एनआरएनए अध्यक्षमा हेमराज शर्मा, आज कार्यसमिति सार्वजनिक गरिने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नतिजा एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ ५ बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । शनिबारदेखि शुरु भएको एनआरएनए १२औं अधिवेशन आज सम्पन्न हुँदैछ ।
पूर्वी नाकाबाट भित्रिए ६ हजार ७९१ पर्यटक, विदेश फर्किए साढे ६ हजार
काठमाडौं । पूर्वी नाका काँकडभिट्टा हुँदै ८ महिनामा ६ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन् । उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १ हजार ३९५ र फागुनमा १ हजार ५ जना पर्यटक भित्रिएको जानकारी दिए । सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका ३ हजार १३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या ६ हजार ५५२ रहेको छ भने १ हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट ८ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद: उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी आयोगमा आवेदन दिएका थिए । सो आवेदनमाथि आयोगमा सुनुवाइ भएको थियो । प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । प्राधिकरणको आग्रह बमोजिम पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले १ लाख ८६ हजार रुपैयाँ बराबर महसुल बुझाइसकेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार उद्योगीको मागदाबी नपुग्ने निर्णय भएको छ । आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने मार्ग प्रशस्त भएको छ । आयोगको निर्णय चित्त नबुझेको अवस्थामा व्यवसायी अदालत जान समेत सक्नेछन् । आयोगले निरन्तर रुपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित भएका थिए । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरूपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्रै आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पुग्यो ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने भएको छ । पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य उच्चदरले बढिरहेको निगमले जनाएको छ । यसले आपूर्ति प्रणालीमा समेत समस्या सिर्जना गरेको बताइएको छ । निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । नयाँ समायोजनअनुसार तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । त्यसैगरी, पहिलो वर्गका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज आदि) मा पेट्रोल १६९.५० र डिजेल १४९.५० रुपैयाँमा उपलब्ध हुनेछ । दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १७१ र डिजेलको १५१ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यअनुसार समायोजन नगरेमा भारतलाई भुक्तानी गर्नुपर्ने बक्यौता बढ्ने र आपूर्ति प्रणाली नै प्रभावित हुन सक्ने अवस्था रहेको छ । विगतमा पनि मूल्य वृद्धि समायोजन गर्न नसक्दा निगमले ठूलो आर्थिक दायित्व व्यहोर्नुपरेको उल्लेख गरिएको छ । निगमले सार्वजनिक सवारीसाधन तथा ढुवानी क्षेत्रमा असर कम पार्न डिजेलको मूल्य वृद्धि अपेक्षाकृत कम राख्ने रणनीति अपनाइएको जनाएको छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य घटाइने प्रतिबद्धता व्यक्त गरिएको छ । मूल्य वृद्धि पश्चात पनि निगमलाई करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २१६ रुपैयाँले बढेको भए पनि हाललाई यसको बिक्री मूल्यमा कुनै फेरबदल नगरिएको निगमको भनाइ छ ।
रास्वपाका किशोरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, धनुषा–१ बाट मातृका निर्वाचित हुने बाटो खुला
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । आयोगको निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै साहको उम्मेदवारी औपचारिक रूपमा खारेज भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर्याएको हो । यसअघि निर्वाचन आयोगले साहको उम्मेदवारी कानुन विपरीत रहेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साह आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चको यो आदेशसँगै धनुषा-१ को निर्वाचन परिणामको अन्योल हटेको छ । अदालतले आयोगको निर्णयमा हस्तक्षेप नगरेपछि निर्वाचन अधिकृतको कार्यालयलाई मातृका यादवलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने कानुनी बाटो खुलेको छ ।
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, भरत गिरीदेखि खुस्बु ओलीसम्म सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुंगो लगाएको हो । बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङ लाई सिफारिस गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा विद्यार्थी र युवाका लागि वित्तीय साक्षरता आयोजना गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्ने भएको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसाथ गरी चैत्र १ गतेदेखि ८ गतेसम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यसका साथै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत पनि प्रशारण गर्नेछ । वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्। कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ मनोनीत
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी कानुन व्यवसायी हुन् ।