विकासन्युज

जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा

काठमाडौं, २८ जेठ । जस्मिन पेन्ट्सको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । २०५१ साल स्थापित मनकामना ग्रुपको जस्मिनको लोगो अंकित झण्डा नवाङ नर्बु शेर्पा(माइला)ले सगरमाथाको शिखरमा पुर्याएका हुन् । उनले जेठ ६ गते सगरमाथाका शिखरमा पुर्याएका थिए । ‘नेपाली मनको नेपाली रङ्ग’ नारासहित अघि बढेको कम्पनीले स्वदेशी रङ्ग उत्पादक कम्पनीमध्ये आफुलाई दोश्रो नम्बरको कम्पनी भएको दावी गर्दै आएको छ । जस्मिन पेन्ट्सको ७५ वटै जिल्लामा बजार सञ्जाल रहेको कम्पनीका निर्देशक मधुसुधन अर्यालले बताए । चितवनमा रहेका उद्योग मार्फत उत्पादित रंगलाई कम्पनीले देशभर उपलब्ध गराउँदै आएको छ । कम्पनीले निर्यातको सम्भाव्यताको समेत अध्ययन गरिरहेको निर्देशक अर्यालले बताए ।

६६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सुरू

कञ्चनपुर, २८ जेठ। कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि पुल निर्माण कार्य हुन थालेको हो । दोदा नदीको देखतभूली–पर्सिया र बेलौरी नगरपालीकाको भकुन्डा–बेलौरी जोड्नका लागि २११ मिटरका दुईवटा पक्की पुल निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए । “दैजी–बेलडाँडी जोड्नका लागि बल्मा नदीमा रु आठ करोडको लागतमा झन्डै सय मिटर लम्बाइको पक्की पुल र धार्मिकस्थल घटाल थान जोड्नका लागि रु १८ करोडको लागतमा २०० मिटर लम्बाइको पुल निर्माण कार्य भइरहेको छ”, उनले भने । दोदा नदीमा पुल नहुँदा बर्सातका बेला देखतभूली र शङ्करपुरका बासिन्दाको सदरमुकामसँग सम्बन्ध विच्छेद हुँदै आएको थियो । पुल निर्माणको कार्यले यातायात सेवासँगै आवतजावतमा सहजता हुने शंकरपुरका रामप्यारा चौधरीले बताए । यसैगरी, दैजी–बेलडाँडीको बल्मा नदीमा पुल नहुँदा बेलडाँडीलगायत क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । धार्मिक क्षेत्र घटाल थानमा पुल निर्माण सँगै दर्शनार्थीलाई सहजता हुने भएको छ । रासस

सिद्धार्थ, एकता र नेपालबीच एकिकृत कारोवार, चुक्ता पूँजी १ अर्ब १४ करोड

काठमाडौं, २८ जेठ । सिद्धार्थ डेभलपमेण्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाईनान्स एक आपसमा गाभिएका छन् । शुक्रबार देखि सिद्धार्थ डेभलपमेण्ट बैंकले एकिकृत कारोबार शुभारम्भ गरेको छ । मर्जर पछि नयाँ संस्थाको नाम सिद्धार्थ डेभलपमेण्ट बैंक नै रहेको छ । एकिकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बैंकको केन्दि लिमिटेडको केन्द्रीय कार्यालय तीनकुनेमा गरेका हुन् । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड, नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको लागि आवश्यक न्यूनतम चुक्त्ता पूँजीको व्यवस्था गरे पश्चात राष्ट्र बैंकको पूँजी योजनालाई स्वागत गर्दै मर्जर सम्झौता गर्ने पहिलो विकास बैंक रहेको बैंकले जनाएको छ । कम्पनीका अनुसार मर्जर पश्चात बैंकको चुक्त्तापूँजी एक अर्ब चौध करोड रुपैयाँ, ३३ शाखा कार्यालय, १२ अर्ब निक्षेप, १० अर्ब कर्जा लगानीको साथमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड देशकै दोस्रो ठूलो विकास बैंक भएको छ ।

