माछापुच्छ्रेको नाफा ६८ प्रतिशतले वृद्धि

१९ माघ । गत बर्ष पुसको तुलनामा माछापुच्छ्रे बैंकको नाफा यो बर्षको पुसमा ६८.६३ प्रतिशतले वृद्धि भएको छ । बैंकको व्याज तथा अन्य आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । अघिल्लो पुसमा २० करोड ४० लाख रुपैयाँ कमाएको बैंकले यो पटक भने ३४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि ३६ प्रतिशतले बढेर ६६ करोड ९३ लाख पुगेको छ । बैंकले फि कमिसनबाट नौं करोड, अन्य आम्दानी र बैदेशिक विनिमयबाट चार करोडको दरले नाफा कमाएको छ । बैंकले १३ प्रतिशतले राइटब्याक बढाएर पाँच करोड चार लाख पुरेयाएको छ । बैंकको खराब कर्जाको अनुपात १.७३ छ भने यस्तो कर्जा बापत कुल कर्जाको १०३ प्रतिशत प्रावधान राखेको छ । बैंकले खराब कर्जाको लागि ६५ प्रतिशतले रकम बढाएर १० करोड ७१ लाख रुपैयाँ राखेको छ । बैंकको कोषको लागत घटेर ४.५९ मा सिमित भएको छ । बैंकसंग ९९ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । बैंकको ५६ प्रतिशतले सञ्चालन नाफा बढेर ३९ करोड पुगेको छ । बैंकको यो अवधिमा कर्जा लगानी ३३ प्रतिशतले र निक्षेप २७ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७८ प्रतिशत छ । बैंकले रियल इस्टेट कर्जा दुई अर्ब ४८ करोड रहेको छ । यो कुल कर्जाको ७.३७ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २४ रुपैयाँ छ । बैंकको सेयर ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अटेरी ऋणी नै बैंकको अध्यक्ष, कसरी सुरक्षित हुन्छ सर्वसाधारणको निक्षेप ?

गत विहीबार मात्र नमस्ते वचत तथा ऋण सहकारी संस्थाले राजेन्द्र कुमार श्रेष्ठको तीन पुस्ते विवरणसहित कर्जा चुक्ता गर्न कान्तिपुर दैनिकमा सूचना प्रकाशित ग¥यो । शनिबार तिनै व्याक्ति सिन्धु विकास बैंकको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बैंकको पाँचौं बार्षिक साधारण सभाबाट सञ्चालक भएका उनी सर्वसहमतिमा अध्यक्ष भए । उक्त सहकारीबाट एक करोड रुपैयाँ भन्दा बढी कर्जा लिएको सहकारी स्रोतले बतायो । श्रेष्ठले झापा र ललितपुरमा रहेको विभिन्न १३ कित्तामा रहेको जग्गा धितो राखी कर्जा लिएका छन् । २०७० असोजमा लिएको कर्जाको अहिलेसम्म सावाँ व्याज कुनै किस्ता पनि नतिरेको सहकारीले बताएको छ । कर्जा तिर्न पटक पटक मौखिक, लिखित र फोनबाट आग्रह गर्दा पनि श्रेष्ठले साँवा तथा व्याज भुक्तानी नगरेको सहकारीले जनाएको छ । बैंकको अध्यक्षमा निर्वाचित श्रेष्ठ आर्थिक मामिलामा विवादी व्यक्ति हुन् । उनले विभिन्न वित्तीय संस्थाबाट लिएको ऋण तिरेका छैनन् । उनले भुक्तानी दिएका चेकसमेत वाउन्स भएको पाइएको छ । तिनै विवादीत व्याक्तिलाई स्टेक होल्डरहरुले बैंकको अध्यक्ष बनाए । जो अरु वित्तीय संस्थाबाट ऋण लिएर तिर्दैनन् ? अरु व्यक्तिसँग सापटी तिएर तिर्दैनन् ? तिनै व्यक्तिलाई बैंकको सञ्चालक बनाउने उक्त बैंकको सेयरधनी कस्ता होलान् ? तिनै व्यक्तिलाई सर्वसहमतिमा अध्यक्ष स्वीकार गर्ने बैंकका अरु सञ्चालक कस्ता होलान् ? अरु वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने अध्यक्षको आज्ञाकारी भएर काम गर्ने सिन्धु विकास बैंकका कर्मचारी कति प्रोफेशनल होलान् ? यस्ता अटेरी ऋणीलाई बैंकको अध्यक्षको रुपमा स्वागत गर्ने, सम्मान गर्ने र बैंकका प्रस्तावहरुमा सदर गर्ने राष्ट्र बैंकका अधिकारीहरु कति प्रोफेशनल होलान् ? उनीहरु सबैको नाकमा कालो लागेको छ । उनीहरु त्यो कालो बोकेर निरन्तर अघि बढ्छन् वा पखाल्न तयार हुन्छन् ? समयले नै बताउने छ ।

