एक्साइड ब्याट मोबाइल सेवा ५० हजार ग्राहकसम्म पुग्यो

काठमाडौं । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहकलाई सेवा पुर्याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपलब्धिले एक्साइड ब्याट्री सेवाको इतिहासमै एउटा उल्लेखनीय माइलस्टोन स्थापित गरेको छ । सन् २००७ फेब्रुअरीमा सुरु भएको एक्साइड ब्याटमोबाइलले सुरुका दिनमा मासिक जम्मा २७ वटा कल मात्र पाएको थियो । तर समयसँगै सेवा दायरा बढ्दै गएपछि हाल दैनिक २८ भन्दा बढी ग्राहकले यस सेवामार्फत सहयोग प्राप्त गर्दै आएका छन् । सेवा सुरु भएको दिनदेखि अविराम रूपमा निरन्तर सञ्चालनमा रहने प्रतिबद्धता कम्पनीले जनाएको छ । कम्पनीले एक्साइड ब्याटमोबाइल सेवालाई 'लाइक एन अनबिटेबल किङ्ग अफ ब्याट्री' भनेर परिभाषित गरेको छ । नेपालकै नम्बर एक ब्याट्री ब्रान्डको दाबी गरिएको एक्साइड सिप्रदी ट्रेडिङ प्रालिको सुपरभिजनमा सञ्चालन हुँदै आएको छ । ग्राहकहरूका अनुसार नेपालमा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने यो एक मात्र ब्याट्री सेवा हो, जसले गर्दा यसप्रति विश्वास र आकर्षण बढ्दै गएको कम्पनीले उल्लेख गरेको छ । सुरुवाती चरणमा चार टेक्निसियन, दुई ड्राइभर, एक टेक्निसियन कम ड्राइभर र एकको अर्डिनेटरसहित सञ्चालित सेवाले मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ६ बजेदेखि राति ९ बजेसम्म निरन्तर सेवा उपलब्ध गराउँदै आएको थियो। टेकु शोरुमबाट सुरु भएको सेवा पछि पचली भैरवस्थित एक्साइड केयर सेन्टरमा स्थानान्तरण भयो र अहिले बागडोल एक्साइड केयर सेन्टरबाट सञ्चालन भइरहेको छ। कम्पनीले २०१६ फेब्रुअरीदेखि स्कुटरमार्फत पनि सेवा विस्तार गरेको र हाल देशभरका ११ शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ । काठमाडौंसँगै पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ । एक्साइड ब्याटमोबाइल सेवा कार, एसयूभी तथा ईभी ट्याक्सीका लागि निःशुल्क स्टार्ट सेवा उपलब्ध गराउँदै आएको छ । 'हेल्प अन द वे, एनीटाइम—एनी ब्याट्री' नाराका साथ वर्षभरि ३६५ दिन सेवा सञ्चालनमा रहने कम्पनीले जनाएको छ । ५० हजार सेवा कलको उपलब्धिलाई कम्पनीले अत्यन्तै महत्वपूर्ण सफलता मान्दै वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीको मार्गदर्शन र योगदानप्रति आभार प्रकट गरेको छ ।

टाटा ईभी प्रयोगकर्ताका लागि सिप्रदीको ‘विन्टर सर्भिस क्याम्प’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीसाधन (ईभी) प्रयोगकर्तालाई लक्षित गर्दै 'विन्टर ईभी सर्भिस र एक्सचेन्ज क्याम्प' सार्वजनिक गरेको छ । जाडो याममा ईभीको प्रदर्शन र सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुनेछ । सिप्रदीका अनुसार क्याम्पमा सहभागी ग्राहकले विभिन्न निःशुल्क सेवाहरू पाउनेछन् । निःशुल्क लेबर चार्ज, टप वाशिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेक जाँच लगायतको १० प्वाइन्ट चेकअप सेवा उपलब्ध हुनेछ । त्यस्तै, जाडो महिनामा सर्भिसिङलाई किफायती बनाउने उद्देश्यले आवश्यक स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । सर्भिस सुविधासँगै यस क्याम्पमा ईभी एक्सचेन्ज सेवासमेत उपलब्ध गराइनेछ । नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकलाई थप विकल्प र लाभ प्रदान गर्न एक्सचेन्ज सुविधा उपयोगी हुने सिप्रदीको दाबी छ । ग्राहकलाई सुरक्षित, भरपर्दो र सहज सवारी अनुभव दिलाउने लक्ष्यसहित ल्याइएको यो पहल जाडो मौसमलाई आत्मविश्वासका साथ पार गर्न सहयोगी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । विद्युतीय गतिशीलताको विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी तथा ग्राहक–मैत्री कार्यक्रम निरन्तर अघि बढाइने सिप्रदी ट्रेडिङले जनाएको छ ।

पेट्रोल गाडीलाई ईभी बनाउने सरकारी कानुनमा व्यवसायी असन्तुष्ट, विज्ञले उठाए सुरक्षा जोखिम

काठमाडौं । सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधन (ईभी) मा रूपान्तरण गर्न दिन अस्थायी छुटसँगै यो विषयले चर्चा पाएको छ । यद्यपि, विज्ञहरूले यसको कार्यान्वयनमा विशेषगरी सुरक्षा मापदण्ड, जनशक्ति विकास र पूर्वाधारको अभावलाई लिएर चुनौती औंल्याएका छन् । विद्युतीय सवारी समितिका सभापति तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले पेट्रोल गाडीलाई ईभीमा रूपान्तरण गर्दा सबैभन्दा बलियो चुनौती सुरक्षा रहेको बताए । उनका अनुसार ईभी प्रविधि नै नयाँ भएकाले पेट्रोल गाडीलाई ईभीमा रूपान्तरण गर्दा प्रयोग गरिने किटहरूको सुरक्षा मापदण्ड जाँच गर्ने पूर्वाधार र क्षमता नेपालमा छैन । श्रेष्ठ सरकारको निर्णयलाई लिएर उत्साहित मात्र छैनन्, उत्तिकै चिन्तित पनि छन् । उनको चिन्ताको मुख्य विषय हो– सुरक्षा ।  ‘हामी पेट्रोल गाडीलाई ईभी बनाउने त भन्दै छौं । तर त्यसमा प्रयोग हुने किट कस्तो छ ? त्यो किटको सुरक्षा मापदण्ड जाँच गर्ने पूर्वाधार हामीसँग छ कि छैन ?’ उनले भने ।  श्रेष्ठले हाई–भोल्टेजमा सञ्चालन हुने ईभीहरूको सुरक्षालाई विशेष महत्त्व दिनुपर्नेमा जोड दिए ।  ‘इलेक्ट्रिक भेहिकल उच्च भोल्टेजमा चल्ने भएकाले यसको सुरक्षा परीक्षण अत्यन्त संवेदनशील हुन्छ,’ उनले विकासन्युजसँग भने, ‘यदि हामीले त्यसको सेफ्टी पर्याप्त रूपमा जाँच गर्न सकेनौं भने भविष्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ । ’ उनका अनुसार सरकारले केवल मापदण्ड बनाउने काममै सीमित रहेर हुँदैन । ती मापदण्डलाई व्यवहारमा उतार्न आवश्यक उपकरण, पूर्वाधार र दक्ष जनशक्ति पनि तयार गर्नुपर्छ ।  श्रेष्ठले नेपालमा रूपान्तरण (कन्भर्शन) सम्बन्धी प्राविधिक काम गर्न सक्षम दक्ष जनशक्तिकै ठूलो अभाव रहेको बताए ।  ‘हामीले आफूले चाहेको रूपान्तरण गर्न जनशक्ति पनि उत्पादन गर्नुपर्छ ? अहिले आवश्यक स्तरको जनशक्ति निकै सीमित छ,’ उनले भने ।  उनका अनुसार सरकारले मात्र होइन । सरकार र निजी क्षेत्र दुवैले मिलेर प्राविधिक जनशक्ति उत्पादन गर्ने समन्वित कार्यक्रम अघि बढाउनुपर्ने छ ।  साथै विदेशबाट आयात हुने रूपान्तरण किट, पार्ट्स र अन्य उपकरणहरूको गुणस्तर तथा सुरक्षा जाँच गर्न सक्षम राष्ट्रिय परीक्षण संयन्त्र विकास गर्नु अत्यावश्यक रहेको उनले जोड दिए ।  यस्तै, बीवाइडी गाडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिका सेल्सहेड आशुतोष गौतम पेट्रोल गाडीलाई ईभीमा रूपान्तरण गर्नुभन्दा १५ वर्ष पुरानो गाडीलाई खारेज गर्ने नीति ल्याउनु बढी प्रभावकारी हुने धारणा राख्छन् ।  गौतमका अनुसार पुराना इन्धनचालित सवारीलाई जबरजस्ती ईभीमा रूपान्तरण गर्नेभन्दा पनि खारेज गर्ने नीति ल्याउनु धेरै व्यवहारिक विकल्प हुन सक्छ ।  ‘१५ वर्ष पुरानो गाडीलाई रूपान्तरण गर्नेभन्दा त स्क्र्याप गरेर नयाँ ईभी किन्ने व्यवस्था दिनु उचित हुन्छ,’ उनले विकासन्युजसँग  भने, ‘स्क्र्याप गर्ने उपभोक्तिलाई सरकारले केही कर छुट प्रदान गरे उनीहरूलाई नयाँ ईभी किन्न सजिलो हुन्छ । यो मोडेल अपनाउँदा ऊर्जा नोक्सानी कम हुने मात्र होइन, दीर्घकालीन रूपमा पनि धेरै लाभदायक हुनेछ । ’ उनका अनुसार पेट्रोल गाडीलाई ईभीमा रूपान्तरण गर्दा गाडीको दक्षता त्यति राम्रो नआएको अनुभव छ । सुरक्षा मापदण्डको सवालमा पनि उनी चिन्तित छन । उनले यसका लागि सुरुमा पूर्वाधार आवश्यक रहेको दाबी गरे ।  उनले पुरानो र नयाँ गाडीबीचको सुरक्षा फिचरमा आकाश–जमिनकै फरक रहेको बताए ।  आधुनिक ईभीहरूमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम एयरब्याग र अन्य सुरक्षा फिचरहरू उच्च स्तरका हुन्छन् । जुन पुराना गाडीहरूमा पुर्याउन असम्भव  रहेको उनको भनाइ छ ।  गौतमका भने, ‘पुराना आईसीइ गाडीहरू र आजका आधुनिक ईभीबीचको गुणस्तरको तुलना गर्दा आकाश–जमिनको फरक देखिन्छ । ५०÷६० लाख रुपैयाँमा आउने पुरानो आईसीइ मोडलका फिचर्स र अहिले ५० लाखमा उपलब्ध हुने ईभीका फिचर्स हेर्दा फरक छ । ’ उनका अनुसार बनावट (बिल्ड क्वालिटी), सुरक्षा सुविधाहरूदेखि लिएर प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनसम्म ईभीहरू धेरै उत्कृष्ट तथा आधुनिक बनिसकेका छन् । पेट्रोल गाडीलाई ईभीमा रूपान्तरण गर्ने सरकारी योजनाले वातावरण र ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्ने भए तापनि यसको दिगो र सुरक्षित कार्यान्वयनका लागि व्यापक तयारी आवश्यक देखिन्छ ।  सुरक्षा मापदण्डको विकास, परीक्षण पूर्वाधारको निर्माण, दक्ष जनशक्तिको उत्पादन, र प्रभावकारी नियमनका साथै पुराना गाडीका लागि वैकल्पिक नीतिहरूको बारेमा पनि गम्भीर बहस हुनुपर्नेमा व्यवसायीहरूको जोड छ ।  