कलर्सको पि५० बजारमा, मुल्य ७४९५ रुपैंयाँ

काठमाडौं, २८ जेठ । कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि५० स्मार्टफोन बजारमा भित्र्याएको छ । नयाँ मोबाइलमा अन्य एण्ड्रोइड फोनमा भन्दा अहिले सम्म कै नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो रहेको कम्पनीले जनाएको छ । यो फोन हालसम्मकै ठुलो फोन भएको पनि कम्पनीले दावी गरेको छ । ५० प्रतिशत कम इन्टरनेट डाटा खर्च हुने कलर्स लाइट यसमा रहेको छ । कलर्स एक्स फ्याक्टर प्राइड पि५० मा ५ इन्चको ठुलो एचडि आइपिएस स्क्रिनका साथ २२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसमा १ जिबी ¥याम प्लस ८ जिबी रोम, ३२ जिबीसम्म बढाउन सकिने मेमोरो कार्ड रहेको छ । १ दशमलब ३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडी ५ मेगापिक्सल र अगाडी २ मेगा पिक्सल क्षमताको क्यामरा रहेका छन् । नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो ललिपप ६ दशमलब शुन्य संचालन प्रणाली, दुई वटा सिम र ओटिएले चल्ने खालको छ । पि ५० को बजार मुल्य मात्र भने सात हजार ४ सय ९५ रुपैंयाँ पर्छ । कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले नयाँ मोबाइलले उपभोक्ताको मन जित्ने अपेक्षा व्यत्त गरे । टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्जय अग्रवालले पनि पि५० ले स्मार्ट फोनका पारखीहरुलाई नयापनको अभाष दिने बताए । नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताहरुको संख्या २० लाख रहेको कम्पनीको दावी छ ।

एजेन्टहरुले ब्रम्हलुट गरेको भन्दै एयरपोर्ट भन्सारमा यूनिट्राभको आन्दोलन

काठमाडौं, २८ जेठ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार बिभागमा एमाले समर्थित पर्यटन मजदुर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ । सबै मजदुर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त्य, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुरुप भन्सारका कार्यहरु, मजदुरहरुले आफुले तोकेको समय अवधीसम्म काम गर्नुपर्ने लगायतका माग राखी यूनिट्राभमा आबद्ध मजदुरहरु आन्दोलित बनेका हुन् । त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा एजेन्ट संघले आफ्नो हिसाबले मजदुरहरुको नियुक्ति र राजनीतिक पार्टीको भर्तीकेन्द्रजस्तो बनाएर विगत ३० वर्षदेखि अनियमितता गर्दै आएको एमाले समर्थित मजदुरहरुको आरोप रहेको छ । कार्यालयका भन्सार प्रमुखले वार्ताका माध्यमबाट समस्या समाधानका उपाय निकाल्न पटक पटक गरेको आग्रहलाई पनि एजेन्टहरुले वेवास्ता गर्दै हिडेको भन्द मजदुरहरु अझै आक्रोशित बनेका छन् । यी सबै परिदृष्यले त्यहाँ कार्यरत एजेन्टहरु सकेसम्म भन्सारमा ब्रम्हलुट गर्न उद्धृत रहेको प्रष्ट हुने यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुली बताउँछन् । भन्सारमा प्रतिदिन ३० टन सामान भित्रने गरेको मजदुरहरुको भनाई छ । त्यसमा प्रति केजीको २ रुपैंया ५० पैसाका दरले ग्राहक/सर्वसाधारणबाट रकम उठाउने गरेको र श्रमिकको नाममा लुट मच्चाउने गरेको मजदुरहरुको आरोप छ । भन्सारमा भईरहेको अनियमितताबारे राज्य पनि मौन बसेको, हवाई सुरक्षामा ध्यान नदिई मनोमानी ढंगले पास वितरण गर्ने गरेको लगायतका विषयलाई उठान गर्दै उनीहरुले त्यहाँका अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णय गरेका छन् । यसका लागि उनीहरुले मजदुरहरुको हस्ताक्षर संकलन कार्यलाई तिव्रता दिएका छन् । साथै यस विषयमा अर्थ मन्त्रालयको पनि ध्यानाकर्षण गराउने भएका छन् । मजदुरहरुले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए एयरपोर्टमा हुने गरेका सम्पूर्ण कार्यहरु ठप्प पार्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

