शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ बन्दै आएका हुन् ।

एआईआरडीसीकाे बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको एआईआरडीसीको वार्षिक साधारणसभाबाट क्षेत्री ट्रस्टीमा चुनिएका हुन् । उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षमा बैंकक इन्स्योरेन्सका अध्यक्ष चै सोफोनपनीच चयन भएका छन् भने उपाध्यक्षमा सन्चुएरी इन्स्योरेन्सका म्यानेजिङ डाइरेक्टर पत्रीक कुसीनीयू र कोषाध्यक्षमा मर्चेन्टाईल इन्स्योरेन्सकी डाइरेक्टर इथर सी तन चयन भएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश, १९ अर्ब बढी लगानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौं वर्षमा प्रवेश गरेको छ । सिटिजनले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो। यस कम्पनीकाे मूल नारा ‘समृद्धि तपाईंको, साथ हाम्रो’ रहेकाे छ । कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । यसैगरी, १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेकाे छ । १९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सिटिजन लाइफले ७ वर्षको अवधिमा जम्मा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने कुल ११ लाख ८९ हजार बीमित रहेका छन् । कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन् । कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेकाे छ । कम्पनीले सातौं वार्षिकोत्सवका अवसरमा देशैभरका शाखा तथा उपशाखा कार्यालय र प्रधान कार्यालयमार्फत सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दैछ । कम्पनीले यस वर्ष बीमा सचेतनालाई विशेष प्राथमिकतामा राखेको छ । यसका साथै कम्पनीका शाखाले अन्य संघसंस्थासँगको सहकार्यमा जीवन बीमासम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ । यसैगरी, हालैको अविरल वर्षाका कारण आएको बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति भएकोमा प्रभावित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहात सामग्री वितरण गरिने कम्पनीले जनाएकाे छ । यसै सन्दर्भमा सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहलअन्तर्गत विभिन्न ठाउँमा वृक्षरोपणसमेत गर्ने भएको छ । त्यसैगरी विगतका वर्षझैं यस वर्ष पनि प्रधान कार्यालय र शाखाहरुमा कम्पनीले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सिटिजन लाइफले हालसम्मको प्रगतिमा साथ दिने ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, सञ्चारकर्मी, व्यवसायीक साझेदार, कर्मचारीलगायत सबैमा कृतज्ञता व्यक्त गरेको छ ।