बैंक अफ काठमाण्डुको नाफा ३२ प्रतिशत बढ्यो, व्याज आम्दानी नाफाको आधार
९ माघ । बैंक अफ काठमाण्डुको गत बर्षको पुसको तुलनामा यो बर्षको पुसमा नाफा ३२ प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी बढेपछि नाफा बढेको हो । अघिल्लो पुसमा २५ करोड चार लाख नाफा कमाएको बैंकले यो पटक भने ३३ं करोड सात लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि २० प्रतिशतले बढेर ७० करोड १९ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट आठ करोड ३१ लाख, फि कमिसनबाट १२ करोड १७ लाख र अन्य आम्दानी तीन करोड ५६ लाख गरेको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । बैंकको कोषको लागत घटेर ३.९ मा सिमित भएको छ । बैंकसंग एक अर्ब ७५ करोड रुपैयाँ सञ्चिती छ । बैंकको कुल सञ्चालन नाफा भने ४२ प्रतिशतले बढेर ५१ करोड भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी २३ प्रतिशतले र निक्षेप १६ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.८८ प्रतिशत छ । बैंकले रियल इस्टेट कर्जा नौं प्रतिशतले घटेको छ । यो कुल कर्जाको जम्मा तीन प्रतिशत छ ।
राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने
१० माघ/राष्ट्रिय वाणिज्य बैंकले चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ छ । यसमा सतप्रतिशत सेयर नेपाल सरकारको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा भईरहेको सेयर बिक्री गरेमा २ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बराबर सेयर सर्वसाधारणमा आउनेछ । सरकारले आफ्नो सेयर बिक्री नगरी बैंकको सेयर पुँजी पनि बढाउने उदेश्यले नयाँ सेयर जारी गरेमा ३ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी हुने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । तर कुन मोडलमा सेयर जारी गर्ने भन्ने विषयमा टुङ्गो नलागेको उनले बताए । ‘बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन अनुसार ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्छ भनेर तीन हप्ताअघि अर्थमन्त्रालयमा प्रस्ताव गरेका छौं । त्यसबारे सरकारले निर्णय गरेपछि सरकारले आफ्नो सेयर सर्वसाधारणलाई बिक्री गर्ने वा नयाँ सेयर जारी गर्ने निर्णय गर्नेछ’ उनले भने । अर्थमन्त्री डा रामशरण महतले वाणिज्य बैंकको उक्त प्रस्तावबारे चाँडै नै निर्णय गर्ने बताए । राष्ट्रिय वाणिज्य बैंकको स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै छिट्टै बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरिने बताए ।
सिभिल बैंकको नाफा पाँच गुणा बढ्यो
९ माघ । गत त्रैमाशमा नोक्सानमा देखिएको सिभिल बैंकले नाफामा गुणात्मक वृद्धि गरेको छ । बैंकको गत आवको दोस्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धिभएपछि नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ । बैंकले राइट व्याक गरेको छैन । यसपाली बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही बढेर १.९३ मा भएको छ । तर बैंकले गत बर्षको भन्दा यो पटक ७२ प्रतिशतले घटाएर सम्भावित जोखिम बापतको व्यवस्थामा तीन करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले कुल खराब कर्जाको लागि यो पटक रकम केही घटाएरु एक सय आठ प्रतिशत रकम व्यवस्था गरेको हो । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । तरपनि बैंकको कोषको लागत घटेर ५.८५ मा सिमित भएको छ । बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ । बैंकले प्रोभिजन अघि ५१ करोड सञ्चालन नाफा गरेको छ । बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप भने करिब २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.७ प्रतिशत छ । बैंकको बेस रेट (व्याजको आधार दर) घटेर ८.६७ भएको छ । बैंकले कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड दर) ४.२७ कायम गरेको छ । बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमति पारेको छ । तर कुल कर्जामा यो कर्जाको अनुपात बढि नै छ । यो अनुपात करिब ७.२१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ रहेको छ । बैंकको पुँजीकोष पर्याप्तता अनुपात ५.८५ रहेको छ ।