सरकारसँग बीमा गर्नैपर्ने बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिएका छाैं : अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल । काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बीमा नगरेको जानकारी पाएको बताए । अध्यक्ष सिलवालले अहिले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिइरहेको बताए । नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने उनकाे भनाइ छ । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई २०२४) आजबाट काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरैन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरिएको बताइएको छ । कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्युन आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउनेसम्बन्धी रणनीतिलगायतका विषयमा सहभागीहरूबीच छलफल हुने बताइएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था, बीमा क्षेत्रका विज्ञहरू सहभागी छन् ।
मंगलबार २५ अंकले बढ्यो सेयर बजार, गुडविल फाइनान्सको सेयर धेरै कारोबार
काठमाडाैँ । साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको २ दिन लगातार घटेको बजार आज २५.८८ अंकले बढेको हो । आज १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबारमा आएका १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा आज ४० कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन रवा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ८.८६ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेको छ । आज गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । गुडविलको १७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार हुँदा कुमारी बैंकको १३ करोड ८० लाख र हिमालय रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस साताको पहिलो दिन आइतबार र सोमबार लगातार सेयर बजार परिसूचक नेप्से घटेको थियो । उक्त दुई दिनमा १०५ अंकभन्दा बढीले घटेको बजार आज भने वृद्धि भएको छ ।
स्वास्थ्य बिमामा आकर्षण बढ्दै, अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि
गलकोट । स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । यहाँको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लागु भएकाले बिमामा आबद्ध हुनेको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । पौडेलकाअनुसार स्वास्थ्य बिमामा आबद्धमध्ये ६६ हजार आठ सय ३९ महिला र ५९ हजार पाँच सय ६० पुरुष छन् । ‘स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बिमामा आकर्षित भएका छन्’, पौडेलले भने, ‘क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बिमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।’ दुई लाख ४९ हजार दुई सय ११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य रु सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।