के भन्छन् सरकारी अधिकारी ? भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिले मोडिफाई गर्न नपाइने व्यवस्थालाई संघीय सरकारले खुकुलो बनाइदिएको बताए । सचिव शर्माका अनुसार अब ऐनमा एउटा दफा थपिएको छ, जसले सरकारले निश्चित समय तोकेर इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय मोटरमा रूपान्तरण गर्न सकिने गरी अनुमति दिएको छ ।  यो अस्थायी नभई तयार भएको विधेयकले स्थायी रूपमै यस्तो रूपान्तरणलाई मान्यता दिने उनको भनाइ छ । उनले अब संसदमा पारित भएपछि यो कानुन कार्यान्वयनमा आउने बताए ।  यसका लागि सवारीधनीहरूले सम्बन्धित प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूबाट आवश्यक स्वीकृति लिनुपर्ने सचिव शर्माले जानकारी दिए । उनका अनुसार यातायात व्यवस्था विभागले यस प्रक्रियामा प्राविधिक सहयोगका साथै सहजीकरणको भूमिका खेल्नेछ ।  ‘संघीय सरकारले आवश्यक सबै नीतिगत व्यवस्था गरिसकेको छ । अब त्यसैको आधारमा अगाडि बढ्ने क्रम, चरणबद्ध प्रक्रिया र आवश्यक कदमहरू समावेश हुनेछ’, सचिव शर्माले भने ।  यस्तै, यातायात व्यवस्था विभागका अधिकारीहरूले यो निर्णयलाई पुरानै प्रक्रियाको निरन्तरता मात्र भएको र कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तथा कानुनको अभाव रहेको स्वीकार गरेका छन् ।  यातायात व्यवस्था विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवले सरकारले समय थपे पनि रोडम्याप अझै अन्योलग्रस्त छ ।  उनले भने, ‘सुरुमा ५ वर्षको लागि दिइयो । त्यसपछि २०७५ सालमा ३ वर्ष तोकियो । अहिले फेरि ३ वर्ष म्याद थपिएको मात्र हो,’ यादवले भने, ‘यो पुरानै निर्णयको कन्टिन्युटी मात्र हो, यो नौलो फड्को होइन । ’ उनका अनुसार संघीय सरकारले नीतिगत निर्णय गरे पनि कार्यान्वयन गर्ने अधिकार प्रदेश कार्यालयहरूसँग हुँदा जटिलता थपिएको छ । सवारीको स्वरूप परिवर्तन गरेपछि ब्लुबुकमा विवरण सच्याउनुपर्छ ।  ‘यो मोबाइलमा म्यासेज पठाएजस्तो सजिलो छैन,’ यादव भन्छन्, ‘सवारी हेरफेर गरेपछि दर्ता किताबमा लेख्नुपर्छ, जुन प्रदेश कार्यालयको क्षेत्राधिकार हो । तर प्रदेश कार्यालयले कसरी काम गर्ने, के मापदण्ड टेक्ने भन्ने विषयमा अस्पष्टता छ । ’ पेट्रोल गाडीलाई ईभी बनाउँदा आवश्यक पर्ने ल्याब, परीक्षण केन्द्र र दक्ष जनशक्ति नभएको पनि उनी बताउँछन् । मोटर, ब्याट्री र नियन्त्रण प्रणालीको गुणस्तर कसरी मापन गर्ने भन्ने संयन्त्र नै तयार नभएको उनले स्वीकार गरे । सरकारले निजी क्षेत्रलाई नै सुसज्जित पूर्वाधार बनाउन प्रोत्साहन गर्ने नीति लिएको देखिन्छ । तर, निजी क्षेत्रले कुन मापदण्डमा टेकेर लगानी गर्ने भन्ने कानुन नबन्दा उनीहरू हच्किएका छन् ।  ‘निजी क्षेत्रले लगानी गर्न तयार छ, तर सरकारले पहिले कानुनी बाटो खुलाइदिनुपर्छ । अस्थायी निर्णय वा मापदण्डको भरमा मात्र लगानी सुरक्षित हुँदैन, कानुनमै स्पष्ट व्यवस्था हुनुपर्छ,’ यादवले भने ।