भ्याट छल्दै दरबारमार्गको पिज्जा हट, राजश्व भन्छ जानकारी छैन

काठमाडौ । राजधानीको दरबारमार्ग स्थित पिज्जा हट नामक चर्चित मल्टिनेशल होटलले कर छली गरेको भेटिएको छ । होटलले खाजा खाने ग्राहकलाई कागजमा लिखित बिल दिएर कर छली गर्दै आएको प्रमाण फेला परेको हो । पिज्जा हटमा खाजा खाँदा मसरुम सुपको २ सय १९ रुपैयाँ, पोटेटो क्रन्चको २ सय ४९ रुपैयाँ तथा भेज स्प्रेन्चीको ६ सय ६९ रुपैयाँ गरी जम्मा ११ सय ३७ रुपैयाँको बिल बन्नु पर्ने थियो । होटलले राज्यलाई तिर्नु पर्ने करलाई वेवास्ता गर्दै सो रकमलाई एउटा कागजमा लेखेर दियो । यस्ता प्रकारका होटलहरू बिलविजक जारी गर्ने/ नगर्ने विषयलाई लिएर विकासन्युज यो अनुसन्धान गरेको हो । दरवारमार्गका प्राय यस्ता प्रकृतिका होटलले ग्राहकलाई बिलविजक दिएपनि पिज्जा हटले भने यसरी नै कागजको टुक्रामा लेखेर बिल दिने गरेको छ । दरवारमार्गको मात्र होइन ठमेलस्थित पिज्जा हटमा पनि ग्राहकलाई यस्तै व्यवहार गरिन्छ । उसले पनि यसरी नै कागजको टुक्रालाई बिल बनाउने गरेको छ । यसरी हातले कागजको टुक्रामा लेखेर दिएको बिल जारी गरेको प्रमाण कहि कतै हुँदैन । बिल नलिदा आफू मूल्य अभिवृद्धि कर र सेवा शुल्कबाट बचेको ग्राहकले महशुस गरेपनि होटलले भने आफूले लिनुपर्ने सेवा शुल्क र कर लिइसकेको हुन्छ । यसरी ग्राहकलाई बिल नदिँदा ग्राहकले तिरेको कर होटलको हुन्छ । सरकारी ढुकुटीमा जाँदैन । पिज्जा हटले बिल नदिएर राज्य र ग्राहक दुबैलाई ठगिरहेको छ । भ्याट बिल मागे दिने नत्र नदिने  ग्राहकहरूले मागेको खण्डमा होटलले मूल्य अभिवृद्धि कर (भ्याट) बिल सजिलै दिने गरेपनि नमागेको अवस्थामा ग्राहकहरूले बिल पाउँदैनन् । नियमित रुपमा पिज्जा हट होटलमा खाजा खान जाने ग्राहकले दिएको जानकारी अनुसार–‘सो होटलले बिल नै नदिने त होइन, तर नमागेको खण्डमा भने ग्राहकहरूलाई बिल दिँदैन । हामी कहिले माग्छौं, कहिले त्यतिकै छाडिदिन्छौं, पिज्जा हटमा भेटिएका ती ग्राहकले भने ‘खाजा खाएको रकम भुक्तान गरेपछि बिल दिनु उनीहरूको धर्म र कतव्र्य हो भने बिल माग्नु हाम्रो अधिकार हो ।’ यस्तो छ सरकारको प्रतिक्रिया राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार–‘हालसम्म हामीले जटिल किसिमका मुद्दाहरूका लागि हामीले कदम चाल्दै आएका छौं । तर, यस्ता घटना पूर्ण रुपमा रोकिएका छैनन् ।’ उनले कर छली रोक्न अन्य विभागहरूले समेत काम गर्दै आएको बताए । साथै, गम्भिर ढङ्गका समस्याहरूमा आफ्नो तर्फबाट काम गर्दै आएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । पाँचतारे होटल अन्नपूर्णसँगै जोडिएको होटल हो पिज्जा हट । राजधानीका मात्र नभइ स्वदेश तथा विदेशका नागरिकले पिज्जाको स्वाद लिनका लागि उक्त होटलमा पुग्छन् । होटलबाट निस्कने क्रममा खाजा खाने ग्राहकहरूले होटलको काउण्टर भेट्न सक्छन् । सो काउण्टरमा ग्राहकहरूले आफूले खाएको खाजाको रकम भुक्तान गर्दछन् अनि बिल पनि लिन्छन् । खाजा खाने शिलसिलामा विकाशन्युज प्रतिनिधि राजधानीको दरबारमार्ग स्थित पिज्जा हट होटलमा पुग्दा होटलले मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रदान गरेन । होटलसँग विकाशन्युज प्रतिनिधिले बिल मागे । भ्याट बिल आएन । होटलले बिल त सोध्ने बित्तिकै ल्याइदियो । तर, सो बिल इलेक्ट्रोनिक वा भ्याट बिल थिएन । बिल झट्ट हेर्दा चिट जस्तो प्रकृतिको देखियो । दरवारमार्गका होटलहरूमा विशेषत विदेशी पर्यटकहरूको चाप बढी रह्न्छ । यस्तो ठाउँमा कर छली गर्दा त्यसको नकारात्मक हल्ला विदेशमा समेत पुग्ने छ भने राज्यले ठूलोमात्र राजस्व गुमाइरहेको हुन्छ । पिज्जा हटले राजधानीमा बसेर बदमासी गरिरहेको छ । राजश्व चुहावटमा यस्तै छिद्रहरू रहेकाले यसको नतिजा सधै नकारात्मक नै रहने राजस्वका अधिकारीहरूको भनाइ छ । कर छल्न कसैलाई छुट छैन, त्यसमाथि राजधानीको मुटुमा बसेर कर छली गर्दा कर प्रशासनलाई चुनौती दिएको राजस्व अनुसन्धान विभागले बताएको छ । साथै, राजश्वको क्षेत्रमा लामो समयसम्मको अनुभव हासिल गरेका अधिकारीहरुले भने आगामी दिनमा कर छली रोक्न सबैतिरबाट प्रयास हुन जरुरी रहेको तर्क गरेका छन् ।

