ जना सहभागी रहेका थिए । कार्यक्रममा कम्पनीका प्रशिक्षण विभागका प्रमुख कुबेर पाठकले प्रशिक्षण सञ्चालन गरेका थिए । तालिममार्फत वित्तीय लगानी निवारण सम्बन्धी कानूनी प्रावधानहरू, बीमा क्षेत्रमा यसको प्रभाव, व्यवहारमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो । साथै, गैरकानुनी कमाइ तथा आतंककारी क्रियाकलापबाट संकलित रकमलाई बीमाको माध्यमबाट सेतो धन बनाउने प्रयासलाई कसरी नियन्त्रण गर्ने, त्यसका प्रक्रिया र रिपोर्टिङ प्रणालीबारे समेत व्यावहारिक सन्दर्भ सहित चर्चा गरिएको थियो । कम्पनीका अनुसार यस तालिमको उद्देश्य अभिकर्ता, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम र पारदर्शी कारोवार संस्कृतिको प्रवद्र्धनमा थप सचेत र सक्षम बनाउनु रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै ग्राहक तथा नियामक निकायप्रति जिम्मेवार र विश्वासिलो बीमा सेवा प्रवाह गर्ने दायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।