गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएकाे छ । आईपीओ निष्कासनसम्बन्धि कार्यका लागि गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ कराेड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
सिटिजन लाइफको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकाे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु थियो । यस क्षमता वृद्धि कार्यक्रम जोखिमाङन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्ड लगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरुको बारेमा मुख्य गरी नयाँ शाखा प्रमुखहरूलाई अवगत गराउनका लागि सञ्चालन गरिदै आएको छ । उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा ३ दिन सम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरूलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए । कम्पनीको सम्पुर्ण व्यवस्थापन टिम, डिर्पाटमेन्ट हेड, टिम हेड सहितको समुपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।
बाढीपछि सम्पत्ति बीमाको दाबी उच्च, बागमतीबाट ९५ प्रतिशत दाबी पर्ने आंकलन
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले बीमा कम्पनीमा ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बढीको बीमा दाबी पर्ने आंकलन गरिएको छ । जसमध्ये सम्पत्ति बीमाको दाबी उच्च रहने आंकलन बीमा कम्पनीहरूले गरेका छन् । कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई बुझाएको प्रारम्भिक तथ्यांकअनुसार सम्पत्ति बीमाको दाबी उच्च मात्रामा हुने आंकलन छ । सम्पत्तितर्फ ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । सम्पत्तिअन्तर्गत हालसम्म २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँको बीमा दाबी पेस भइसकेको छ । त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गतको बीमा दाबी ७१ करोड ८९ लाख रुपैयाँ बढीको पर्ने प्रारम्भिक अनुमान छ । यस पोर्टफोलियोअन्तर्गत २८ करोड ४९ लाख रुपैयाँको दाबी पेश भइसकेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा पोर्टफोलियो भनेको कुनै पनि निर्माणाधीन भवन, पुललगायत भौतिक संरचनाको बीमा हो । गत साता आएको बाढीले धेरै जलविद्युतमा क्षति पुगेको थियो । ऊर्जा मन्त्रालयका अनुसार जलविद्युतमा ५ अर्ब बढीको क्षति भएको थियो । इन्जिनियरिङ तथा ठेकेदार जोखिम र सम्पत्ति बीमा जलविद्युतको बीमामा पर्ने गर्दछन् । अर्थात जलविद्युत निर्माणाधीन अवस्थामा इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गत पर्छ भने निर्माण भइसकेपछिको बीमा सम्पत्तिअन्तर्गत पर्छ । सोही कारण पनि यस पोर्टफोलियोमा दाबी उच्च भएको अनुमान गर्न सकिन्छ । यसैगरी, मोटर बीमा निजीतर्फ २७ करोड ३० लाख र सार्वजनिकतर्फ १५ करोड ४५ लाख रुपैयाँ बढीको दाबी पेस हुने अनुमान गरिएको छ । कुन प्रदेशमा कति दाबी ? सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको छ । कुल दाबी रकमको ९५ प्रतिशत बागमतीबाट पर्ने कम्पनीहरूकाे अनुमान छ । बागमतीबाट कुल ६ अर्ब ९३ करोड ८१ हजार रुपैयाँ बढीको दाबी पर्ने अनुमान गरिएको छ । सबैभन्दा कम दाबी कर्णाली प्रदेशबाट पर्ने अनुमान गरिएको छ । कर्णालीबाट जम्मा १ लाख रुपैयाँको मात्र दाबी पर्ने अनुमान कम्पनीहरूले गरेका छन् ।