टाटा हिटाचीको पार्टस् मेला ८ गतेसम्म संचालन गर्ने

काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले आगामी मंसिर ८ गतेसम्म पार्टस् मेला संचालन गर्ने भएको छ । कम्पनीले मंसिर १ गतेदेखि नै देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा उक्त मेलाको आयोजना गरेको थियो । पार्टस् मेलामा टाटा हिटाचीका ग्राहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा छुटको व्यवस्था गरीएको कम्पनीले जनाएको छ । साथै, मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने ग्राहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गर्ने छन् ।

वैदेशिक रोजगारमा गएर मृत्यु भएका साढे सात हजार बढी परिवारले पाए २ अर्ब १८ करोड राहत

काठमाडौं । वार्षिक रुपमा वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेर हालसम्म सात हजार सात सय २५ पुगेकाे छ । वैदेशिक राेजगारमा गएर मृत्युवरण गरेका परिवारले राहत स्वरुप २ अर्ब १८ करोड १९ लाख ६४ हजार रुपैयाँ  पाएकाे वैदेशिक रोजगार बोर्डले जानकारी  दिएकाे छ । एक दशककाे याे अवधिमा नेपालले यी युवा गुमाएकाे हाे । वैदेशिक रोजगार बोर्डले कार्तिकसम्म रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई राहत स्वरुप साे रकम उपलब्ध गराएकाे हाे ।  चालु आर्थिक वर्षमा बोर्डले दुई सय ५५ जना मृतकका परिवारलाई १६ करोड ६० हजार रुपैयाँ सहायता स्वरुप प्रदान गरेको छ ।  आठ महिला र दुई सय ४७ पुरुषले साे राहत पाएका हुन् । नेपालबाट वार्षिक साढे दुई लाख कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि देश छोड्ने गरेका छन् । साे मध्ये कति विदेशी भूमीमा काम गरेर सकुशल फर्किएका छन् भने कतिले विदेशी भूमीमा नै आफ्नो जीवन अर्पण गरेका छन् । यसले परिवारको आयस्तर र देशकै अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण भुमिका खेलेको छ । रेमिट्यान्सको मूल आधार वैदेशिक राेजगारमा गएकामध्ये  दैनिक दुई कामदारको शव नेपाल भित्रिने गरेकाे छ ।  बोर्डको तथ्यांक अनुसार गतवर्ष रोजगारमा गएका करिब सात सय ६० श्रमिकको शव नेपाल भित्रिएको छ । नेपाली युवाहरु वार्षिक रुपमा वैदेशिक रोजगारमा जाँदै गर्दा सरकार रेमिट्यान्समा मख्ख छ भने यता दैनिक दुई परिवारले आफ्नो सन्तान गुमाइरहेका छन् । चरम गरिबीका कारण रोजगारीमा जानेका लागि प्रमुख केन्द्रविन्दु मलेसियाबाट दुई हजार सात सय ५४ शव नेपाल भित्रिएको छ । त्यस्तै साउदी अरेबियाबाट दुई हजार ९६ जनाको मृत्यु भएको त्यस्तै कतारमा १४ सय ९९ जनाको मृत्यु भएको छ । देशमा रोजगारको अवस्था सिर्जना नभएपछि  वार्षिक लाखौं युवा विदेशियसँगै २०६५ सालदेखि हालसम्म सात हजार सात सय २५ जना युवालाई देशले गुमाएको छ । त्यस्तै हजाराै परिवारले आफ्नो सन्तान गुमाएका छन् । बैदेशिक रोजगार बोर्डमा सहायता वापत रकम लिन आएकी दोलखा घर भएकी २५ वर्षिय रमा खड्का भन्छिन्, ‘वैदेशिक रोजगारकै क्रममा करिब चार वर्ष पहिले मलेसिया गएका श्रीमान एक वर्ष बिति नसक्दै धेरै विरामी भए । उनलाई विभिन्न माध्यमबाट नेपाल झिकाइयो । नेपाल ल्याएको केहि महिनामा उहाँको मृत्यु भएको भयो । मृत्यु भएको पनि तीन वर्ष लाग्यो ।’ १८ वर्षकै उमेरमा विवाह गरेकी रमाको हाल ५ वर्षकी छोरी छन् ।  यो त केवल एक पात्र मात्र हो, राेजगारीका लागि विदेशिएका हजारौ परिवारको अवस्था यस्तै छ । गरिवीकै कारण घरपरिवारको आर्थिक स्थिति उकास्ने लक्ष्यका साथ विदेशिएका सयौं परिवारको कथा रमा खड्काभन्दा केहि फरक होला तर पीडा उस्तै छ । आर्थिक वर्ष  २०७४/७५ मा आठ सय एक पुरुष र २० जना महिला गरी जम्मा आठ सय २१ जनालाई बोर्डले ४५ करोड ६५ लाख रुपैयाँ प्रदान सहयोग गरेको छ । त्यस्तै गतवर्ष सात सय ५३ जना मध्ये सात सय ३० पुरुष र २३ महिलालाई ५० करोड ५८ लाख रुपैयाँ सहायता गरेको छ । सरकारले वैदेशिक बोर्डले यस्तै परिवारलाई लक्षित गर्दै सहायता रकम बराबर प्रतिव्यक्तिको परिवारलाई सात लाख रुपैयाँ र छोराछोरीको अध्ययनको लागि वार्षिक आठ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।