वाणिज्य बैंकहरुको नाफा २२ प्रतिशत बढ्यो

१८ माघ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममा वित्तीय विवरण प्रकासित गरेका १४ वाणिज्य बैंकहरुको पुससम्मको नाफा अघिल्लो बर्षको भन्दा २२ प्रतिशतले बढेको छ । बैंकहरुको कुल व्याज आम्दानी र राइट ब्याक रकम बढेपछि नाफामा पनि वृद्धि भएको हो । अघिल्लो बर्ष पुसमा कुल चार अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका यी बैंकले यसवर्ष भने नाफा पाँच अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकहरुको व्याज आम्दानी १९.६७ प्रतिशतले बढेर नौं अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । तर बैंकर्स एशोसिएसनका पुर्वअध्यक्ष राजनसिंह भण्डारी भने बैंकहरुको नाफामा उल्लेख सुधार हुन नसकेको बताउँछन । ‘हाम्रौ बैंकले अघिल्लो बर्षको पुसको तुलनामा छ अर्ब रुपैयाँले कर्जालगानी बढाएका छौं, तर हाम्रो नाफा जम्मा चार करोड रुपैयाँले बढेको छ, उच्च प्रतिफल पाउँनु चुनौती भएको छ,’ भण्डारीले भने । बैकर्स एशोसिएसनमा अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरु बीच कर्जा बिस्तारमा तीव्र प्रतिस्पर्धा रहेकोले नाफामा उल्लेख्य सुधार हुन नसकेको बताउछन । ‘अहिले समग्र बैंकिङ क्षेत्रको कर्जा १७ प्रतिशतको दरमा बढेको छ तर आम्दानी पाँच प्रतिशतले बढेको छ, ’ पौड्यालले भने । बैंकहरुमा अहिले कर्जाको व्याजदर घटाउन ग्राहकहरबाट दबाब परेको पौड्यालले बताए । यो अवधिमा सिभिल, कुमारी र सेञ्चुरी बैंकको नाफामा गुणात्मक वृद्धि भएको छ । अर्काेतर्फ, ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट लगायतको नाफा सुस्तिएको छ । एनआइसी एसिया बैंकको नाफा भने छ प्रतिशतले घटेको छ । बैंकहरुले तरालता वृद्धिसंगै कर्जा वृद्धिमा पनि तीव्रता ल्याएका छन । कतिपय आफ्नो संस्थाको कुल निक्षेपको तुलनामा कर्जा ९० प्रतिशतसम्म बढाएका देखिन्छन । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बाहेक सबैको निक्षेपको ८० प्रतिशतभन्दा बढि रकम कर्जा प्रवाह भएको छ । बैंकहरुको अघिल्लो बर्षको तुलनामा गत बर्ष राइटब्याक २४ प्रतिशतले बढ्यो । यो रकम एक अर्ब दुई करोड रुपैयाँ छ । बैंकहरुको प्रोभिजनिङ पनि ६ प्रतिशतले घटेर एक अर्ब ६० करोडमा सिमित छ । बैंकहरुको कुल कर्जामा खराब कर्जाको अनुपात औसतमा १.६१ प्रतिशत छ । कुमारी र ग्लोबल आइएमइको कुल कर्जामा खराब कर्जाको अनुपात अन्यको भन्दा धेरै छ । त्यस्तै, खराब कर्जा वापत औसतमा तीन सय ३९ प्रतिशत रकमको व्यवस्था गरेका छन । बैंकहरुको चुक्तापूँजी २४ प्रतिशतले बढेर ३७ अर्ब रुपैयाँ र सञ्चिती १६ प्रतिशतले बढेर २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको निक्षेप २३ प्रतिशत र कर्जा २९ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप पाँच खर्ब ४२ अर्ब रुपैयाँ र कर्जा चार खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको रियल स्टेटमा कुल कर्जा लगानी चार प्रतिशतले बढेको छ । बैंकहरुको रियल स्टेटमा कुल २८ अर्ब ९८ करोड रुपैयाँ रहेकोे छ । यो बैंकहरुले प्रदान गरेको कुल कर्जामा ६.४० प्रतिशत छ । त्यस्तै, सेयरको धितोमा दिइने कर्जा (मार्जिन लेण्डिङ) मा पनि एक सय ९१ प्रतिशतले वृद्धि भएर छ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको सञ्चालन नाफा भने २५ प्रतिशतले बढेर छ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट र एनआइसी एसियाको सञ्चालन नाफा भने घटेको छ । बैंकहरुको औसतमा पूँजी पर्याप्तता कोष अनुपात भने ११.७९ प्रतिशत छ । नेपाल बंगलादेश बैंक र एनएमबीको यस्तो अनुपात ११ प्रतिशतभन्दा कम छ । बैंकहरुले कर्जा प्रवाहको लागि दिने आधार व्याजदर औसतमा ७.३४ प्रतिशत छ । बैंकहरुको कर्जा निक्षेप बीचको व्याज अन्तर दर (स्प्रेड दर ) औसतमा ४.५९ प्रतिशत छ । कुमारी बैंकको यस्तो दर सबैभन्दा बढि आठ प्रतिशत छ ।