विकासन्युज

२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’ पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्छन्, ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’ उनका अनुसार सुन्धारा वास्तुकलात्मक छ । ढुुङ्गाहरूमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागीश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’ जयवागीश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, ‘लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आह्वान गर्नुभएको थियो । उहाँको आह्वानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागीश्वरी आउनुभएको हो । शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार उहाँले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।’

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ ।  वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।  त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रुपैयाँ रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।  त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने चार अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ । 

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा २ हजार ६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा ३ अर्ब ४५ करोड ६३ लाख बराबरको  अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१.४० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० प्रतिशत र फलामे पाता निर्यातमा ९७.८० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य

काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा, धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ निर्माण व्यवसायीबाट काम भइरहेको हो । निर्माण व्ययवासीले नै पुलको डिजाइन गरी  निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मङ्सिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्नु बाध्यता छ ।   १७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहा (पूर्व)तर्फको २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम)पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । सोही बमोजिम भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम अब सुरु हुने छ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् । पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त  प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ ।   ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको  निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको  विषयमा छलफल भइरहेको र डिजाइनको टुङ्गो लागेपछि निर्माण सुरु हुनेछ । तराई-मधेसको लाइफ लाइनका रूपमा रहेको  हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौँ पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् । यस्तै, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन् । अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ । सो समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव आयोगका वरिष्ठ कम्युटर अधिकृत सदस्य रहने व्यवस्था छ । यस्तै, मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा तोके बमोजिमको उपसचिव सदस्यसचिव रहनेछन् । यसैगरी जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला कारागार प्रमुख सदस्य रहनेछन् । निर्वाचन अधिकारीलाई सदस्य सचिवका रुपमा रहने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गर्ने र विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । अस्थायी मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ । निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी वा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली निर्धारित ढाँचामा तयार पार्नुपर्ने व्यवस्था छ ।

काठमाडौं र ललितपुरका होटल रेष्टुरेन्टमा अनुगमन, दुईलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरिएको जनाएको छ । यस्तै, विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । काठमाडौं र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुमगन भइरहेको विभागले उल्लेख गरेको छ । चाडवाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुमगन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ । बजारको स्वच्छता कायम राख्ने, कालाबजारी नियन्त्रण गर्ने, खाद्य पदार्थमा अखाद्य पदार्थ मिमिन नदिन सचेतता पूर्वक अनुमगन गरिएको विभागले जनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र जनप्रतिनिधिको उपस्थितीमा बजार अनुमगन हुँदा कानुन कार्यान्वयनमा सहज भएको विभागको दावी छ । रासस

काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने भएको छ । प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ  । काठमाडौं उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य गरिरहेको र भूमिगतकार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

अमेरिकी डलरको मूल्य बढ्यो, शनिबारका लागि विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । शनिबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ  ।