५ सय र हजार दरका भारु चल्ने प्रक्रियाले गति लिएन

९ पुस । नेपालमा ५ सय र हजार दरका भारतीय रुपैयाँ चलाउने प्रक्रिया अझै सुरु भएको छैन । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले सो दरका नोट चलाउन दिने सम्बन्धि प्रक्रिया अगाडि नबढाएको हो । सो दरका नोट चलाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकले आरबीआइसँग पटक पटक अनुरोध गरेको भएपनि खासै प्रतिक्रिया नआएको राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले ५ सय र हजार दरका नोट चल्न दिने सम्बन्धमा आरबीआइसँग पटक पटक अनुरोध गरेका छौं,– प्रवक्ता श्रेष्ठले भने– तर पनि परिणाममुखी प्रतिक्रिया आएको छैन । भारतीय पक्षवाट कुनै औपचारिक जानकारी नेपाल राष्ट्र बैंकलाई दिएको मलाई जानकारी छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनमा नेपाल आउदा ५ सय र हजार दरका भारतीय रुपैयाँ नेपालमा चल्न दिने सार्वजनिक अभिब्यक्ति दिएका थिए । तर आरबीआइले प्रक्रिया अगाडि नबढाएको कारण कहिलेदेखि चल्ने भन्ने अझै प्रष्ट हुन सकेको छैन । गत बर्षको पुसमा नेपाल र भारतका सचिवस्तरीय बैठकमा सो दरका नोट नेपालमा चलाउन दिने सहमति भए पनि अझै कार्यान्वयन भएको छैन । मोदीको सार्वजनिक घोषणा पछि सो दरका नोट चल्ने आशा गरिए पनि भारतमा प्रक्रिया मिलाउन समय लागेको हुन सक्ने राष्ट्र बैकका प्रवक्ता श्रेष्ठको भनाइ छ । भारतमा काम गर्ने नेपालीले २५ हजार रुपैयाँसम्मका सो दरका नोट नेपालमा ल्याउन सक्ने सुविधा दिने तयारी भएको छ । यसलाई थप सहज बनाउन दुबै देशका सीमा नाकामा नोट सटही काउन्टर खोल्ने सहमति पनि भएको थियो । के गरे चल्छन् नोट ? ५ सय र हजार दरका नोट नेपालमा चल्नको लागि आरबीआइले स्वीकृति दिनु पर्ने हुन्छ । यस्तै नेपाल राष्ट्र बैंकले आरबीआइबाट नोट ल्याएर नेपाली बजारमा आपूर्ति गर्नुपर्ने हुन्छ । तर यो प्रक्रिया अझै सुरु भएको छैन ।

साधारणसभा स्थगित गर्न एनसीसी बैंकलाई नेप्सेको आग्रह

८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल कमर्स एन्ड क्रेडिट बैंकलाई आगामी पुस ३० गते गर्न लागेको वार्षिक साधारणसभा स्थगित गर्न आग्रह गरेको छ । मंगलबार नेप्सेले सूचना जारी गरी नेप्सेलाई बिनु श्रेष्ठले बेचेको सेयरको हक हस्तान्तरण समस्या समाधान हुन बाँकी रहेकाले पुस ३० गते हुने साधारणसभा स्थगित गर्न आग्रह गरेको हो । नेप्सेले बैंकको नाममा पत्र लेख्दै बिनु श्रेष्ठबाट एनसीसी बैंकको सेयर खरिद गरेका लगानीकर्ताहरूको नाममा सेयर हस्तान्तरणका लागि पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरिएको सन्दर्भमा सो समस्या समाधान नभएसम्म साधारणसभा हुन नसक्ने स्पष्ट पारेको छ । नेप्सेले श्रेष्ठलाई सेयर हस्तान्तरण गर्न लिखित र मौखिक दुवै आग्रह गरिसकेको जनाएको छ । एनसीसी बैंकले पुस ३० गते १६औ र १७औ साधारणसभाका लागि पुस ९ गते सेयरधनी दर्ता किताब बन्द गर्ने सूचना जारी गरेको थियो । बिनु एनसीसी बैंकका प्रबद्र्धक लक्ष्मीबहादुर श्रेष्ठकी पत्नी हुन् । उनले बेचेको एनसीसी बैंकको १ लाख ७ हजार कित्ता शेयर खरिदकर्ताहरूको नाममा हक हस्तान्तरण नसकेको नेप्सेले जनाएको छ । राष्ट्र बैंकको नियन्त्रणमा रहेको एनसीसी बैंकले लगानीकर्तालाई ३७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । नेप्सेले साधारणसभा स्थगित गर्न गरेको आग्रहबारे एनसीसी बैंकले कुनै प्रतिक्रिया जनाइसकेको छैन । नेप्सेको आदेश बाध्यकारी हुने भएकाले बैंकले सेयर हस्तान्तरण गरेर मात्र साधारणसभा गर्नुपर्ने हुन्छ । नेप्सेले साधारणसभा स्थगन गर्न दिएको आग्रह नेपाल धितोपत्र बोर्डलाई समेत बोधार्थ पठाएको छ ।

