अब कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने

काठमाडौं । यातायात व्यवस्था विभागले कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै बिहान १० देखि साँझ ५ बजेसम्म बन्द हुने जनाएको छ । ‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयहरुबाट हने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

झापामा जेसीबीको ३५औं आउटलेट संचालन

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले झापाको दमकमा सुविधासम्पन्न ‘अथाेराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ ।  । ओम दमक मोटर्स प्रा। लि।ले सञ्चालन गरेको नयाँ आधिकारिक विक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए । नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको विक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेट मात्र होइन, ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो,’ उनले भने । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडीका कारण नेपालमा मनसुनजन्य विपद् आयोः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनका कारण नेपालमा मनसुनजन्य विपद आइरहेको बताएका छन् । आज (बुधबार) सर्वमान्य नेता गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । यद्यपि, उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानका कारण नेपालमा मनसुनजन्य विपद् किन आइरहेको छ भन्ने स्पष्ट भने पारेनन् । उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीति अनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण देशका हिमालहरुमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए । उनले फरक अर्काे एक फरक प्रसंगमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक गतिविधि नगर्न चेतावनी दिए । शाहलाई राजनीति गर्न मन भए चुनाव जितेर शासन गर्न देउवाको चुनौति छ । पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै उनले शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिएका हुन् । ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रबिरुद्ध जान सक्दिनँ सरकार भने तर, मलाई जेलमा थुनियो, त्यसकरण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने । उनले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए । वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहित हुनुपर्ने देउवाको भनाई छ । प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको धारणा राखे । संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्दै लैजाने बताए । ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन, जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ, त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो, यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँदली गर्न नसकोस्, बद्मासी गर्न नसकोस्, त्यसैले निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ, कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो, निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार हिँड्छ, निष्पक्ष निर्वाचन आयोगका साथसाथै वडा–वडाबाट नै निष्पक्ष चुनावबाट जो आउँछ मान्नुपर्छ, उपाय नै छैन, जितेपनि हारेपनि सहर्ष स्वीकार गर्नु हाम्रो कर्तव्य हो, सरकारले जनताप्रति काम गरेन भने अर्को अउँछ, जनताप्रति प्रजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यता तिर लागौँ न हामी, मैले त धेरै पटक भनिसकेको छु,’ प्रधानमन्त्री देउवाले भने ।