पाथिभराको ७ करोडको सुनचाँदी बिक्रीमा, सुन मात्रै १७८.८२ तोला
काठमाडौं । पाथीभरा क्षेत्र विकास समितिले करिब ७ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री गर्ने भएको छ । फुङलिङ नगरपालिका-४ ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले ६ करोड ९७ लाख ८७ हजार ७४४ रुपैयाँ बराबरको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको हो । समितिका अनुसार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँका दरले १७८ तोला ८२ लाल सुन बिक्रीमा राखिएको छ । जस अनुसार ४ करोड ७२ लाख ४४ हजार २४४ रुपैयाँको सुन बिक्रीमा राखेको हो । यस्तै, प्रतितोला ४ हजार २५५ रुपैयाँका दरले ५ हजार २९८.१२ तोला चाँदी बिक्रीमा राखिएको हो । सो आधारमा सिमतिले २ करोड २५ लाख ४३ हजार ५ सय रुपैयाँको चाँदी बिक्री गर्ने भएको हो । सुन तथा चाँदी जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने भएकाले पुस २९ गतेभित्र उक्त सुनचाँदी खरिद गर्न इच्छुकले सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने समितिले जनाएको छ बोलपत्र साथ कबोल गरेको कुल रकमको १० प्रतिशतले हुन आउने रकम पाथीभरा क्षेत्र विकास समितिको बैंक खतामा धरौटी रकम जम्मा गर्नुपर्नेछ । बोलपत्र स्वीकृत भएको जानकारी ३ दिनभित्र सम्झौता गर्नुपर्नेछ । अन्यथा बोलपत्र रद्द गरी धरौटी बापत जम्मा गरेको रकम जफत गरिने समितिले जनाएको छ । बोलपत्र फाराम बापत २ हजार रुपैयाँ समितिको कार्यालयबाट लिन सकिनेछ । १ फाराममा कुनै १ मात्र प्याकेज वा दुवै प्याकेजको महलमा कबोल अंक भर्न पाइने छ । यदि सुन तथा चाँदी खरिद गर्न चाहेमा १ वटा फाराम मात्र खरिद गर्नुपर्ने हुन्छ ।
मलेसियाले बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति लागू गर्ने
काठमाडौं । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति लागू गर्ने योजना समावेश छ, जसले सफा ऊर्जा र सम्बन्धित पूर्वाधारको माग बढाउने विश्वास गरिएको छ । ‘टीए अनुसन्धान संस्था’ को प्रतिवेदन अनुसार, राष्ट्रिय ऊर्जा रूपान्तरण मार्गचित्र अन्तर्गत सन् २०५० सम्म ७० प्रतिशत नवीकरणीय ऊर्जा लक्ष्य राखिएको छ, जसले ऊर्जा रूपान्तरणलाई गति दिनेछ । यसअन्तर्गत चार गीगावाट क्षमताको ठूलो स्तरको घाम परियोजना कार्यान्वयन हुने छ । बजेट सन् २०२६ अनुसार अर्को ठूलो स्तरको घाम परियोजना पनि आगामी वर्ष सञ्चालन हुने अपेक्षा छ । साथै, बायोग्यास र सानो जलविद्युत उप-क्षेत्रका लागि ३०० मेगावाट विद्युतीय मूल्य सुनिश्चित कोटा उपलब्ध गराइनेछ । टीए अनुसन्धान संस्थाले सन् २०२६ मा कार्बन कर लागू भएमा ग्रिडबाट प्राप्त विद्युतीय ऊर्जा महँगो हुन सक्ने भनेको छ, जसले नवीकरणीय ऊर्जा प्रयोग बढाउनेछ । सीजीएस अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले सन् २०२५ मा ऊर्जा भण्डारण प्रणालीको प्रयोग पनि बढ्ने अपेक्षा गरिएको छ । कर्पोरेट क्षेत्रले नवीकरणीय ऊर्जा आपूर्ति योजनामा पहुँच शुल्क घटेपछि हरित ऊर्जा प्रयोग बढाउनेछ र परियोजनाको आर्थिक लाभ सुधारिनेछ । फोहोरबाट ऊर्जा उत्पादन र बायोमास परियोजनामा पनि ध्यान दिइने योजना छ, किनभने सरकारले परिपत्र अर्थतन्त्र अघि बढाउन जोड दिएको छ । क्षेत्रीय पावर क्षेत्रले मलेसियाको ऊर्जा क्षेत्रमा ठूलो विकासको अवसर सिर्जना गर्नेछ । यसले स्थानीय विद्युत कम्पनीहरूलाई क्षेत्रीय नवीकरणीय ऊर्जा आपूर्तिकर्ता बन्न सहयोग पुर्याउनेछ । लाओस, थाइल्याण्ड, मलेसिया र सिङ्गापुरबीचको पावर संयोजन परियोजना यस प्रयासको उदाहरण हो ।
पूर्वीनाकाबाट भित्रियो पौने ८ अर्बको पेट्रोलियम पदार्थ, ३.८० अर्ब रुपैयाँ राजस्व सङ्कलन
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार रुपैयाँ अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पाँच महिनामा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, २ अर्ब ५३ करोड १६ लाख रुपैयाँका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, उक्त पाँच महिनामा १ अर्ब १ करोड ६० लाख रुपैयाँका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाख रुपैयाँका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।
विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्ने भएको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
भारतको सहयोगमा निर्माण हुने २ परियोजनाको शिलान्यास