एनसीसी बैंकको ११ लाख कित्ता सेयर लिलामीमा, एनबी समूहको सेयर कसले किन्ला ?

२४ मंसिर । यति डेभलपमेन्ट बैंकले एनसीसी बैंकको ११ लाख २० हजार कित्ताभन्दा बढी सेयर लिलामी गर्ने भएको छ । सेयर धितोमा कर्जा लिएका एनबी ग्रुपका संचालकहरु जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठसहितका परिवारले कर्जा नतिरेपछि बैंकले धितो लिलामी गर्न लागेको हो । यति डेभलपमेन्ट बैंकले बुधवार सार्वजनिक सुचना प्रकाशित गरी आफ्नो बैंकमा धितो बन्दकी रहेको एनसीसी बैंकको ११ लाख २० हजार ५ सय कित्ता सेयर लिलामी गर्ने जानकारी दिएको हो । मंगलवार एनसीसी बैंकको सेयर प्रतिकित्ता ५ सय १८ रुपैयाँमा कारोवार भएको छ । यो मूल्य अनुसार एनसीसीको सेयरको बजार मूल्य ५८ करोड ४ लाख १९ हजार रुपैयाँ हुने छ । एनबी ग्रुपका संचालक र उसका परिवारले एनसीसीको सेयर धितो राखेर यति डेभलपमेन्ट बैंकवाट कर्जा लिएका थिए । सो कर्जाको सावा ब्याज रकम समयमै तिर्न नसकेपछि बैंकले नियमानुसार धितो लिलामीको प्रक्रिया सुरु गरेको हो । यतिले जीतबहादुर श्रेष्ठका छोरा जेन श्रेष्ठ प्रबन्ध संचालक रहेको जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजको नाममा रहेको ३ लाख ८६ हजार कित्ता सेयर लिलामी गर्न लागेको छ । यस्तै अनारदेबी श्रेष्ठको नाममा रहेको एनसीसी बैंककै ७८ हजार ५ सय कित्ता सेयर पनि लिलामी गर्ने सुचनामा उल्लेख छ । यतिले लक्ष्मीबहादुर श्रेष्ठको नाममा रहेको एनसीसीको ३६ हजार कित्ता सेयर पनि लिलामी गर्ने भएको छ । यतिमा लक्ष्मीबहादुरको नामको धितो राखिएको सेयर लिलामी गर्न लागिएको हो । लक्ष्मीबहादुरकी श्रीमती विनु श्रेष्ठको नाममा रहेको एनसीसी बैंककै १ लाख ९९ हजार ५ सय कित्ता सेयर पनि लिलामी गरिने भएको छ । यतिले एनबी इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको एनसीसी बैंकको ४ लाख २० हजार ५ सय कित्ता सेयर पनि लिलामी गर्ने भएको छ । एनबी इन्भेष्टमेन्ट प्रालि पनि एनबी ग्रुपका परिवारको हो । सो प्रालिमा पूर्णवहादुर श्रेष्ठका छोरा सुजित श्रेष्ठ प्रबन्ध संचालक उनकी आमा गीता श्रेष्ठ संचालक रहेका छन् । यतिले १५ दिन भित्रमा सो सेयर लिलामी गरिसक्ने जानकारी दिएको छ । यसअघि १९ मंसिरमा ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरेर कर्जा तिर्न जानकारी गराउदा पनि कुनै प्रयास नगरेको भन्दै यतिले धितो लिलामी प्रक्रियामा लगेको हो । सो सेयर गोप्य शिबन्दी टेण्डरवाट बढाबढ प्रक्रियामा विक्री गरिने भएको छ ।