नेपाल लाइफको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं, २८ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । बैंकको १६औं बार्षिक साधारणसभाले बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई छनौट गरेको हो । बैंकको संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७० बराबर ३० प्रतिशत कायम गर्न ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयरहरु थप साधारण शेयर निश्कासन मार्फत प्रिमियममा जारी गर्नका लागि बैंकले उक्त कम्पनीलाई छनौट गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त थप साधारण शेयर निश्काशन गर्ने कार्यका लागि भएको सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा तथा सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत धुर्व तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

चैधरीलाई सामसङको जे१ नेक्स्ट

काठमाडौं, २८ जेठ । आइएमएस स्मार्ट अन्तर्गतको सामसङ्को नारायणघाट स्थित ब्राण्डशप सामसङ स्मार्टफोन क्याफेले आफ्नो स्किम अन्तर्गत पहिलो हप्ताको विजेताको घोषणा गरेको छ । स्किम अन्तर्गत लहानका बिनय चौधरीले ७ हजार नौ सय ९० रुपैंयाँ बराबरको लक्की कुपन प्राप्त गरेका छन् । उक्त स्किम अन्तर्गत सामसङ स्मार्टफोन क्याफे नारायणघाटमा सामसङ स्मार्टफोनहरुको खरिद कर्ताहरुले एउटा कुपन पाउनेछन् । सो कुपनमा आफ्नो नाम, सम्पर्क तथा फोनको आइएमइआई नम्बर भरेपछि लक्की ड्रमा सामेल गराइनेछ । लक्की ड्र मार्फत एक जनाले सामसङ ग्याालेक्सी जे१ नेक्स्ट पाउनेछन् । साथै हरेक ग्राहकहरुलाई स्मार्टफोनहरु तथा अन्य एक्सेसोरिजको खरिदमा ५० प्रतिशतसमको छुट सुबिधा रहेको छ ।

