विकासन्युज

नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय

काठमाडौं । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को संस्थापन पक्षले बुधबार ४९औं वार्षिक साधारण सभा आयोजना गरेको छ ।  नाडाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशन र रोकलाई ठाडो चुनौती दिँदै साधारण सभा आयोजना गरेको हो ।  प्रशासनले निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा गर्न दिएको आदेशलाई बेवास्ता गर्दै अध्यक्ष करण चौधरी पक्षले बन्दसत्र सञ्चालन गरेको हो ।  यति मात्र होइन, विवादका बीच नाडालाई महासंघ बनाउने प्रस्तावसमेत पारित गरिएको छ । जसलाई असन्तुष्ट पक्षले अवैध संज्ञा दिएको छ । जिल्ला प्रशासन कार्यालयले पुस ९ गतेका लागि तय गरिएको साधारण सभा रोक्न मंगलबार नै पत्र काटेको थियो । तर, नाडा नेतृत्वले सरकारी आदेशको बर्खिलाप गर्दै कार्यक्रम अगाडि बढाएपछि संस्थाभित्रको विवाद अब सडक र अदालतसम्म पुग्ने देखिएको छ । असन्तुष्ट पक्षका अनुसार नाडाको विधानमा साधारण सभा बोलाउनुअघि कम्तीमा १५ दिनको सार्वजनिक सूचना दिनुपर्ने अनिवार्य व्यवस्था छ । तर, उक्त प्रक्रिया पुरा नगरी हठातमा सभा आयोजना गरिएको भन्दै स्रोतले भन्यो, ‘प्रक्रिया नपुर्‍याई गरिएको यो सभा केवल पैसाको बरबादी र टाइम पास मात्र हो । यसका कुनै पनि निर्णयले कानुनी मान्यता पाउने छैनन् ।’ नाडामा विवादको बीउ दुई वर्षअघि नै रोपिएको थियो । करण चौधरी र आकाश गोल्छाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुन लाग्दा दुई पक्षबीच चौधरी अध्यक्ष र गोल्छा वरिष्ठ उपाध्यक्ष हुने सहमति भएको थियो । अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधनसमेत गरिएको थियो । तर, पछि अध्यक्ष चौधरीले विधान संशोधनको जानकारी जिल्ला प्रशासन कार्यालयमा समयमै दर्ता नगराएको र सचिवालयको ढिलाइको फाइदा उठाउँदै गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट हटाएर साधारण सदस्यमा झारेपछि विवादले उग्र रूप लिएको हो ।  गोल्छाले नयाँ संस्था नाइमा खोलेको रिस फेर्न चौधरीले एकलौटी निर्णय गरेको आरोप असन्तुष्ट पक्षको छ । नाडाका कतिपय सदस्यहरूले संस्थालाई अध्यक्षले आफ्नो निजी कम्पनी जस्तो चलाएको र फरक मत राख्नेहरूलाई पाखा लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।  ‘अध्यक्षको एकलौटी र निरंकुश कार्यशैलीले गर्दा नै नाडा फुट्यो,’ एक सदस्यले भने, ‘अहिलेको जबरजस्तीले नाडाको प्रतिष्ठा थप धमिलिएको छ ।’  असन्तुष्ट पक्ष प्रशासनको आदेश उल्लंघन भएको भन्दै पुनः कानुनी उपचार खोज्ने तयारी गरेको छ । के भन्छ प्रशासन ? जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रक्रियागत रूपमा कागजात प्राप्त भएपछि मात्रै त्यसबारे थप छलफल हुने र स्थानीय प्रशासनको स्वीकृतिविना कुनै पनि निर्णय अन्तिम नहुने जनाएको छ ।  संस्थाले महासंघ बनाउने प्रस्ताव पारित गरिसकेको सन्दर्भमा प्रशासनको आधिकारिक धारणा बुझ्न खोज्दा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले संस्थाको आन्तरिक निर्णयबारे आफूहरूलाई औपचारिक जानकारी प्राप्त नभएको बताए ।  ‘उहाँहरूले आफ्नो विधान र कार्यविधिअनुसार के-के प्रस्ताव पारित गर्नुभयो । त्यो निर्णय हामीकहाँ आएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीलाई कुनै आधिकारिक जानकारी छैन ।’ उनले संस्थाले आफूखुसी निर्णय पारित गर्दैमा त्यसले स्वतः मान्यता नपाउने कुरामा जोड दिए ।  ‘उहाँहरूले पारित गर्ने बित्तिकै हामीले बनाइहाल्छौं भन्ने हुँदैन । स्थानीय अधिकारीको स्वीकृति नभईकन त्यो निर्णय अन्तिम हुँदैन, सहायक प्रजिअ भट्टराईले भने ।  नाडाको नयाँ नेतृत्वको टुंगो पुस २५ गते लाग्ने जनाइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको र प्रशासनले समेत रोक लगाएको अवस्थामा सम्पन्न यो साधारण सभाले नाडालाई थप कानुनी संकटमा धकेल्ने निश्चित छ ।  निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन  

होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।  बुधबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न एक समारोहमा सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच आईपीओ तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो  । होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए  । सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशन आईपीओको बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा फैलिएको होटल पार्क ल्याण्ड लिमिटेडले विगत १८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल होटलमा ३२ कोठा छन् र गैडाचोकबाट ३५० मिटरको दूरीमा रहेको छ । कम्पनीले छिट्टै आफ्नो क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रमा १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । पुस १० गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले क्रिसमस डे पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।  डिसेम्बर २५ अर्थात क्रिसमस डेमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा उत्सव मनाउने छन् । बिदाको दिन बैंक, बीमा कम्पनी, सेयर बजार तथा सरकारी कार्यालयहरू बन्द रहनेछन् ।

कुलमानले सय दिनमा गरे १०१ काम (सूचीसहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् ।  सिंहदरबारस्थित भौतिक मन्त्रालयमा बुधबार (आज)  पत्रकार सम्मेलन गर्दै उनले सय दिने प्रगति सार्वजनिक गरेका हुन् ।  जेनजी आन्दोलनपछिको विषम र चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारमा आम नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि ठूलो विश्वास र दायित्व दुवै भएको मन्त्री घिसिङले बताए । मन्त्रीको हैसियतमा नभई जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको दावी उनको छ । मन्त्री घिसिङले आलोचनाबाट नडराई, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको समेत दावी गरेका छन् ।  डेडिकेटेड तथा ट्रंकलाइन संरचना प्रयोग गरी खपत भएको विद्युतको बक्यौता उठाउन सुरु भएको विषयलाई पनि उनले आफ्नो प्रगति विवरणमा समावेश गरेका छन् । पत्रकार सम्मेलनमा उनले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित यस अवधिमा सडक विभागअन्तर्गतका करिब ३ अर्ब रुपैयाँका ठेक्का रकम भएका ४० वटा रुग्ण ठेक्का तोडिएको बताए ।  ‘अरू करिब डेढ सय रुग्ण ठेक्का तोड्ने प्रक्रियामा छन्,’ उनले भने, ‘जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएका छन् ।’ सहरी विकास मन्त्रालयअन्तर्गतका पनि ४ रुग्ण ठेक्का तोडिएको उनको भनाइ छ ।  मन्त्री घिसिङले तोडिएका आयोजना फेरि अलपत्र नपार्ने प्रतिबद्धता जनाउँदै नयाँ ठेक्काको प्रक्रिया सुरु गरिसकेको जानकारीसमेत दिए ।  करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ अनुमानित लागत रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी ढाँचा तय गरिएको र सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरे। 

एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह बुधबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधारका कामहरू अगाडि बढिरहेको जानकारी दिए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले समारोहमा ग्यास उद्योगले सामना गर्दै आएका व्यवहारिक समस्या र चुनौतीहरूबारे स्पष्ट धारणा राखे । साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा संघको तर्फबाट निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको जानकारी दिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निर्वाचनमा सक्रिय सहयोग गर्न हार्दिक अपिल गरे । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज, नियमित र व्यवस्थित बनाउन निगम निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो । सो अवसरमा नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट एलपी ग्यास आयातलाई दीर्घकालीन, सुरक्षित र लागत प्रभावी बनाउने उपायका रूपमा पाइपलाइन विस्तार आवश्यक रहेकोमा जोड दिए । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगको संस्थागत सुदृढीकरण, आपूर्ति प्रणालीको सुधार तथा निजी क्षेत्रको जिम्मेवार भूमिकाका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  

माघ ११ को राष्ट्रियसभा निर्वाचन : सात प्रदेशमा निर्वाचन अधिकृत तोकिए

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ,  गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ ।  आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ ।  निर्वाचन कार्यक्रमअनुसा यही पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २३ गते बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०ः०० बजेदेखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।  पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्बन्धित मतदान केन्द्रमा बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ ।

एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष र सञ्चालकहरूका साथै अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय, अध्यागमन विभाग, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी सेवा अपरेटर (पीएसओ)का प्रमुखहरूको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ साल पौष ८ गते स्थापना भएको एनसीएचएलले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग तथा सेटलमेन्ट प्रणाली विकास गर्दै आएको छ । प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न २०६८ सालमा एनसीएचएल–ईसीसी सञ्चालनमा ल्याएको संस्थाले नेपाल राष्ट्र बैंकको रणनीति अनुरूप आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू क्रमशः सञ्चालनमा ल्याउँदै आएको छ । वार्षिकोत्सव समारोहमा एनसीएचएलले कम्पनीमा १० वर्ष सेवा पूरा गरेका हेड–पेमेन्ट सिस्टम छवि सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । साथै, संस्थाका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको स्थापना र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा एनसीएचएलले विभिन्न नवीन डिजिटल प्रोडक्ट तथा सोलुसनको अनावरणसमेत गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्ड सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको हो । एनसीएचएलले वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर–बैंक संस्थालाई १३ विधामा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीतर्फ क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन ईएफटी कार्ड सर्भिसेस्’, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ र नबिल बैंकलाई ‘एक्सिलेन्स इन डिजिटाइजिङ बिजनेस विथ कर्पोरेटपे’ अवार्ड प्रदान गरिएको छ । नेपाल सरकारको खर्च तथा राजस्व कारोबार डिजिटाइज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई विशेष सम्मान गरिएको छ भने ई–भिसाको अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे सक्षम बनाउन योगदान पुर्‍याएको भन्दै गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागलाई समेत सम्मान गरिएको छ । हाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा तथा १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। एनसीएचएलका प्रणालीमार्फत गत आर्थिक वर्ष १८६ खर्ब रुपैयाँभन्दा बढीको २१ करोड १२ लाखभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भएको छ । अघिल्लो वर्षको तुलनामा कारोबार संख्या ६७ प्रतिशत र कारोबार रकम १९ प्रतिशतले वृद्धि भएको एनसीएचएलले जनाएको छ ।

टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक भएको छ । टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमार्फत प्रदान गर्दै आएको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) तथा एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको हाे । यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने नेपाल टेलिकमले जनाएको छ । यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत ल्याएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुनुका साथै इन्टरनेट स्पिडमा समेत उल्लेखनीय सुधार आउने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले एकैसाथ धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई पूर्ण स्पिडमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफर छिटो गर्न तथा डिभाइसको ब्याट्री लाइफ बढाउन सहयोग गर्ने बताइएको छ । साथै, यो प्रविधि सुरक्षित र भरपर्दो इन्टरनेट सेवाका लागि पनि प्रभावकारी मानिन्छ । ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन प्याकेज, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन प्याकेज र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिने छ । त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ । वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने छ । साथै १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।