काठमाडौं । भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौं स्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाश कुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा शिलान्यास गरे । सिद्धिचरण नगरपालिका-५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भारतीय दूतावासले जनाएको छ । नयाँ भवन साढे ३ तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ । यस्तै, भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका-३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको पनि शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौं स्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गरे । धुर्कोट गाउँपालिका-३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग ३ करोड ८० लाख रुपैयाँमा निर्माण गर्न लागिएको दूतावासले जनाएको छ । नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिका मार्फत कार्यान्वयन गरिने बताएको छ ।
इन्द्रेणी व्याङक्वेट, थकाली भान्सा घरसहित ३ वटा होटललाई नगद जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटललाई कूल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार रुपैयाँ, पाककला प्रालिलाई १० हजार रुपैयाँ र इन्द्रेणी फुड वर्ल्ड एन्ड व्याङक्वेटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसार कारबाही गरेको हो । यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र ३ वटालाई नगद जरिवाना गरेको हो ।
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने, ३ लाख ९६ हजार थान छपाइ
काठमाडौं । राहदानी विभागले अब २ कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।
समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा हुलाक टिकट लोकार्पण
काठमाडौं । नेपाल सरकार अन्तर्गतको हुलाक सेवा विभागले समाजसेवी तथा उद्योगी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा १० रुपैयाँ अंकित हुलाक टिकटको प्रथम आवरणमा टाँचा प्रदान गरी लोकार्पण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच गोयलले नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै यो टिकट सार्वजनिक गरिएको हो । कार्यक्रममा गोयल फाउन्डेसनका अध्यक्ष तथा स्वर्गीय ओमप्रकाश गोयलका सुपुत्र कैलाशचन्द्र गोयलले आफ्नो पिताको संघर्ष र समाजसेवाप्रतिको समर्पणको स्मरण गरे । उनले भने, ‘मेरा पिता एक साधारण परिवारबाट उठेर भारतको हरियाणादेखि नेपालको भद्रपुर हुँदै काठमाडौंसम्म आफ्नो कर्मक्षेत्र बनाए । आफ्नो कमाइको केही हिस्सा समाजसेवामा लगाउनु भन्ने उहाँको प्रेरणाले हामीलाई सधैं दिशानिर्देश गर्यो ।’ कैलाशचन्द्र गोयलले आफ्नो पिताले खानेपानी, स्वास्थ्य, शिक्षा, गौशाला निर्माण र मठमन्दिर स्थापना जस्ता अनगिन्ती सामाजिक कार्यमा जीवनभर सक्रिय रहेको बताए। उनले भने, ‘बुवाले सुरु गर्नुभएका सामाजिक कार्यलाई निरन्तरता दिन र उहाँको सपनालाई जीवित राख्न हामीले गोयल फाउन्डेसन स्थापना गरेका हौं ।’ कैलाशचन्द्रले आफ्नो पिताको निधनको १८ वर्षपछि सरकारले हुलाक टिकट प्रकाशन गरेर गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै गोयल परिवार सधैं सरकार र हुलाक सेवा विभागप्रति ऋणी रहने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले भौतिक शरीर नष्ट भए पनि असल कर्मले मानिसलाई युगौंसम्म अमर बनाउने बताए । उनले भने, ‘आज ओमप्रकाश गोयलजी हुलाक टिकटमा टाँसिनुभएको छ । उहाँ आफ्नो भौतिक शरीरले हामी माझ हुनुहुन्न, तर उहाँले समाजका लागि गर्नुभएको कामले उहाँलाई अमर बनाएको छ। मान्छे साच्चिकै मर्दैन, कर्मले अमर रहन्छ ।’ उनले देशको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाप्रति उद्योगी(व्यवसायीमा रहेको चिन्तालाई स्वीकार गर्दै अब विवेकपूर्ण निर्णय लिने समय आएको पनि बताए । उनले भदो २३ र २४ गते आन्दोलनमा सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त देशको सपना देखेर ज्यान दिने युवाहरूको बलिदानले वर्तमान सरकार बनेको स्मरण गराए। समारोहमा उद्घोषकले गोयलको परोपकारी भावनालाई एक मार्मिक कथामार्फत प्रस्तुत गरेका थिए । हुलाक सेवा विभागको आयोजना र गोयल फाउन्डेसनको सह-आयोजनामा सम्पन्न उक्त समारोहमा उपसभामुख इन्दिरा राना मगरलगायत सरकारी अधिकारीहरू, उद्योगी-व्यवसायी तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।