कता हरायो बाफिया ? गम्भीर छलफलको आवश्यकता देखे एमाओवादी सचेतकले

काठमाडौं, २८ जेठ । ब्यवस्थापिका संसदको अर्थसमितिले १३ जेठमा सर्बसम्मतले पारित गरेर संसदमा पेश गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) बेपत्ता भएको छ । सोही दिन संसदमा पेश भएका शिक्षा ऐन पारित नै भइसकेपनि बाफिया भने संसदको कार्यसुचीमै परेको छैन । संसदको प्रक्रिया अनुसार सम्बन्धित समितिले छलफल गरेर राय सहित पेश गरेको विधयेक सभामुखको सचिवालयले कुन दिन छलफल गराउने भनेर कार्यक्रम तय गर्छ । यसलाई संसदको कार्यसुची भनिन्छ । कार्यसुचीमा परेपछि प्रमुख प्रतिपक्षसहित प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने गरिन्छ । सो छलफलमा संसद संख्याको बहुमत रहेका दलका प्रमुख सचेतकले पारित गर्ने सहमति गरेमा संसदमा सामान्य छलफल भएर पारित हुन्छ । होइन, थप छलफल आवश्यक छ भन्ने भएमा थप छलफल पनि हुन सक्छ । सामान्यतः सम्बन्धित समितिमा छलफल भएर सर्वसम्मत पारित भएपछि संसदमा पेश भएको विधयेक संसदले स्वतः पारित गर्ने गरेको छ । सम्बन्धित समितिमा सवै राजनीतिक दलका सांसदको प्रतिनिनित्व हुने भएकोले यस्तो हुने गरेको हो । अर्थसमितिले सर्वसम्मतले पारित गरेर संसदमा पेश गरेको वाफिया स्वतः पारित गर्ने कुरामा एनेकपा माओवादी हच्केको छ । बाफियामा राखिएको तीनओटा प्रावधानको विषयमा संचार माध्यममा ब्यापक आलोचना भएपछि एमाओवादी हच्केको हो । बाफिया पारित गर्ने विषयमा आफ्नो दल नैतिक संकटमा परेको एमाओवादी प्रमुख सचेतक हितमान पाण्डेले बताए । आफै सत्ता पक्ष भएको र सो विधयेक सरकारी विधयेक भएको, अर्थसमितिमा आफ्नो दलका सांसदले पेश गरेको संसोधन समावेश भएको र पछि विधयेकका केही प्रावधानप्रति संचार माध्यममा नकारात्मक टिप्पणी आएपछि आफ्नो पार्टी नैतिक संकटमा परेको पाण्डेले बताए । ‘यो सरकारी विधयेक हो, हामी आफै सत्तापक्ष हौं, अर्थसमितिमा हाम्रा सांसदले राखेको संसोधन समावेश भएको छ, यसै पारित गरौं गम्भीर त्रुटी भयो भन्ने कुरा आइरहेको छ, संसोधन गरौं के भनेर गर्ने ? बढो समस्यामा परियो,’ प्रमुख सचेतक पाण्डेले भने । गम्भीर छलफल गरौंः एमाओबादी अन्जानमा भूल भएको भए त्यसलाई सच्याउन सकैले पनि लाज मान्नु नहुने एमाओवादीको भनाइ छ । सो विधयेक संसदको कार्यसुचीमा आएपछि नेपाली काँग्रेस, एमाले र आफूहरुकाविच छलफल भएर एउटा निष्कर्ष निस्कने उनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने विधयेक जस्ताको तस्तै पारित हुने बताएको छ । काँग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले विषयगत समितिमा ब्यापक छलफल भएर सर्वसम्मत पारित भएको विधयेकका बारेमा बाहिर हल्ला चल्यो भन्दैमा थप छलफल आवश्यक नभएको श्रेष्ठको भनाइ छ । ‘सवैभन्दा बढी जानकारी हुने विषयगत समितिलाई नै हो, अर्थसमितिले सर्वसम्मत रुपमा पास गरेर ल्याएको विधयेकको बारेमा पुन छलफल आवश्यक छैन, जस्ताको तस्तै पारित हुन्छ,’ प्रमुख सचेकत श्रेष्ठले भने । सत्ताको नेतृत्व गरेको दल एमाले पनि विधयेक जस्ताको तस्तै पारित गराउने पक्षमा छ । एमालेकै नेता प्रकाश ज्वाला सभापति रहेको अर्थसमितिले सर्बसम्मत रुपमा पारित गरेको विधयेकलाई पुन परिमार्जन र छलफल गराउदा समिति र त्यसका सभापतिको कार्यक्षमताप्रति नै प्रश्न उठ्ने भन्दै एमालेले यस्तो तर्क गरेको हो । कहिले पर्छ संसदको कार्यसुचीमा ? अर्थसमितिले गत १३ गते सो विधयेक सर्वसम्मत रुपमा पारित गरेर संसदमा पेश गरेको छ । सोही दिन सम्बन्धित समितिवाट पारित भएर संसदमा पेश भएको शिक्षा विधयेक संसदले पास गरेर कानुन बनिसकेको छ । बाफियालाई भने संसदले आफ्नो कार्यसुचीमा अझै राखेको छैन । बाफिया संसदको कार्यसुचीमा नपर्नु प्राविधिक विषय मात्रै भएको काँग्रेस सचेतक श्रेष्ठको भनाइ छ । ‘कुनै विवाद सिवादले कार्यसुचीमा पर्न ढिला भएको होइन, कहिले अर्थसमितिका सभापति हुनुभएन, कहिले के भो, कहिले के भो, यसैकारण ढिला भएको हो, अब चाढै छलफलमा आउछ,’ श्रेष्ठले भने । उनले के भो भनेको के हो भन्ने भने खुलाएनन् । एमाओवादी सचेतक पाण्डे भने अर्काे महिना लागेपछि मात्रै कार्यसुचीमा पर्न सक्ने सम्भावना देख्छन् । ‘विधयेक हराएकै त होइन, संसद सचिवालयमा गएर तपाइले पनि हेर्न सक्नुहुन्छ, बाहिरको हल्ला र संसद बढी मात्रामा बजेटमा केन्द्रीत भएकोले ढिला भएको हो,’ विधयेक हराएको त होइन भन्ने प्रश्नको जवाफमा पाण्डेले भने । उनले असार लागेपछि कार्यसुचीमा पर्ने र प्रमुख राजनीतिक दलका सचेतक बसेर छलफल गरेपछि मात्रै के हुन्छ भन्ने यकिन हुने बताए ।